समग्रमा भन्नु पर्दा पहिलो कालखण्डमा अग्रजहरुले बाटोको ट्रयाक पत्ता लगाउनु भयो, बाटो खन्नुभयो । दोश्रो कालखण्डमा अग्रजहरुले उक्त बाटोलाई बिस्तार गर्दे ग्रावलिङ गर्नुभयो । अव तेश्रो कालखण्डका अग्रजहरुले बाटोलाई कालोपत्रे गरेर राम्रो हाईवे बनाऊनु हुनेछ भन्ने पूर्ण विश्वासमा रहेको छु ।
पहिलो कालखण्ड
वि.सं २०४५ साल साउन ३२ गते राष्ट्रिय बचत समूह तदर्थ समितिको नामबाट अनौपचारिक रुपमा तत्कालिन साझा केन्द्रको पुल्चोक स्थित कार्यालयमा ( हाल राष्ट्रिय सहकारी बिकास बोर्ड ) गठन भएपनि बिधिवत दर्ता वि.सं २०५० साल भाद्र २९ गते भएको हाे।
सो पश्चात नेफ्स्कूनले आफ्नो गति दु्रत रुपमा अघि बढाएको देखिन्छ । कुनै पनि अभियानको बाह्य दृश्टिकोणबाट हेर्ने नतिजा भनेको त्यसमा आवद्ध संघ/संस्थाहरुको गतिशिलता, उन्नती, प्रगति र क्षमतामा साथै ति संस्थाहरुले अभियान प्रति देखाएको श्रद्धा र विश्वास निर्भर गर्दछ ।
नेफ्स्कूनको साधारण सभाको अनुरोधमा सहकारी विभागले २०५३ सालमा केन्द्रीय शब्द पनि थप भएको हो । सोही वर्षमा एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा Institutional Development Credit Union in Asia ( INDECUA ) कार्यक्रमको केही अलि नाम चलेका भन्नु पर्दा तत् बखतका ठूला संस्थाहरुबाट शुरुवात सँगै PEARLS अनुगमन कार्यक्रमले प्रवेश पाएको हो ।
तत्पश्चात मात्र संस्थाहरुले बिभिन्न नीति बनाऊन शुरु गरेको पाईन्छ अन्यथा सहकारी ऐन २०४८ र सहकारी नियमावलि २०४९ अनुसारको परिधि भित्र रही विनियम बनाऊने र जिल्ला सहकारी कार्यालयमा दर्ता गरी गाँऊ, गाँऊमा सहकारी संस्था सञ्चालन गर्ने होडवाजीको सुरुवात भएको हो ।
केवल संस्थाको विनियम र सञ्चालक समितिको निर्णयको भरमा तत् समयमा देशका बिभिन्न सरकारी कार्यालयहरु, स्वदेशि एवं विदेशी गैरसरकारी संस्थाहरुले सहकारीको प्रवर्धन गरेको पाईन्छ उदाहरणका लागि...महिला विकास बचत तथा ऋण सकहारी भन्नसाथ महिला विकास शाखाले प्रवर्धन गरेको । स्वावालम्वन बचत तथा ऋण सहकारी संस्था भन्नसाथ स्वावलम्वन विकास केन्द्रले प्रवर्धन गरेको बुझिन्छ ।
संस्थापक अध्यक्ष श्री भोजराज घिमिरेको ५ वर्षको कार्यकालको अवधिमा बचत समूहको उपदेयता र बिदेसिहरु सँगको समन्वयको सहकार्यलाई अगाडी बढाऊन खोजिएको । बचत समूह सम्वन्धी सचेतना फैलाऊने काम देशको मुख्य, मुख्य भागमा भएको पाँऊदछौ र सञ्चालकहरुलेनै ठाँऊ, ठाँऊमा गएर तालिम सञ्चालन गरी उत्प्रेरणा सिर्जना गरेको देखिन्छ ।
