हामी प्रायजसो मानिसको कमजोरी तथा गल्तीहरु सबै सामु नङ्ग्याएर आलोचना गर्ने कुरामा अभ्यस्त भईरहेका हुन्छौँ । यो तरिका मानिससँग व्यहार गर्ने सिद्धान्तको ठिक विपरित र कमसल तरिका हो ।
बचत तथा ऋण सहकारी संस्थाहरु आफ्ना सदस्यहरुलाई सेवा दिनकालागि सञ्चालित भएका हुन्छन् । संस्थाले सदस्यहरुलाई प्रदान गर्ने सेवा समय सापेक्ष र उत्कृष्ट हुन जरुरी छ । उत्कृष्ट सेवा प्रदान गर्नको लागि आवश्यक धेरै कुराहरु मध्ये सदस्यहरुलाई संस्थाले गर्ने व्यवहार, चासो र हेरचाह एक महत्वपूर्ण पक्ष हो । हामीले थाहा पाएका तर वास्ता नगरेका स–साना कुराहरुले सेवाग्राहीहरुलाई धेरै प्रभाव पार्दछ ।
हामीले बेवास्ता गरेका यस्तै स–साना तर महत्वपूर्ण कुराहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।
सदस्यलाई सेवाप्रदान गर्दा ध्यानदिनु पर्ने कुराहरु
१. सदस्यहरुलाई महत्व दिएको अनुभूती गराउनुहोस् ।
सदस्यलाई सेवा प्रदान गर्दा हामीले उनीहरुलाई महत्व दिएका छौँ भन्ने कुराको अनुभुती दिलाउन सक्नु पर्दछ । यसका लागि सेवा प्रदायकले आफूलाई हैन उनीहरुलाई नै महत्व दिएर कुरा गर्नु पर्दछ । उनीहरुको राम्रो कुराको प्रशंसा गर्ने । उनीहरु संग कुरा गर्दा सम्मान गरेर कुराकानी गर्ने आदि गर्नाले सदस्यलाई महत्व दिएको महशुस गराउँदछ ।
२. सदस्य संगको पहिलो पाँच सेकेण्डलाई सहि ढंगले उपयोग गर्ने ।
हामीले सोच्नु पर्दछ यदि हामी कुनै कार्यालयमा प्रवेश गर्दैछौँ भने हामी सबैभन्दा पहिले के कुरा अपेक्षा गर्दछौँ ? के हामी प्रवेश गर्दै गर्दा त्यहाँको मानिसहरु हामीसंग खुसी देखिन्थे ? हाम्रो प्रवेशलाई स्वागत गर्न के उनीहरुको ओठमा मुस्कान थियो ? कार्यालय हेर्दा चिटिक्क तथा सफा सुग्घर देखिन्थ्यो ? के हामीलाई कसैले वास्ता गरे जस्तो, बोलाए जस्तो भान हुन्थ्यो ? के त्यहाँका फ्रन्टलाईन स्टाफहरु हामीलाई स्वागत तथा अभिवादन गरीरहेका हुन्थे ?
