हाइलाइट

संकटमा पनि सबल श्रीलंकाली सहकारीबाट नेपालले के सिक्ने ?

संकटमा पनि सबल श्रीलंकाली सहकारीबाट नेपालले के सिक्ने ? :: Sahakari Akhabar

विश्वको आर्थिक–सामाजिक रंगमञ्चमा कोभिड–१९ को महामारीले पारेको नकारात्मक प्रभाव साम्य हुन नपाउँदै यतिबेला विश्व रुस–युक्रेन युद्धको चपेटाबाट पिरोलीएको छ । मुलतः कृषि तथा गैर कृषिजन्य उपभोग्य सामाग्रीहरु र इन्धन आपूर्तिमा नकारात्मक असर पर्दा मूल्यवृद्धि तथा आयातमा असन्तुलन भई विशेषत युरोप र एशियाली मुलुकको आर्थिक कारोवारमा शिथिलता आएको छ ।

जसले गर्दा यो वर्ष अन्तराष्ट्रियस्तरमै अझ विकराल आर्थिक मन्दीको जोखीम छ । आर्थिक मन्दीको जोखिमको पूर्वाभाषका रुपमा वित्तीय क्षेत्रको तरलता संकट र विश्वको प्रथम अर्थतन्त्र - अमेरिकाका ४ वटा वैंक वन्द भएकोबाट अनुमान गर्न सकिन्छ ।

कोभिड महामारी एवं रुस युक्रेन युद्धको असरवाट गतवर्षदेखि दक्षिण एशियाली टापु मुलुक श्रीलङ्का प्रभावित भएको छ भने नेपाल समेत अछुत रहने कुरा भएन । श्रीलङ्काकोे अर्थतन्त्र संकटोन्मुख हुनुमा वाह्य कारण त छदैछन् आन्तरिक कारणहरु पनि जिम्मेवार देखिन्छन् । श्रीलङ्कामा कोभीड महामारीवाट वाह्य व्यापारमा ह्रास आउनुको साथै सन् २०२२ को प्रारम्भसँगै विदेशी मुद्रा सञ्चिती नकारात्मक रहनु, वाह्य ऋण भुक्तानी असन्तुलन, विप्रेषण आप्रवाहमा भारी गिरावट, अत्याधिक मुद्रास्फीतिका कारण उच्च मूल्यवृद्धि, गरीवीको दरमा वृद्धि आदि गम्भीर समस्याहरु देखापरे ।

यसलाई एकथरी विश्लेषकहरुले श्रीलङ्काको अर्थतन्त्र टाट पल्टेको टिप्पणी गरे भने अर्काथरीले नेपाली अर्थतन्त्रलाई श्रीलङ्कासंग तुलना गरेर नेपाल समेत यस्तै हुनसक्ने आशंका गरे । तर, यथार्थमा अर्थशास्त्रीहरुले श्रीलङ्काली सरकारको महत्वाकांक्षा र अस्थिर नीतिलगायतका कारणले त्यहाँको अर्थतन्त्र विग्रिएको वताउदै आएका छन् ।

विशेषत देशको कुल गार्हस्थ उत्पादन भन्दा पनि अधिक वाह्य ऋण, कर छुटका कारण कुल गार्हस्थ उत्पादनमा राजस्वको न्यून योगदान र राजस्वको ६० प्रतिशत भन्दा वढि अंश बाह्य ऋण दायित्व भुक्तानीमा खर्च अर्थात भुक्तानी असन्तुलन हुँदा पर्यटन व्यवसायमा हस आउनु, अनुत्पादनशिल तथा पूर्वाधार निर्माणका क्षेत्रमा गरिएको अधिक वाह्य ऋण लगानी आदि कारणहरु समस्याको जडको रुपमा रहेको कुरा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमद्वारा प्रकाशित अध्ययनले देखाएको छ ।

श्रीलङ्कन वृहत अर्थतन्त्रले यस्तो चरम आर्थिक संकट झेलीरहेका वेला यहाँको सुक्ष्म अर्थतन्त्रको एक महत्वपूर्ण हिस्साको रुपमा रहेको सहकारी क्षेत्रको भूमिका के कस्तो छ ? सहकारीताले ‘आफ्नै संलग्नतामा स्वयं आर्थिक सेवा घर घर र व्यक्ति व्यक्तिले राष्ट्रलाई टेवा’ भन्ने आदर्श वाक्यलाई कसरी सदस्यहरु एक आपसमा मिलेर आफ्नै लागि सहयोग गर्ने अवधारणावाट काम गर्छन, तिनको योगदानले समग्रमा देशको अर्थतन्त्रमा कसरी सहयोग पुर्याउँछ भन्ने कुरा छर्लङ्गाउँछ ।