अत्यन्तै सिमित साधान र श्रोत भएको हुँदा सामान्य कार्यालय व्यवस्थापन, चक्लामा बसेर बैठक सञ्चालन र बैठकमा चिया मगाँऊदा समेत सञ्चालकहरुले पालै, पालो पैसा तिर्नुहुन्थ्यो भन्ने समेत सुन्न पाईन्छ । संघ दर्ता भए लगतै बि.सं २०५० सालबाट श्री कैलाशभक्त प्रधानाङ्गले १४ वर्ष अध्यक्ष भई नेतृत्व लिनु भयो ।
यस अवधिमा खास गरेर बिदेसी दातृ निकायहरुको सहकार्य रहेको साथै अलि बढी भर परेको देखिन्छ । यसो हुनको मुख्य कारण नेफ्स्कूनको आफ्नै श्रोत नहुनु, आवद्ध संघ/संस्थाहरु पनि थोरैनै रहेको ।
( तत् बखत दर्ता भएका संस्थाहरुनै न्यून थिए ) र ति संस्थाहरुको आर्थिक गतिविधि पनि न्यूननै रहेको अर्थात नेफ्स्कूनको रु १०० को शेयर खरिद गर्न र मासिक नियमित बचत रु १०० गर्न समेत धौ, धौ रहेको थियो ।
कतिपय साकोसहरुले त्यति पैसा जम्मा गर्न पर्ने भनेर सदस्य लिन समेत हिचकिचाऊथे, आखिर शेयर र बचत वापत जम्मा भएको रकम त सदस्य संघ/संस्थाकै हो नी ।
सञ्चालकहरको आचार संहिता बनाईएको र सञ्चालकहरुले आफ्नो पद अनुसार वार्षिक रुपमा नेफ्स्कूनमा शुल्क बुझाऊन पथ्र्यो ( वार्षिक रु १००० देखि रु ५००० सम्म ) ।
यि समस्याहरुको बाबजुत पनि एशियाली ऋण महासंघ (ACCU) बैंकक, थाईल्याण्डको सदस्यता लिने कार्यभएको थियो । जुनबेलामा नेफ्स्कूनले सदस्य संस्थाहरुबाट संकलन गरेको वार्षिक नविकरण शुल्कले (ACCU) मा वार्षिक नवकिरण शुल्क बुझाऊन समेत पुग्ने थिएन ।
खासगरी राम्रो सहयोग क्यानिडियन कोअपरेटिभ एशोसियसन, एग्रिटेरा निदरल्याण्ड, यू एस सि क्यानाडा, कोडी ईन्टरनेशनल, शेसि एशिया, शेसि यूनिटेरा, यूएनएफपिए, हेल्वेटास, जिटीजेड, एक्सन एड र अन्य बिदेशि निकायहरुले नेफ्स्कूनका सञ्चालक र कर्मचारीहरु साथै आवद्ध संघ / संस्थाका सञ्चालक र कर्मचारीहरुका लागि तालिम गोष्ठी ( स्वदेश तथा बिदेस ), संघको अन्तरलगानि कार्यक्रमको शुरुवाती पहल गथ्र्यो ।
साथै प्राविधिक सहयोग, संघको स्टेशनरी व्यवशायको लागि पनि बीज पुँजी प्रदान गरी सहयोग, स्वदेशि एवं बिदेशि निकायहरुसँगको सहकार्य गर्न मद्धत पुर्याएको पाउदछौं ।
कम खर्चमा बिदेशि सहकारीको अवलोकनका लागि आपसी सद्भावना भ्रमण एशियालि ऋण महासंघको रोहवरमा बंगलादेशको केन्द्रीय बचत संघ र नेफ्स्कून बिच प्रत्येक वर्ष १५ जना सहकारीकर्मि आऊने जाने गरी संझौता समेत गरेर पूर्ण रुपमा कार्यान्वयनमा ल्याईएको थियो ।