सदस्यसंगको पहिलो पाँच सेकेण्ड भनेको उनीहरुसंग आफ्नो सम्बन्ध स्थापना गर्ने र उनीहरुमा आफु प्रतिको दृष्टिकोण राम्रो बनाउने ठूलो अवसर हो । अतः कुनै सेवाग्राही वा सदस्य हाम्रो व्यवसायमा प्रवेश गरीरहेको छ भने त्यो पहिलो पाँच सेकेण्ड हामीले सही ढंगले उपयोग गर्न सक्नु पर्दछ । जस्तै ढोकाबाट सदस्य छिर्दै गर्दा हँसिलो अनुहारले एकै छिन उनीहरुलाई हेर्ने । वास्ता नगरेको जस्तो कहिल्यै नगर्ने । आ–आफ्नो संस्कृती र चलन अनुसार अभिवादन गर्ने । सदस्यहरु बस्ने ठाउँ असाध्यै सफा राख्ने आदि जस्ता कृया कलापहरु गर्ने ।
३.सदस्यहरु संग वार्तालाप गर्नेः
स–सानो कुराहरुबाट सदस्यहरु संग कुरा गर्ने बहाना खोज्ने जस्तै, “आज कति गर्मी छ हगी ?” “सञ्चै हुनु हुन्छ ?”, “आज राम्रै किनमेल गर्नु भए जस्तो छ” जस्ता स साना कुराहरुले सदस्यहरुसंग सामिप्यता बढाउन मद्दत गर्दछ ।
एकै पटक लामो वार्तालाप गर्न खोज्दा सदस्य उक्त वार्तालापको लागि तयार छ की छैन उनीहरुको मुड कस्तो छ भन्ने थाहा हुँदैन र हामीले गर्न खोजेको वार्तालापले उनीहरु प्रतिकूल असर पार्न पनि सक्दछ । जब हामीलाई लाग्दछ की सदस्य हाम्रो कुरा सुन्न तयार छ या हामीसँग वार्तालाप गर्न तयार छ । तब हामी आफ्नो वस्तु तथा सेवाको बारेमा निर्धक्क संग उनीहरुसँग कुरा गर्न सक्दछौँ ।
४.प्रत्येक अन्तरक्रिया तथा वार्तालापमा सदस्यहरुलाई व्यक्तिगत महत्व दिएको अनुभुती गराउने
कुनै व्यक्तिलाई संस्थाले असाध्यै महत्व दिएको छ भन्ने भान भयो भने उ आफू मात्र हैन धेरै व्यक्तिलाई हामीप्रति सकारात्मक बनाउन उसको ठूलो भूमिका हुन जान्छ । त्यसको लागि हामीले खासै ठूलो कुनै काम गर्नु पर्दैन ।
हामीले गर्ने स–सानो कुराले नै उनीहरुमा यस प्रकारको छाप पर्न सक्दछ । जस्तै कुनै कुरा गरिदिन्छु भनी बचन दिएको भएमा सो काम पुरा भईसकेपछि सम्पर्क गरी सोको बारेमा निश्चित हुन खोजेको बताउने । त्यस्तै गरी कुनै कार्यक्रममा खाना खाने बेलामा सँगै रहियो भने पस्केर आएको खाना सदस्यहरुलाई पहिला दिने, उनीहरुको मांशाहारी हुनकी साकाहारी हुन जानकारी लिई सोको लागि आवश्यक भूमिका खेल्ने आदिजस्ता कुराहरुले सदस्यहरुमा सकारात्मक छाप बस्न जान्छ । खासमा आफूलाई सदस्यहरुसंग व्यक्तिगत परिचय स्थापित गर्न खोज्नु नै उनीहरुको मन जित्ने प्रमुख उपाय हो ।
केही उदाहरणहरुः
– नमस्कार म............., निकै लामो समय पछि भेट भयो । कता हराउनु भएको थियो ? निकै न्यास्रो पो लागिसक्यो त !
– नमस्कार हजुर ...... साकोसबाट म ......... बोलिरहेको छु । यहाँको जन्मदिनको शुभकामना कार्ड पठाएको थिएँ, हजुरले पाउनु भयो की भएन ?
