हाइलाइट

अजम्बरी साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

अजम्बरी साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । बौद्धमा रहेको अजम्बरी बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष नुर्बु लामाको सभापतित्वमा आयोजित साधारण सभा संस्थाकै बाल बचतकर्ताबाट उद्धघाटन गरि सम्पन्न गरेको हो ।

सभामा संस्थाका अध्यक्ष लामाले अजम्बरी साकोसले हरेक वर्ष सदस्य केन्द्रित, अतिथिरहित मितव्ययी र नियामकीय प्रावधानहरुको अधिनमा रही वार्षिक साधारण सभा सञ्चालन गर्दै आएको बताए ।

अध्यक्ष लामाले मूलुकको विषम परिस्थितिलाई ध्यानमा राख्दै सरल र छोटो समयमै मितव्ययी रुपमा वार्षिक साधारणसभा सम्पन्न गरिएको जनाए ।

संस्थाका सचिव ग्याल्जेन शेर्पाले सञ्चालन खर्च कम गर्ने, उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गर्ने, दिगोपनाका लागि सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, उपसमिति, कर्मचारी, तथा सदस्यहरुलाई तालिम प्रदान गर्ने, सदस्य तथा शेयर पुँजी एवं ऋण लगानी वृद्धि गर्ने योजना सुनाए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गान्वा सुनुवारले सहकारीले मुनाफा भन्दा सदस्य सेवा र सुविधालाई बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुसार, कुन संस्थाले कति मुनाफा बाँड्यो भन्दा पनि के कस्ता सदस्य सेवा, सुरक्षा, राहत र सुविधाकामार्फतबाट उनीहरुको जीवन रुपान्तरणमा भूमिका निर्वाह गर्यो भन्ने महत्वपूर्ण भएको बताए ।

उनले सदस्यहरुले पनि अब मुनाफा भन्दा सेवा र सुरक्षाका विषयमा ध्यान दिनुपर्ने बताए । उनले आगामी दिनमा झनै सेवा सुविधा बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी, भोटेकोशी बाढीले ल्याएको विषम परिस्थितिमा संस्थाले संस्थागत एवं मानवीय भावनालाई आत्मसाथ गर्दै अन्य खर्च कटाएर पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार रुपैयाँ सहयोग गरेको जानकारी दिए ।

‘सहकारी संस्था कम्पनी जस्तो बढी नाफामुखी हुनुहुँदैन, ‘ प्रमुख कार्यकारी अधिकृत सुनुवारले भने, ‘सदस्यहरुले पनि फलानो संस्थाले यति नाफा बाँढ्यो, ढिस्कानाले यति बाँढ्यो, यसले कति बाँढ्यो भनेर खोज्नुभन्दा संस्था दिगो छ कि छैन भनेर सोच्नुपर्छ।

सदस्यलाई आवश्यक सुविधा कसरी दिने भनेर सहकारीले सोच्नुपर्छ ।’ उनले सदस्य सुरक्षा कार्यक्रम अन्तर्गत आन्तरिक कार्यविधि निर्माण गरेर ५ हजार रुपैयाँ देखि ५० हजारसम्म नगद सहयोग गर्दै आएको जनाए ।

प्रमुख कार्यकारी अधिकृत सुनुवारले सदस्यको मृत्यु हुँदा २५ हजार संस्कार खर्च, प्रसुति स्याहार खर्च बापत ५ हजार, २२ प्रकारका प्राणघातक रोग लाग्दा ५० हजार उपचार खर्च प्रदान गर्दै आएको जनाए ।

यसैगरी, स्वास्थ्य सेवाहरुसँग पनि सम्झौतामार्फत सदस्यहरुलाई औषधी उपचार तथा शल्यक्रियामा १० देखि २५ प्रतिशतसम्म छुट, दन्तपरीक्षणमा पनि २५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराएको जानकारी दिए ।

साधारण सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, बाह्रय लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा सञ्चालक समिति, उपसमितिहरुबाट भए गरेका निर्णयहरु लगायत ११ वटा प्रस्तावहरु माथि छलफल गरी सर्वसम्मत पारित गरेको छ ।

संस्थामा १ करोड ९५ लाख ३५ हजार ५ सय शेयर पुँजी रहेको छ भने ३७ करोड २४ लाख ८६ हजार ५ सय ३५ बचत निक्षेप रहेको छ । यसैगरी, गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन अनुसार संस्थासँग १५ करोड ५९ लाख बढी तरलता छ भने १९ करोड ९२ लाख ९९ हजार बढी ऋण लगानी रहेको छ ।

आर्थिक वर्ष २०८२ र ८३ मा ३ करोड १८ लाख ९८ हजार ५ सय १८ रुपैयाँ आम्दानी गर्न सफल भएको जानकारी सभामा गराइएको थियो । संस्थामा हाल १६४२ जना सदस्य छन जसमध्ये ९४३ जना महिला, ६९७ जना पुरुष तथा २ संस्थागत सदस्य छन् ।



Leave a comment