आफूभन्दा सिनयिरलाई अत्यन्तै श्रद्धा र ईज्जत दिने र आफू भन्दा जुनियरलाई स्नेह, प्रेरणा र हौसला दिने परिपाटि लाई संघको स्थापना देखिनै अत्यन्तै महत्व दिईन्थ्यो । एकले अर्कोलाई गर्ने ईज्जत, श्रद्धा र सम्मानलाई हामि साकोस कल्चर पनि भन्दछौंं ।
नेफ्स्कूनको समन्वयमा काठमाण्डौमा एक पटक आकू फोरम तथा साधारण सभा पनि सम्पन्न गरियो । अन्तरलगानी कार्यक्रमको शुरुवातमा नीति बनाऊने कार्यमा सहयोग, संस्थागत विकास साकोस ( INDESACCOS ) कार्यक्रम, पेशागत विकास कार्यक्रम ( Professionalization) र सहकारी लघुवित्त तथा व्यवसाय विकास केन्द्र (Cooperative Microfinance & BDC) सञ्चालन सम्वन्धी कार्यक्रमलाई अगाडी बढाऊने प्रयास भएको देखिन्छ ।
यस अवधिमा केन्द्रीय कार्यालयबाट मात्र सुविधा सेवा पुर्याऊन सफल भएको । लघुवित्त कार्यक्रममा आवद्ध साकोसहरुका सदस्य संस्थाहरुलाई सहयोग गर्ने हेतुले भरतपुर, चितवनमा व्यवसाय विकास केन्द्रको स्थापना ।
साकोसहरुमा शुरुवात गरिएको संस्थागत विकास कार्यक्रम र पेशागत विकास कार्यक्रमलाई थप सहयोग गर्न ईटहरी, सुनसरीमा फिल्ड कार्यालय र नेपालगन्ज बाँकेमा पनि लघुवित्त कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले फिल्ड कार्यालयको स्थापना गरिएको।
ति कार्यालयहरु साथै केन्द्रीय कार्यालय समेतको केही प्रशासनिक खर्चहरु खासगरी क्यानेडिएन कोअपरेटिभ एशोसियसन, एशियाली ऋण महासंघ र एग्रिटेरा नेदरल्याण्डले उपलब्ध गराएको थियो । तत् बखतको नेफ्स्कूनका प्रकाशनहरुमा समेत आवद्ध साकोसहरुले आर्थिक सहयोग गरेको पाईएको छ ।
सञ्चारको चरम असुविधा, प्रवधिको प्रयोग अत्यन्तै न्यून, नेफ्स्कूनमा र साकोसहरुमा प्रशस्त दक्ष जनशक्तिको अभाव लगायतका कारणले २०५८ सालताका केही ठूलाबडाहरुको हावि भएको सहकारी संस्थाहरुले जनताको बचत हिनामिना गरेर भागेको हुनाले पनि सहकारी प्रति केही वितृष्णा देखिएको थियो ।
काठमाण्डौ उपत्यका भित्र सहकारी भनेपछि मानिसहरुले घर समेत भाडामा दिने थिएनन् । यसको ज्वलन्त उदाहरण र सिकार स्वंयम नेफ्स्कून समेत परेको छ ।
जुनबेला नेफ्स्कूनको कार्यालय अनामनगर, काठमाण्डौमा थियो एक सामान्य फल्याट्मा अनि अलि साँघुरो भएको हुँदा तिनकुनेमा घर हेरेर मौखिक रुपमा म आफू र तत्कालिन प्रमुख कार्यकारी अधिकृत समेतले सहमति गरेर आई सकेपछि ति घरबेटीले घरभाडा नदिएको ताजा स्मरण छ ।
सरकारी क्षेत्रबाट पनि नेफ्स्कूनको खुवै प्रशंसा हुन्थ्यो । आर्थिक एवं प्राविधिक सहयोग नगन्य मात्रामा रहेको थियो । अनेक यात्रा, सहयायात्रा, उकाली, ओराली गरेर सुरुका दिनमा श्री भोजराज घिमिरेले ५ वर्ष र श्री कैलाशभक्त प्रधानाङ्गले १४ वर्ष नेतृत्व गर्नुभई संघलाई बलियो, मर्यादित, पूर्ण सुशासन, सक्षम र आत्मनिर्भरतर्फ उन्मुख बनाऊने प्रयास भयो ।