– रामकृष्ण दाई तपाईको ऋण स्विकृत भईसक्यो अब तपाईले छिट्टै पाउनु हुनेछ ।
यसरी कुरा गर्दा हामीले के कुरामा ध्यान दिनु पर्दछ भने जो संग हामी कुरा गरीरहेका छौँ त्यो व्यक्ति हाम्रा लागि विश्वकै सबै भन्दा महत्वपूर्ण व्यक्ति हो ।
५. आफ्नो वास्ता, हेरचाह देखाउने
वास्ता गर्नु तथा हेरचाह गर्ने बानी सदस्यहरुसंग सम्बन्ध गाँस्ने महत्वपूर्ण माध्यम हो । त्यसकारण हामीले सदस्यहरुलाई वास्ता गरिरहेका छौँ भन्ने कुरामा उनीहरुलाई निर्धक्क गराउन सक्नु पर्दछ ।
जस्तै उदाहरणको लागि
– छिटो र छरितो ढंबाट सेवा उपलब्ध गराउने ।
– उनीहरुको समस्या तुरुन्त समाधान गर्ने र गुनासाहरुको उचित ढंगबाट सुनुवाई गर्ने ।
– कहिल्यै पनि आफुले गरेको बचन अधुरो नराख्ने ।
– पूर्ण रुपमा आफू ईमान्दार रहेको कुराको प्रत्याभूती सदस्यहरुमा गराउने ।
– राम्रोसंग सञ्चार गर्ने । कुरा गर्दा मुखमा केही कुरा चपाएर नबस्ने, पत्रपत्रिका पढेर या ईन्टरनेट चलाएर उनीहरुलई बेवास्ता गरेको भान नपार्ने ।
– सदस्यहरुको वास्तविक आवश्यकताको पहिचान गर्ने ।
– सदस्यहरु हाम्रो सेवा बाट प्रताणित भएका छैनन्, उनीहरुलाई कुनै शोषण गरिएको छैन भन्ने कुरामा निश्चितन्त बनाउने ।
– सदस्यहरुलाई जहिले पनि उच्च प्राथमिकतामा राख्ने, आदि ।
६. सकारात्मक विकल्पहरु दिने
हरेकदिन सदस्य सेवाका अनगिन्ती विकल्पहरु हुन्छन् । हामीले जहिले पनि सकारात्मक विकल्पलाई नै रोज्नु पर्दछ । हामीसंग विकल्पहरु मध्ये पनि सकारात्मक विकल्प नै हुनु पर्दछ । जसले गर्दा एउटा विकल्प बाट अर्को विकल्पमा जाँदा पनि सदस्यहरुको दृष्टिकोण, सोचाईको दायरा सकारात्मक नै हुन्छ ।
जस्तै उदाहरणको लागिः
“हामी आफू र आफ्ना परिवारको भविष्य सुनिश्चित भएको हेर्न चाहन्छौँ हैन र ?” उत्तर आउँछ “हो”
त्यसको लागि हामी आर्थिक रुपले सक्षम हुनु पर्दछ हैन र ?उत्तर आउँछ “हो”
त्यसको लागि हामीले आफूमा बचत गर्ने बानीको विकास गर्नु पर्दछ हैन र ?उत्तर आउँछ “हो”
यसरी सकारात्क विकल्पहरुले सकारात्मक नै परिणाम ल्याउने गर्दछ ।
७) सदस्यहरुको मस्तिष्कमा सम्झना योग्य कृया कलापहरु गर्ने ।
जो कोही उत्कृष्ट मान्छे छ भने उ सम्झना योग्य नै हुन्छ । त्यस कारण हामीहरु पनि सम्झना योग्य मान्छे हुने प्रयत्न गर्नु पर्दछ ।
जस्तै, सदस्यसंग गहिरो मित्रता कायम गर्ने प्रयत्न गर्ने या उनीहरुसंग असाध्यै नजिक हुने प्रयत्न गर्ने ।
– सदस्यले सोचे भन्दा छिटो काम सम्पन्न गर्ने प्रयत्न गर्ने ।
– सदस्यहरुंग उनीहरुका वाल वच्चाहरु पनि छन् भने उनीसंग कुरा गर्ने । सदस्यलाई असाध्यै राम्रो व्यवहार गर्ने तर उनीहरु संगै आएका नानीहरुलाई रुखो स्वभाव देखाउने या बेवास्ता गर्ने गर्नाले सदस्यहरुको मस्तिस्कमा हामी प्रति नकारात्मक छाप बस्न जान्छ ।