देशको आर्थिक प्रणालीमा आएको शिथिलतापूर्ण अवस्थामा पनि सहकारी संस्थाहरुले सदस्य तथा सर्वसाधारण जनताहरुलाई कसरी सेवा प्रवाह गरि भरथेग गर्दै आएका छन् ? यिनै विषयवस्तुहरुलाई समेटेर यस पंक्तिकारको स्थलगत अवलोकन भ्रमणको अनुभव समेतका आधारमा यो आलेख तयार गरिएको छ ।

श्रीलङ्कन सहकारी क्षेत्र

सन् १९०६ ताका व्रिटिस शासनकालमा जनतालाई कृषि ऋणग्रस्ततावाट वचाउदै सहजपूर्ण तवरले ऋण प्रवाह एवं कृषि सामाग्रीहरु उपलव्ध गराउन तथा कृषि उत्पादन वितरण गर्र्ने मूख्य उद्देश्यले सहकारी अभियानको शूरुवात गरिएको देखिन्छ । श्रीलङ्कन सहकारी अभियानमा हाल १४ हजार वढी संस्थामा ९५ लाख भन्दा माथि सदस्यहरु आवद्ध छन् । करीव ४५ हजार कर्मचारीहरुले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

श्रीलंकाका सहकारीहरुको संख्या त्यहाँको जनसंख्याको दाँजोमा करीव ४४ प्रतिशत छ भने नेपालमा करीव २५ प्रतिशत मात्र रहेको छ । श्रीलंकाका सहकारीहरुको संख्या र प्रत्यक्ष रोजगारी श्रृजना नेपालका सहकारी संस्थाहरुको तुलनामा भन्दा आधा कम छ । श्रीलंकामा प्रति संस्था ६७९ जना सदस्य रहेको तुलनामा नेपालमा प्रति संस्था सदस्य संख्या जम्मा २४४ जना रहेका छन् ।

संख्यात्मक दृष्टिकोणवाट नेपालमा सहकारी संख्या धेरै भएपनि झण्डै आधा कम संख्यामा रहेका श्रीलंकाका सहकारीहरुमा नेपालमा भन्दा तेव्वर वढि सदस्य छन् । त्यहाँका सहकारीहरुले उपभोक्ता, कृषि उत्पादन, वजारीकरण, वित्तिय, ग्रामीण वैकिंङ, दूध, मत्स्य, हाउजिङ्ग, पर्यटन, स्वास्थ्य, हस्तकला, प्रिन्टिङ आदि क्षेत्रहरुमा कारोवार विस्तार गर्दै आएका छन् ।

मूख्यतया सहकारीले भूँई तहका जनता लक्षित गरी प्राथमिकतापूर्वक लघु व्यवसाय विकासका लागि अल्पावधिका स—साना आय तथा उत्पादनमूलक ऋण प्रवाह गर्दछन । यी सहकारीहरुका विभिन्न १७ वटा केन्द्रीय विषयगत संघहरु छन् । यसमध्ये वचत तथा ऋण सहकारीहरुको केन्द्रीय छाताको रुपमा रहेको सानसामा करीव ९ हजार सहकारीहरु र ३० लाख भन्दा वढि सदस्यहरु आवद्ध छन् ।

विषयगत केन्द्रीय संघमध्ये उपभोक्ता सहकारी संघ (कोफेड) अर्को महत्वपूर्ण संस्था हो, जहाँ वहुउद्देश्यीय सहकारीहरु समेत सदस्य हुन सक्छन् । श्रीलङ्कन सहकारी अभियानको छाता संगठनको रुपमा राष्ट्रिय सहकारी परिषद श्रीलङ्का रहेको छ ।

अन्तराष्ट्रिय सहकारी महासंघकोे सदस्य रहेको यस परिषदको मूख्य काम आवद्ध सदस्य तथा कर्मचारीहरुलाई सहकारी व्यवसाय प्रवद्र्धन सम्वन्धी विविध विषयका छोटो तथा लामो अवधिका तालीम शिक्षा र नवप्रविधियूक्त ज्ञान तथा सिप प्रदान गर्नु हो ।