नेफ्स्कूनले सफलताका साथ एउटा कालखण्ड पार गर्नुभयो भने उहाँहरुलाई व्यवस्थापनको तर्फबाट प्रवन्धक, प्रमुख कार्यकारी अधिकृतको रुपमा सुश्री अजेलिया रन्जितकार, श्री हरि घिमिरे, श्री सुमन खनाल साथै श्री शिव अधिकारी र उहाँहरुको व्यवस्थापन समूहले साथ दिनु भएको थियो । यसलाई महिले पहिलो कालखण्डको रुपमा लिएको छु ।
दोश्रो कालखण्ड
२०६४ मंसिर १६ मा श्री मिनराज कडेल अध्यक्ष भए पश्चात १२ वर्षको अवधिमा श्री ऋषिराज घिमिरे, श्री डी.वी बस्नेत अध्यक्ष हुनु भयो । यसलाई मैले दोश्रो कालखण्डको रुपमा लिन चाहान्छु ।
उहाँहरुलाई व्यवस्थापनको तर्फबाट प्रमुख कार्यकारी अधिकृतको हैसियतले श्री शिव अधिकारी, श्री राम प्रसाद ढकाल, श्री डिल्लिराम अधिकारी, श्री बद्रि कुमार गुरागाई, श्री विष्णु प्रसाद पाठक र श्री शिवजी सापकोटाको टिमले साथ दिनुभएको थियो ।
श्री मिनराज कडेल अध्यक्षमा प्रवेश गरेसँगै उक्त टिममा रहनु भएका सञ्चालकहरु पहिलेनै नेफ्स्कूनको विभिन्न पोर्टफोलियोमा रही अनुभव लिइसक्नु भएको थियो । स्वदेश एवं विदेसको अध्ययन भ्रमण गरी सक्नु भएको हुँदा विदेसको साकोस अभियानको असल अभ्यासहरु भित्र्याऊन शुरु गर्ने तर्फ उन्मुख रहेको पाईन्छ ।
सुरुकै समयमा नेफ्स्कूनलाई दिगो बनाऊन वित्तीय सक्षमता आवश्यक पर्ने महसुस गरी अन्तरलगानी कार्यक्रमलाई विषेश महत्व दिदै अभियानकै रुपमा अगाडी बढाईयो । सहज पनि भयो किनभन्दा आवद्ध संस्थाहरु पनि सक्षम भई सकेका थिए ।
संस्थाहरुलाई सक्षम र गुणस्तरीय बनाऊन र समुदायको नमूना साकोसको रुपमा अगाडी बढाऊन एशियालि ऋण महासंघको प्राविधिक सहयोगमा एक्सेस कार्यक्रमको शुरुवात गरियो ।
साथै सोही कार्यक्रमका केहि महत्वपूर्ण सूचांकहरु र नेपालको परिवेस अनुसारका र विश्वका असल अभ्यास समेतलाई मनन गरी प्रोवेशन कार्यक्रमको थालनि र केही वर्षको अन्तरालमानै कब्र्स कार्यक्रमको थालानी समेत गरियो ।
सुरुकै समयमा नेफ्स्कूनलाई दिगो बनाऊन वित्तीय सक्षमता आवश्यक पर्ने महसुस गरी अन्तरलगानी कार्यक्रमलाई विषेश महत्व दिदै अभियानकै रुपमा अगाडी बढाईयो । सहज पनि भयो किनभन्दा आवद्ध संस्थाहरु पनि सक्षम भई सकेका थिए ।
आज आएर यो कार्यक्रमको कारणले नेफ्स्कून र नेपालको साकोस अभियानलाई कोषेढुङ्गा सावित गरेको छ । दुईवटा मुख्य विषयहरुमा खास गरेर साकोस ऐन र स्थिरिकरण कोषका लागि अहोरात्र यो टीम खटेको देखिन्छ ।