८.केही फरक हुने (Be a little bit M.A.D)
हामी अरुभन्दा केही फरक गर्दैनौ भने हामी र अरुमा केही भिन्नता हुँदैन । अनी सदस्यहरुले आफूलाई मात्र प्राथमिकता दिउन भन्ने चाहेर मात्र कहाँ हुन्छ ? त्यसकारण आफुले दिने सेवा केही फरक र सम्झना योग्य ढंगले दिनु पर्दछ । त्यसैले अंग्रेजीमा यसलाई Be a little MAD (Make a Difference)भनिन्छ ।
जस्तैः सधै समयमा आउने सदस्यलाई कुनै सम्झनाको चिनो दिने ।
जन्म दिनको दिनमा शुभकामना कार्ड पठाउने ।
उत्कृष्ट सदस्यहरुलाई कार्यक्रम तथा समारोह हरुमा परिचित गराईदिने । आदि
९.सदस्यहरुको अवलोकन गर्ने
भनिन्छ सेवा प्रदान गर्नको लागि सदस्यहरुको अवलोकन गर्न सकियो भने प्रत्येक सदस्यहरु संग उत्कृष्ट सेवादिने सकिने कुराको सुनिश्चितता हुन्छ । त्यसकारण सदस्यहरुको बढि भन्दा बढि जानकारीहरु हामी संग हुन जरुरी हुन्छ । तीनै जानकारीहरुको आधारमा हामीले सदस्यहरुलाई वस्तु तथा सेवाहरुको सकारात्मक विकल्पहरु प्रदान गर्न सक्दछौँ ।
१०.सदस्यहरु प्रति चाख देखाउने
सदस्यहरुलाई बेवास्ता गर्ने बानीले उनीहरुको दृष्टिकोणमा आफु कमजोर र घमण्डी सावित हुन पुग्छौँ । त्यसकारण सबै भन्दा उत्तम तरीका भनेको आफुसँग सम्बन्धीत मानिसहरु प्रति चाख देखाउने बानीको विकास हो । उनीहरुसँग कुराकानी गर्ने, बाटोमा हिँड्दा देखे पनि नदेखे झैँ नगर्ने, उनीहरुसंग कुरा गर्दा अन्तै ध्यान दिए जस्तो गरी कुरा नगर्ने । उनीहरुप्रति चाख देखाउन आफूलाई प्राप्त कुनै पनि अवसरहरु बाट आफु बञ्चित नहुने आदि गर्नु पर्दछ ।
माथि उल्लेखित कुराहरु लागु गर्नको लागि हामी सँग मानिस सँग कुशलता पूर्वक व्यवहार गर्ने कलाको आवश्यकता पर्दछ । जसमध्ये केहीलाई यहाँचर्चा गरिएको छ ।
मानिस संग कुशलता पूर्वक कुरा गर्ने कसरी ?
हामीले सवै भन्दा पहिले मानवीय स्वभावको बारेमा बुझ्नु पर्दछ । मानिस जहिले पनि अरुलाई भन्दा बढि आफैँलाई प्राथमिकता दिने गर्दछ । त्यसैले हामीले मानिस संग कुरा गर्दा उनीहरुकै बारेमा कुरा गर्नु पर्दछ । “म”, “मेरो” “मलाई” जस्ता आफूलाई प्राथमिकता दिने शब्दहरु हामीले आफ्नो शब्दकोष बाट हटाउनु पर्दछ ।
त्यसको सट्टामा मान्छेको जिब्रोले बोल्ने एउटै तर शक्तिशाली शब्द “तपाई” द्धारा प्रतिस्थापन गर्नु पर्दछ । अथवा कसैसँग हामी कुरा गरीरहेका छौँ भने हामीले आफ्नो बृतान्त उनीहरुलाई कहने भन्दा पहिला उनीहरुकै कुरा गर्नु पर्दछ । त्यसले हामीसँग कुरा गर्ने मानिसको ध्यान हामी प्रति आकृष्ट हुन्छ । त्यस पछि आफ्नो कुरा उनीहरुलाई राख्नु प्रभावकारी र फलदायी हुन्छ ।
मानिसलाई महत्व दिईएको कसरी अनुभुत गराउने ?