यसले युवा, महिला र विद्यार्थीहरु लक्षित कार्यक्रम र इनसीसी कोप वैंक समेत सञ्चालन गर्छ । साथै सरकार एवं अन्तराष्ट्रिय निकायहरुका विच समन्वयात्मक भूमिका निर्वाहको काम पनि यसले गर्दछ । परिषदमा  ५ वटा क्षेत्रीय तालीम केन्द्रहरु समेत १२ वटा राष्ट्रियस्तरका विषयगत सहकारी संघहरु र २७ वटा जिल्ला सहकारी परिषद् आवद्ध छन् ।

सहकारी क्षेत्रको समग्र नियमन र प्रवद्र्धनका लागि नियामक निकायका रुपमा सहकारी विकास विभाग रहेको छ । ‘जनउद्यमका रुपमा दिगो विकासका लागि सहकारीता’ को दृष्टिकोण लिएको विभागले जनउद्यमका लागि सहकारी विकासका लागि सहकारी संस्थाहरुमा सुशासन कायम गर्न मिल्दो साथ एवं आवश्यक हस्तक्षेप भन्ने मूल ध्येयका साथ सहकारीहरुको निरीक्षण अनुगमन र विशेष गरी वार्षिक लेखापरिक्षणको कार्य गर्दै आएको छ ।

यसका साथै सहकारी अभियानका लागि आवश्यक तालीम तथा शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्न उच्चस्तरको निकायका रुपमा विभिन्न सरकारी निकायका अधिकारीहरु र सहकारी परिषदको समेत पदेन रहने सहकारी विकास राष्ट्रिय प्रतिष्ठान रहेको छ ।

यसले विभिन्न सहकारीसँग सम्वन्धित विभिन्न विषयका छोटा तथा लामा कोर्षहरु सञ्चालन गर्ने गर्दछ । यसरी तालीम र शिक्षाको काम सहकारी अभियान र स्वायत्त प्रतिष्ठानले गर्दै आएका देखीन्छन् भने सहकारीहरुको निरिक्षण तथा वार्षिक लेखा परिक्षणको कार्य सहकारी विकास विभागले गर्ने हुँदा यहाँको सहकारी अभियान सुदृढ सरकारी नियमनको दायरामा रहेको छ । 

विशेषत समिति, कर्मचारी तथा आन्तरिक लेखा परिक्षकका विच दरिलो आन्तरिक नियन्त्रण, तालिम शिक्षा तथा क्षमता विकासका कार्यक्रम सञ्चालन तथा सरकारी निकायवाट नियमनका साथै वार्षिक लेखापरिक्षण गर्नुले पनि कानून, नीतिका आधारमा सुशासित तवरले संस्था सञ्चालन भएको पाइन्छ । यस्ता विशिष्ट अभ्यासवाट संकटका वेला समेत यहाँका सहकारीहरुले आफ्नो दरिलो समुत्थानशिलता देखाउन सफल भएको महशुस हुन्छ ।

सहकारीका साझा मापदण्ड एवं आन्तरिक तथा वाह्य नियमन

श्रीलंकन सहकारिता समुदायमा सदियौंदेखि रहदै आएको आपसी सहकार्यको संस्कृति, विधि व्यवहार र मूल्यमा आधारित छ । सहकारीहरु विशेष गरी शान्ति, न्याय र सहकार्यका लागि समुदायमा आधारित रही काम गर्दछन् । सहकारीहरुको सञ्चालन मुलाधार सदस्यहरुको प्रजातान्त्रिक नियन्त्रण नै हो।

सहकारिताको पहिचान स्थापित गर्दै सञ्चालन गर्ने अभिभारा मूलत सदस्यहरुको हो भन्ने मान्यताका साथ यहाँको सहकारी अभियान निर्देशित छ । वित्तिय सहकारीहरुको मूल्य सदस्य सेवा तथा सहूलियतपूर्ण ऋण प्रवाह गर्नु हो ।

संस्थाको सर्वोच्च अंगको रुपमा रहेको साधारण सभा औपचारिक रुपमा वर्षको एक पटक वस्ने भएतापनि अनौपचारिक रुपमा मासिक भेला वस्ने र संस्थाको नियमित गतिविधिको जानकारी लिने–दिने प्रचलन छ । सहकारीहरुले पिछडीएका जनताहरुलाई छोटो अवधिका लघु व्यवसायका लागि स–सानो सरल कर्जा लगानी गरी जीविकोपार्जनमा सहयोग पुर्याउँदै आएका छन् ।