यि विषयहरुको सवालमा भन्नु पर्दा भेगीय स्तरीय, जिल्ला स्तरीय, क्षेत्रिय स्तरीय र राष्ट्रिय स्तरको समेत गोष्ठीहरु सञ्चालन गरी ति गोष्ठीहरुबाट प्राप्त सुझाव र अन्तराष्ट्रिय असल अभ्यासहरुलाई समेत समावेश गरी प्रस्तावित साकोस ऐन र स्थिरिकरण कोष सम्वन्धी सञ्चालन निर्देशिका बनाई सम्वन्धित मन्त्रालयमा पेश गर्न सफल भईयो।
जसको फलस्वरुप सहकारी ऐन २०७४ मा स्थिरिकरण कोष समावेश भएको अनुभुती अभियानले गरेको छ । संघको आन्तरिक व्यवस्थापन तर्फ संघको विनियम पुर्नलेखन र यथेष्ठ नीतिहरु चुस्त दुरुस्त गरियो । फिल्ड कार्यालयहरु दु्रत गतिमा बिस्तार र स्तरोन्नती, साकोस यूनिफिकेसनको शुरुवात ।
नेफ्स्कून सम्मान तथा पुरस्कारको शुरुवात, नेफ्स्कून तालिम केन्द्रको अवधारणा र सिटिभिटि बाट मान्यता लिन सफल । नेफ्स्कून अन्तर लगानी कार्यक्रमले छलाङ्ग मार्न सफल । कार्यालयको उचित व्यवस्थापन, डकुमेन्टेसनको व्यवस्थापन सदस्यता बिस्तार अभियानकै रुपमा अगाडी सारियो ।
सदस्य बिस्तारलाई विषेश जोड दिने क्रममा फिल्डमानै गएर प्रदान वा प्रवेस शुल्क छुट गरेर हुन्छकी आदि । अनेक उपायहरु अवलम्वन गर्दे सूचना प्रविधि तर्फ पनि उन्मुख भएको पाँऊदछौं
बैदेशिक समन्वय र सहकार्य तर्फ विश्व ऋण परिषदको सदस्यता प्राप्त गर्न सफल, एशियालि ऋण महासंघको सबै पदमा पहुँच ( बैकल्पिक सदस्य देखि अध्यक्ष सम्म ) एशियालि ऋण महासंघको फोरममा सहभागिता जनाँऊदा फिलिपिन्स बाहेक एशियाकै सबै देशलाई माथ गर्न सफल ।
आकूद्धवारा आयोजित उच्च स्तरका कोर्शहरु Development Educator –DE Course, Loan Mgmt, Managerial Skill, Audit Committee competency course मा साकोस अभियान बाट उल्लेखनीय सहभागिता । सिक्ट्यावको कार्यक्रममा भारत लगायत दक्षिण एशियाका कार्यक्रहरुमा सबै भन्दा बढी सहमागिता रह्यो ।
थाईल्याण्ड एक्सपोजरको पनि शुरुवात गर्नुको साथै वर्षको ५० जना जति प्रत्येक वर्ष पठाऊन शुरु गरियो । श्रीलंकामा पनि समन्वय गरि एकलट सहकारी विभागका रजिष्ट्रार सहित सहकारीकर्मिको सहभागिता रह्यो ।
त्यसलाई निरन्तरता दिन सकिएन, दक्षिण कोरियामा वार्षिक रुपमा २ वा सो भन्दा बढी र ताईवानमा पनि त्यहाँको केन्द्रीय संघको निमन्त्रणामा सहभागिता जनाईएको थियो।
आकूले क्रेडिट यूनियन एक्सपोजर भनेर नेपालमा पठाउने र सोको लजेस्टीक प्रवन्ध नेफ्स्कून र राष्ट्रिय सहकारी बैकले गर्ने भनिएको र सोको पनि एउटा कार्यक्रम आयोजना गरियो ।
