विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरले आर्थिक वर्ष २०८२ / ८३ मा ८० करोड १७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ। संस्थाले सो अवधिमा चार करोड ६० लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ ।
संस्थाको २८औँ वार्षिक साधारणसभामा अध्यक्ष जीवन काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्थाबारे जानकारी दिएका हुन् । प्रतिवेदनअनुसार संस्थाको कुल सम्पत्ति तथा दायित्व ६१ करोड ९५ लाख ३५ हजार रुपैयाँ पुगेको छ।
संस्थाको बचत १८ लाख ५८ हजार रुपैयाँ रहेको छ भने कुल निक्षेप संकलन ४८ करोड ६३ लाख २५ हजार २७० रुपैयाँ पुगेको छ । असार मसान्तसम्म संस्थाले ३२ करोड ६७ लाख ८७ हजार ४६२ रुपैयाँ ऋण लगानी गरेको छ। यस्तै, संस्थाले विभिन्न शीर्षकमा ५२ लाख ७६ हजार ९४६ रुपैयाँ राजस्व सरकारलाई दाखिला गरेको जनाएको छ ।
हाल संस्थामा एक हजार ९०५ जना शेयर सदस्य आबद्ध छन्। तीमध्ये ८५२ जना महिला सदस्य रहेका छन् । साधारणसभाका अवसरमा संस्थाले सहकारीको विकास तथा प्रवद्र्धन र सामाजिक क्षेत्रमा योगदान पुर्याउने चार जनालाई सम्मान गरेको छ ।
यसोदा अधिकारी, गोमा नेपाल, हेमसागर पोखरेल र केशव पोखरेललाई नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको हो। संस्थाले ज्येष्ठ शेयर सदस्यहरूलाई समेत सम्मान गरेको थियो।
सचिव ओम सुवेदीका अनुसार शेयर सदस्यका सन्ततीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सम्मानसमेत प्रदान गरिएको छ। उनले शेयर सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक सुरक्षाका लागि संस्था निरन्तर क्रियाशील रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले सहकारी संस्थाहरूले समुदायको आर्थिक उत्थानसँगै वित्तीय अनुशासनलाई प्राथमिकता दिनुपर्ने बताए । उनले राष्ट्रसेवक सहकारीले हासिल गरेको वित्तीय प्रगति र पारदर्शिताको प्रशंसा गरे।
Leave a comment