मानिस सँगको सम्बन्ध गाँस्न सिपालु त्यो हो जसले अरुलाई महत्व दिएको महशुस गराउन सक्दछ । जति हामीले अरुलाई महत्व दिन्छौँ त्यति नै उनीहरुले हामी प्रति चाख देखाउँछन् ।
जसका केही तरिकाहरु निम्न छन् ।
– आफूसँग कुरा गरीरहेको सदस्यहरुको कुरा ध्यान दिएर सुन्ने । उनीहरुको कुरा सकिन नपाउँदै पुरै कुरा बुझि सके झैँ गरेर जवाफ फर्काई नहाल्ने । यसो गर्दा सदस्यले भन्न खोजेको कुरा एउटा र आफ्नो उत्तर अर्कै हुन जाने खतरा हुन्छ । सदस्यको दृष्टिकोणमा हामी जान्ने सुन्ने मान्छे भन्ने पर्न जान्छ जुन कुरा उनीहरुलाई महत्व नदिईएको महशुस गराउने उपाय हो ।
- सदस्यहरुले राखेको कुराहरुमा प्रशंसा योग्य कुराहरु भएमा खुलेर प्रंशसा गर्ने । मानिस प्रंशसाको भोको हुन्छ । राम्रो कुराको प्रशंसा गर्नाले उनीहरुको रुची हामीप्रति बढ्न जान्छ ।
– समूहमा कुरा गर्दैछौँ भने कुनै पनि निश्चित व्यक्ति तथा समूहमा मात्र केन्द्रित भएर उनीहरुसंग मात्र कुरा नगर्ने, उनीहरुलाई मात्र वास्ता नगर्ने । सबैसँग आफ्नो नजर पुगेको भान गराउने । सबैसँग सहभागितात्मक ढंगले छलफल गर्ने ।
मानिस संग कसरी कुशलता पूर्वक सहमत हुने ?
धेरै जसो मान्छेमा अरुको कुरामा आफ्नो असहमती राखी हाल्यो भने अरु सबैको ध्यान आफूतिर आकृष्ट हुन्छ र आफ्नो महत्व बढ्दछ भन्ने भ्रम हुन्छ । जवकी यो मानिस सँग व्यवहार गर्ने कमसल तरिका हो । त्यसकारण जब सम्मपूर्ण रुपले आवश्यकता पर्दैन तबसम्म कसैसँग पनि असहमती नजाउने बानीको विकास गर्नु पर्दछ ।
यसको केही तरिकाहरु निम्नछन् ।
– अर्काको कुरामा सहमत हुने बानीको विकास गर्ने । आफ्नो मानसिकतालाई सहमत हुने मानसिकताको संरचनामा ढाल्न प्रयत्न गर्ने । सहमती जनाउने, मृदुभाषी स्वभावको विकास गर्ने ।
– अनी कसैको कुरा आफूलाई राम्रो लाग्यो र त्यसमा सहमती जनाउनु परेको छ भने मन मनै सहमती जनाएर पुग्दैन ।
हामी उक्त कुरामा सहमत छौँ भन्ने कुरा वार्ताकारलाई थाहा हुनु पर्दछ । हामीले विच विचमा “तपाईको कुरा सही लाग्यो, म तपाई सँग सहमत छु” आदि जस्ता वाक्यहरु द्धारा उनीहरुलाई हामीले सहमती जनाईरहेका छौँ भन्ने महशुस गराउनु पर्दछ ।
– सहमती जनाउँदा जो सँग हामी कुरा गरीरहेका छौँ उनीहरुतीरै फर्केर, उनीहरुतीरै हेरेर आफू सहमत भएको कुरा बताउनु पर्दछ । अन्यत्र हेरेर, वा अन्तै ब्यस्त भएजस्तो गरेर सहमती जनाए जस्तो गर्नु कमसल तरिका हुन जान्छ ।
– जब सम्म पूर्ण रुपमा आवश्यकता पर्दैन तब सम्म आफू असहमत भएपनि व्यक्त गरिनहाल्ने ।
– बिवाद, झै झडा आदिको तरिका मान्छेसँग व्यवहार गर्दा कहिले पनि नअपनाउने ।
मानिसको कुरा कसरी कुशलता पूर्वक सुन्ने ?