नेपाल स्थित सिकट्याव सदस्यहरुको समन्वयमा प्रत्येक वर्ष सार्क स्तरीय एउटा तालिम हुने र उक्त कार्यक्रममा नेफ्स्कूनको भूमिका दमदार रहेको थियो ।
नेपालमा आकू फोरम दमदारका साथ सम्पन्न गरियो नेपालको साकोस अभियानको सफलता देखेर आकू र आकूका सदस्य चखित परे। हाम्रा असल अभ्यासहरुको प्रस्तुति गर्नको लागि एशियाका धेरै देशमा फोरम समेत पाईयो ।
गुणस्तर सुनश्चित तर्फ एक्सेस, प्रवोशन, कब्र्स जस्ता गुणस्तरीय कार्यक्रम अघि बढन सफल प्रोवेशन ब्राण्डमा सहकारी विभागको स्वामित्व रहने वातावरण सिर्जना समेत भएको थियो ।
सुशासन तर्फ २५ बुँदे साकोस गाईडलाईन प्रकाशन गरियो । सञ्चालकहरुको आचार संहिता तयार गरी पूर्ण रुपमा कार्यान्वयनमा ल्याईयो ।
कही कतै दुख, आपतमा सहयोग गर्नु पर्दा पनि संघको खर्च नलेखि सञ्चालकज्यूहरु, कर्मचारीहरु मिलेर केही रकम उठाएर सहयोग गर्ने परिपाटी सुरुवात गरियो ।
आफूभन्दा सिनयिरलाई अत्यन्तै श्रद्धा र ईज्जत दिने र आफू भन्दा जुनियरलाई स्नेह, प्रेरणा र हौसला दिने परिपाटि लाई संघको स्थापना देखिनै अत्यन्तै महत्व दिईन्थ्यो । एकले अर्कोलाई गर्ने ईज्जत, श्रद्धा र सम्मानलाई हामि साकोस कल्चर पनि भन्दछौंं ।
प्रकाशन तर्फ विशेष ध्यान दिदै धेरै किसिमका प्रकाशन गरियो । जसमध्ये २०७० सालमा स्मारिका प्रकाशन गरियो प्रति कितावको तौल ५५० ग्राम थियो । त्यो स्मारिकाले नेफ्स्कून स्थापना देखि छर्लङ्ग पारेको छ र छुटपुट भएमा २०७५ सालमा प्रकाशित स्मारिकाले समेटेको छ ।
अग्रेजी वार्षिक प्रतिवेदन प्रकाशन साथै हरेक कार्यक्रमको ब्रुसीयर प्रकाशन, एक्सेस, प्रवोशन, कब्र्सको म्यानुयल, साकोसमा लघुवित्त सञ्चालन निर्देशिका, क्यालेण्डर प्रकाशन संघको डकुमेन्ट्रीहरु निर्माण, उच्च गुणस्तरीय प्रस्तुतीहरु तयार आदि रहेका थिए ।
मुख्य भौतिक सम्पति तर्फ काठमाण्डौको मुटु मिनभवनमा एक रोपनी जग्गामा घर घडेरी र काभ्रेमा तालिम केन्द्रको लागि २० रोपनी जग्गा किन्ने शुभ अवसर पनि मिलेको थियो ।
लविङ्ग तर्फ बचत तथा ऋण सहकारी ऐनका लागि नेपालको दुरदराजमा रहेका स्थान देखि राष्ट्रिय स्तरको दुईवटा गोष्ठी समेत आयोजना गरियो ।
प्राप्त सुझाव र विश्व अभ्यासको आधारमा ड्राफ्ट साकोस ऐन तयार गरी सम्वन्धित मन्त्रालयमा बुझाईयो । स्थिरिकरण कोष सहकारी ऐनमा राख्न सफल ।
नेपाल सरकार बाट नेफ्स्कूनमा प्रसस्त बजेट र कार्यक्रम ल्याऊन सफल र नेपाल राष्ट्र बैंक UNCDF मा समिति सदस्यको भूमिका रहेको थियो । सहकारीमा लगाईएका कर लगायतका विषयमा सम्वन्धित ठाँऊमा गुनासो पोख्ने साथै सुनाई पनि भएको थियो ।