सदस्यहरुवाट अनिवार्य रुपमा नियमित वचत संकलन गर्ने गरेकाले आन्तरिक पूँजी निर्माणमा मद्दत पुग्नुका साथै कारोवार वृद्धिमा समेत योगदान पुर्याएको छ । सरकारद्वारा लेखा परिक्षण, सचिवद्वारा मासिक प्रगति प्रतिवेदन, सञ्चालक समितिवाट वार्षिक वजेट तर्जुमा तथा दैनिक कार्य सञ्चालन र विभिन्न विषयगत समिति/उपसमितिहरुद्वारा सञ्चालक समितिको काममा विशेषज्ञ सहयोग पुर्याउने गरेको यहाँका एक सहकारी परामर्शदाताले जानकारी दिए ।

उनका अनुसार वचत सहकारीको स्वस्थ्य विकासको लागि  कारोवारहरुको साझा मापदण्ड निर्माण गरी कारोवारलाई सोही दायरामा सञ्चालन गर्ने प्रयास गरीएको छ । कुल कारोवारमा, कुल पूँजीमा शेयरको हिस्सा १० प्रतिशत, जगेडा लगायतका कोषहरु १० प्रतिशत, वचत तथा ऋणको अनुपात ७० प्रतिशत, अनिवार्य वचत कुल पूँजीको १ प्रतिशत, वार्षिक सदस्यता वृद्धिदर ५ प्रतिशत र वार्षिक खुद सम्पत्ति वृद्धि दर ६ प्रतिशत तोकिएको छ ।

ऋणको व्याजदर घट्दो दरमा गणना गरिन्छ । यी मापदण्डहरु परिपालना गरेका सहकारीहरुलाई सरकारले मान्यता दिनुका साथै समन्वय र आवश्यक संरक्षकत्व समेत प्रदान गर्दछ । संस्थामा जोखिम वहन गर्ने प्रणाली छ । सरकारले त्यसको निरन्तर निगरानी र संयोजन गर्ने काम गर्दछ ।          

वित्तिय संकटमा श्रीलंकाली सहकारीहरु किन अप्रभावित ?

सहकारी पद्दति सदस्य सम्वन्धमा आधारित भएकोले सदस्यसँगको आपसी विश्वासका आधारमा सहकारी संस्थाहरुको घनिष्ठ सम्वन्ध छ । सदस्यको दरिलो सम्वद्धता रहेको छ र सञ्चालक समितिमा यूवा नेतृत्वलाई स्थापित गर्ने र यूवा पिँढीलाई सहकारीमा आकर्षित गर्ने श्रीलङ्कन सहकारी अभियानको नीति छ ।

यसका लागि नवप्रविधिको अन्वेषण र प्रयोगमा जोड, यूवा उद्यमशिलता तालिम तथा शिप विकास, पूँजी तथा प्राविधिक सहयोग, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका अतिरिक्त क्रियाकलापमा सहभागितालाई जोड दिइएको छ । परिवर्तित सन्दर्भमा श्रीलंकाली सहकारी अभियान डिजीटाइजेसनको अभियानमा तिव्रतर ढंगले लागेको छ।

डिजीटाइजेसनको अभियानलाई तालीम पाठ्यक्रमका विषयवस्तुमा समावेश गरी अभिमुखीकरण गरिदै आएको छ । राष्ट्रिय सहकारी परिषद श्रीलंकाले डिजीटाइजेसनको अभियानको नेतृत्व गर्दै सहकारीका कारोवार सफ्टवेयर प्रणालीवाट व्यवस्थित गर्ने प्रयासमा जुटेको छ ।

कोफेड अन्र्तरगतका उपभोक्ता तथा वहुउद्देश्यीय संस्थाहरुले सदस्यहरुका उत्पादनहरुको कोपसप मार्फत विक्रि वितरण गर्ने प्रवन्धले उत्पादनको सहज बजारीकरण गरिएको छ । अनलाइन सपिङ्ग आधुनिक वजार व्यवस्थामा आएको नयाँ आयाम हो । तसर्थ, सहकारीका सदस्यका लागि पनि अनलाइन सपिङ्ग प्रमुख रोजाइको विषय नहुने कुरा भएन । कोभिड महामारीमा अनलाइन सेवा झन विस्तार भएको छ । 

उपभोक्ता, कृषि, वजारीकरण, वचत तथा ऋण, ग्रामीण वैकिंङ्ग, दूध, मत्स्य, हाउजिङ्ग, पर्यटन, स्वास्थ्य, हस्तकला आदि क्षेत्रहरुका सहकारीहरुले आफ्ना कारोवारहरु सफ्टवेयर प्रणालीमा व्यवस्थित गर्दै आएका छन् । यी कारणले श्रीलंकाली वृहत्तर अर्थतन्त्रमा जे जस्तो नकारात्मक प्रभाव परेपनि सुक्ष्म अर्थतन्त्रमा त्यसको खास प्रभाव नपरेको देखिन्छ । 