मानिसलाई प्रकृतिले २ वटा कान र १ वटा मुख दिएको छ । यसलाई थोरै बोल्ने र धेरै सुन्ने भनेर पनि अथ्र्याउने गरिएको पाईन्छ । वास्तवमा मानिसहरुको कुराहरु राम्रो संग सुन्नु भनेको कुनै दुर्घटना हैन । यहाँ मानिसलाई कुशलता पूवर्क सुन्ने केही तरिकाहरु छन् ।
– जसको कुरा सुनिरहेका छौँ उसैतिर हेरेर सुन्ने । कम्प्युटर चलाएजस्तो, मोबाईल फोन चलाए जस्तो, पत्रिका पढे जस्तो, अन्तै तीर हेरे जस्तो गरी नसुन्ने ।
– वक्ताको अगाडी उपर खुट्टी लगाएर, छाती फर्काएर र आकाशतीर हेरेर कहिल्यै कुरा नसुन्ने । जसको कुरा सुनिरहेको हो उतैतीर झुुकेर कुरा सुन्ने ।
– वक्ताले लामो समय कुरा गरी सक्दा पनि आफ्नो कुनै प्रतिक्रिया पाएन भने उसले आफ्नो कुरा सुनेको छ की छैन भन्ने कुरा भित्र देखी ठम्याउन सक्दैन । अतः कुरा सुन्दै गर्दा वीचवीचमा आफूले कुरा सुनीरहेको छु भन्ने भान वक्तालाई पार्न सक्नु पर्दछ ।
– वक्ताले सुनाईरहेको कुरालाई अचानक वीचमा तोडमोड गरी विषयान्तर नगर्ने ।
मानिसको कसरी कुशलतापूर्वक प्रशंसा गर्ने ?
स्वभावैले मानिस प्रशंसाको भोको हुन्छन् तर प्रंससा गर्ने भनेर मात्र हुँदैन प्रंशसा गर्न पनि जान्नु पर्दछ । कतिपय अवस्थामा पं्रशसाको नाउँमा चाप्लुसी भईरहेको हुन्छ । प्रशंसा कुशलता पूर्वक गर्न जानिएन भने त्यो चाप्लुसीमा परिणत हुन्छ ।
केही प्रशंसा गर्ने तरिकाहरु
– मानिसलाई सुत्नको लागि मखमलको विछ्यौना, खानको लागि सुनको थाल र सुनको चम्चाले मात्र आनन्द आउँदैन । मानिसलाई उसको कामको प्रशंसा भयो भने बढि आनन्द र उत्प्रेरणा आउँछ भन्ने तथ्यलाई मध्यनजर गर्ने ।
– प्रशंसा गर्दा मान्छेलाई गिज्याए जस्तो भान पर्न हुन्न । त्यसकारण प्रशंसा साह्रै सौहाद्र्धपूर्ण हुनु पर्दछ । गलत तरिकाले प्रशंसा गर्नु भन्दा बरु कसैको प्रशंसै नगर्नु बेश हुन्छ ।
– मान्छेका कामको प्रशंसा गर्ने नकी सिंगो मान्छेको प्रशंसा । कुनै मान्छको स्वर मिठो छ भने उसको मिठो स्वरको प्रशंसा गर्नु पर्दछ नकी सिंगो मान्छेकै प्रशंसा । यसरी एकमुष्ठ रुपमा प्रशंसा गर्दा त्यो प्रशंसा नभएर चाप्लुसी गरेको ठहरिन्छ । आफूलाई चाप्लुसी गरेको सदस्यहरुले सजिलैसंग थाहा पाउँदछन् ।
मानिसलाई कसरी कुशलतापूर्वक आलोचना गर्ने ?