नेपाली र बिदेसि विषय विज्ञहरुको प्रस्तुतिमा राष्ट्रिय स्तरका गोष्ठीहरुको काठमाण्डौमानै पाँच तारे होटलमा सम्पन्न गर्ने शक्ति मिल्यो । सन् २०१२ बाट शुरु भएको उक्त गोष्ठी लाई वार्षिक रुपमा निरन्तरता दिन सफल देखिन्छ ।
तेश्रो कालखण्ड
२०७७ पौषमा निर्वाचित अध्यक्ष श्री परितोष पौंडयलको नेतृत्वबाट निर्वाचत टीमलाई तेश्रो कालखण्डको शुरुवातको रुपमा भन्न रुचाऊदछु । उहाँ स्वयम सञ्चालक सदस्य, महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी लिनु भएको छ ।
हालका वरिष्ठ उपाध्यक्ष श्री चन्द्रप्रसाद ढकाल लेखा सुपरीवेक्षण समितिको सदस्य हुँदै संयोजक र महासचिव हुँदै वरिष्ठ उपाध्यक्षमा पुग्नु भएको छ ।
उपाध्यक्ष श्री शान्ति अधिकारी यस अघि नेफ्स्कूनमानै २ कार्यकाल सञ्चालक साथै समुदायमा भिज्नु भएको र एक असल अभ्यासकर्ता समेत हुनुहुन्छ ।
यसैगरी महासचिव श्री दामोदर अधिकारी पनि समुदायमा आधारित साकोसको नेतृत्व गर्दे संघमा सञ्चालक, लेखा सुपरिवेक्षण समिति संयोजक भईसक्नु भएको छ ।
प्रस्तावित साकोस ऐन, स्थिरीकरण कोष र साकोस एकरुपता प्रणालि तयार गर्दाको कलम चलाऊने एक मुख्य जिम्मेवारीे व्यक्ति हुनुहुन्छ ।
कोषाध्यक्ष श्री दीपक पनेरु पनि संघमा सञ्चालक भई एक असल अभ्यासकर्ता रहनु भएको र उहाँहरु सबैले विश्वको साकोस अभियान राम्रो सँग बुझ्नु भएको छ ।
बैदेसिक तालिम तथा भ्रमण पनि गरिसक्नु भएकाले साकोस अभियानमा राम्रो बुझाई देखिन्छ । उहाँहरुको प्रवेश सँगै कोरोना कहरका कारणले संघले सोचे अनुसारको गति लिन सकेको छैन ।
प्राय सञ्चालकहरु अत्यन्तै खारिएको अग्रजहरु सँग टीममा रही कार्य गरेको हुँदा अवश्यनै साकोस अभियानलाई अब्बल बनाऊनु हुनेछ। उहाँहरु सँग प्रमुख कार्यकारी अधिकृतको रुपमा छोटो अवधि श्री शिवजी सापकोटा रहनु भयो । तत्पश्चात श्री प्रकाश पोख्रेल रहनु भएको छ ।
समग्रमा भन्नु पर्दा पहिलो कालखण्डमा अग्रजहरुले बाटोको ट्रयाक पत्ता लगाउनु भयो, बाटो खन्नुभयो । दोश्रो कालखण्डमा अग्रजहरुले उक्त बाटोलाई बिस्तार गर्दे ग्रावलिङ गर्नुभयो । अव तेश्रो कालखण्डका अग्रजहरुले बाटोलाई कालोपत्रे गरेर राम्रो हाईवे बनाऊनु हुनेछ भन्ने पूर्ण बिश्वासमा रहेको छु ।
नेफ्स्कूनमा २० वर्ष बिताएका अधिकारीले ठिक एक वर्ष अघि आजैका दिन (०७७ साउन २०) नेफ्स्कूनबाट अवकास लिएका हुन् । प्रस्तुत आलेखमा लेखक अधिकारीका निजी बिचार हुन् ।
Leave a comment