हाइलाइट

दुई दशकको सहकारी यात्राः संघर्ष, एकीकरण र समृद्धिको निरन्तर अभियान

दुई दशकको सहकारी यात्राः संघर्ष, एकीकरण र समृद्धिको निरन्तर अभियान :: Sahakari Akhabar

काठमाडौं । ०६३ जेष्ठ १५ गते दर्ता भएको नेउलापुर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको संस्थापक सदस्यका रूपमा सहकारी अभियानमा जोडिने अवसर प्राप्त भयो । त्यसको केही समयपछि २०६३ श्रावण १६ गतेदेखि व्यवस्थापकको जिम्मेवारी सम्हाल्दै संस्थाको प्रशासन, वित्तीय व्यवस्थापन, सदस्य सेवा तथा संस्थागत विकासका क्षेत्रमा निरन्तर कार्य गर्ने अवसर मिल्यो ।

यस यात्राको महत्वपूर्ण मोड २०७५ असार १५ गते चारवटा सहकारी संस्थाको एकीकरणसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्राप्त भयो । त्यसपछि विभिन्न समयमा भएका एकीकरण प्रक्रियामार्फत हालसम्म १४ वटा सहकारी संस्थाहरूलाई एउटै संस्थागत संरचनामा समेट्ने कार्य सम्पन्न गर्न पाउँदा यो यात्रा केवल व्यक्तिगत उपलब्धि नभई सामूहिक विश्वास, सहकार्य र प्रतिवद्धताको परिणाम बनेको छ ।

सहकारी अभियानमा बितेका दुई दशक सम्झँदा सफलता मात्र होइन, अनेकौं संघर्ष, चुनौती, असहज परिस्थिति र कठिन निर्णयहरूको श्रृंखला पनि उत्तिकै जीवन्त रूपमा सम्झनामा आउँछ । सहकारी संस्था भनेको केवल वित्तीय कारोबार गर्ने संस्था होईन यो विश्वास, सहभागिता, पारदर्शिता र सामाजिक उत्तरदायित्वमा आधारित सामूहिक अभियान हो । यही कारणले यसको सफलता वा असफलता प्रत्यक्ष रूपमा सदस्यहरूको जीवनसँग जोडिएको हुन्छ ।

नेपालको सहकारी क्षेत्रले पछिल्ला वर्षहरूमा गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । बचतकर्ताको विश्वासमा आएको कमी, तरलताको अभाव, बढ्दो निष्क्रिय कर्जा, कमजोर संस्थागत सुशासन, राजनीतिक प्रभाव, नियामकीय कडाइ, प्रविधिगत रूपान्तरणको आवश्यकता तथा दक्ष जनशक्तिको अभाव जस्ता समस्या आज सहकारी क्षेत्रका साझा चुनौती बनेका छन् ।

केही सहकारी संस्थामा देखिएका अनियमितता र वित्तीय अनुशासनहीनताका घटनाले सम्पूर्ण सहकारी क्षेत्रप्रति समाजमा नकारात्मक धारणा सिर्जना गरेको यथार्थलाई पनि हामीले आत्मसात गर्नुपर्छ । यस्ता कठिन परिस्थितिमा संस्थालाई सुरक्षित राख्नु, सदस्यहरूको विश्वास कायम गर्नु, वित्तीय अनुशासनलाई सुदृढ बनाउनु, जोखिम व्यवस्थापन गर्नु र संस्थालाई दिगो मार्गमा अघि बढाउनु अत्यन्त चुनौतीपूर्ण कार्य रहेको छ।

विशेष गरी एकीकरण प्रक्रिया केवल प्रशासनिक निर्णय मात्र होईन फरक–फरक संस्थाको संस्कृति, संरचना, कर्मचारी व्यवस्थापन, वित्तीय अवस्था र सदस्यको मनोविज्ञानलाई एउटै उद्देश्यमा जोड्ने जटिल र धैर्यपूर्ण प्रक्रिया हो । यस यात्रामा प्राप्त अनुभवले सिकाएको सबैभन्दा ठूलो पाठ भनेको विश्वास नै सहकारीको सबैभन्दा ठूलो पूँजी हो भन्ने हो ।

आज सहकारी क्षेत्रलाई पुनः विश्वसनीय, पारदर्शी र सदस्य केन्द्रित बनाउन आवश्यक छ । सुशासन, प्रविधिको प्रभावकारी प्रयोग, नियमित लेखापरीक्षण, जोखिममा आधारित कर्जा व्यवस्थापन, वित्तीय साक्षरता, युवा सहभागिता र उत्तरदायी नेतृत्व बिना सहकारीको भविष्य सुदृढ हुन सक्दैन । सहकारीलाई बचाउने जिम्मेवारी केवल सरकार वा नियामक निकायको मात्र होईन सञ्चालक, कर्मचारी, सदस्य र सम्पूर्ण सहकारी समुदायको साझा दायित्व हो ।

दुई दशकको अहिले सम्मको यस यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, सहयोग, विश्वास, सुझाव, प्रेरणा र हौसला प्रदान गर्ने सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी साथीहरू, सदस्य महानुभाव, शुभेच्छुक तथा सम्पूर्ण सहकारीकर्मीहरू प्रति हार्दिक आभार तथा गहिरो कृतज्ञता व्यक्त गर्दछु । सकारात्मक सहयोगका साथै आलोचना, चुनौती र बाधा–अवरोधहरूले पनि मलाई अझ जिम्मेवार, परिपक्व र दृढ बन्न सिकाएका छन् ।

आगामी दिनहरूमा पनि सहकारीको मूल मर्म-स्वावलम्बन, पारस्परिक सहयोग, लोकतान्त्रिक सहभागिता, पारदर्शिता र सदस्य समृद्धिलाई आत्मसात गर्दै दिगो, विश्वसनीय र समावेशी सहकारी निर्माणका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु । “समृद्ध सदस्य, उत्कृष्ट सहकारी” भन्ने लक्ष्य प्राप्तिका लागि हाम्रो साझा यात्रा अझ बलियो, उत्तरदायी र विश्वासिलो बन्नेमा विश्वस्त छु ।



Leave a comment