मानिस सर्वगुण सम्पन्न हुँदैन । हरेक मानिस भित्र कुनै न कुनै कमजोरी तथा खरावी हरु हुने गर्दछन् । यदाकदा हामीले मानिसहरुको गलत कार्यहरुको आलोचना गर्नु पर्ने हुन्छ । तर हामी प्रायजसो मानिसको कमजोरी तथा गल्तीहरु सबै सामु नङ्ग्याएर आलोचना गर्ने कुरामा अभ्यस्त भईरहेका हुन्छौँ । यो तरिका मानिससँग व्यहार गर्ने सिद्धान्तको ठिक विपरित र कमसल तरिका हो ।
आलोचना गर्ने केही तरिकाहरु
– कसैले केही गलत काम गरेको छ भने सोही गलत कार्यको मात्र आलोचना गर्नु पर्दछ नकी सिंगो व्यक्तिकै आलोचना ।
– कसैको गलत कार्यको आलोचना गरिँदैछ भने त्यसमा सो व्यक्तिले आफ्ना सफाईहरु पनि दिने मौका प्राप्त हुने गरी कुराकानी गर्नु पर्दछ ।
– सहकार्य र समझदारीताको लागि आग्रह गर्ने नकी सोको आदेश जारी गर्ने ।
– एउटा गल्तीको आलोचना एक पटकमात्र गर्ने नकी पटक पटक ।
– आलोचनाको निश्कर्षमा आलोचक र आलोचित व्यक्ति वीचको सम्बन्धको मधुरता कायमै रहने गरी आलोचना गर्ने ।
– आलोचना एकदमै व्यक्तिगत ढंगबाट, छुट्टै ठाउँमा लगी गर्ने नकी सार्वजनिक रुपमा । छुट्टै कोठामा लगेर कसैको आलोचना गरिँदैछ भने हामीले याद गर्नु पर्दछकी ढोकाहरु बन्द भएको हुनु पर्दछ । अरुले नसुन्ने गरी मिठासपूर्ण आवाजमा आलोचना गर्नु पर्दछ । आलोचनाको शब्दहरु हृदयमा बिझ्ने खालका हुँनु हुँदैन । मित्रवत वातावरणको सृजना गरेर आलोचना गर्नु पर्दछ । त्यसैले अँग्रेजीमा भनिन्छ,"Kiss them before kick Them"
सदस्य हेरचाहको पृष्ठभूमीलाई हेर्दा सन् १९८० को दशक उत्कृष्ट ग्राहक केन्द्रित सेवामा केन्दित थियो । सन् १९९० को दशकमा आएर यो ग्राहक सम्बन्ध व्यवस्थापनको लागि ग्राहक सेवाको रुपमा स्थापित भयो तर आजको समय विश्व उत्कृष्टताको हो । त्यसकारण हरेक कुरामा उत्कृष्टता नै आजको आवश्यकता हो ।
हामी वचत तथा ऋण सहकारी संस्थाहरुमा कार्यरत मान्छेहरुले मान्छेहरुसँग गर्ने व्यवहार र सदस्य हेरचाह सम्बन्धी गर्ने कार्य पनि उत्कृष्ट नै हुन जरुरी छ । अन्यथा अरु र हामी वीचमा हामीले फरक पनाको महशुस कसरी गराउँन सक्छौँ र ?
(सन्दर्भ स्रोतः Dale Carnegie,How to Win Friends and Influence People)
Leave a comment