पंक्तिकारको केही श्रीलंकाली सहकारीहरुमा स्थलगत अध्ययन, अवलोकनका क्रममा समेत श्रीलंकाको संकटपूर्ण अर्थतन्त्रका विचमा कसरी सहकारीहरु संस्थाहरु टिके र ग्रामीण भेगमा जनताका आधारभुत आवश्यक्ताका वस्तु तथा सेवा प्रवाहमा भरथेग गरे भनी सहकारीकर्मी, अध्यक्ष तथा व्यवस्थापकहरुसँग जिज्ञासा राखेको थियो ।

उत्तरमा उनीहरुले सदस्यहरुको मासिक भेला गरी पिरमर्काहरुको जानकारी लिने र समाधानका लागि प्रयत्न गर्ने, संस्थागत कार्यप्रगतिवारे जानकारी दिई संस्थाप्रति विश्वस्त तुल्याउने, वजारमा आएको प्रभाववाट वच्न सदस्यसँगको संवाद र सम्वन्ध वलियो वनाउन साझा रणनीति तय गर्ने, सदस्यहरुवाट मासिक नियमित वचत संकलन गर्ने, सुलभ ब्याजदरमा ऋण प्रवाह गर्ने प्रचलनले गर्दा नै संस्थाहरुको समुत्थानशिल शक्ति वलियो भएको पाइयो । विशेषत सदस्यहरुलाई पुर्याएको सेवाका कारण समस्टीगत अर्थतन्त्रको प्रभाव सहकारी संस्थाहरुमा नदेखीएको व्यवस्थापकीय कर्मचारीको भनाइ छ ।

श्रीलंकाका  सहकारी विभागका तत्कालीन रजिष्ट्रार किर्थी गोमेजले अन्तराष्ट्रिय परिस्थिति समेत प्रतिकुल रहेका कारण मुद्रास्फिति वढेकोले श्रीलंकामा आर्थिक समस्या देखिएपनि सहकारी क्षेत्रको कामवाट समस्या समाधानमा सहयोग पुर्याएको वताउनुभयो ।

राष्ट्रिय सहकारी परिषद श्रीलंकाका उपाध्यक्षले सहकारीले ग्रामीण भेगमा सदस्यका आधारभुत आवश्यक्ताका परिपूर्ति गर्दै आएकोले अर्थतन्त्र संकटपूर्ण हुँदा पनि खास गरी उपभोक्ता, कृषि र वित्तिय सहकारीहरुले निर्वाध रुपमा सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभयो ।

विशेषत समिति, कर्मचारी तथा आन्तरिक लेखा परिक्षकका विच दरिलो आन्तरिक नियन्त्रण, तालिम शिक्षा तथा क्षमता विकासका कार्यक्रम सञ्चालन तथा सरकारी निकायवाट नियमनका साथै वार्षिक लेखापरिक्षण गर्नुले पनि कानून, नीतिका आधारमा सुशासित तवरले संस्था सञ्चालन भएको पाइन्छ । यस्ता विशिष्ट अभ्यासवाट संकटका वेला समेत यहाँका सहकारीहरुले आफ्नो दरिलो समुत्थानशिलता देखाउन सफल भएको महशुस हुन्छ ।

उपसंहार

समग्रमा समस्टीगत अर्थतन्त्र र सुक्ष्म अर्थतन्त्र विच आपसी सम्वन्ध रहेता पनि श्रीलङ्काको आर्थिक संकट यहाँको समस्टीगत अर्थतन्त्रमा देखिएका नकारात्मक परिसूचकहरु मानव श्रृजित नीतिगत गल्तीका कारण भएको वुझ्न सकिन्छ । यस्तो अवस्थामा सुधार ल्याउन श्रीलङ्कन सरकारले दह्रो राजनीतिक प्रविद्धताका साथ प्राथमिकतापूर्वक समावेशी आर्थिक पुनरउत्थानको नीति अघि सार्नु पर्दछ ।

दिगो वित्तीय उपकरणहरुको विकास गरी पूँजी वजारमा सहज पहूँच विस्तार गर्ने, करका दरहरु पुनरावलोकन, राजस्व पुरावलोकन, आयात निर्यात नीतिमा सुधार आदि उपायहरु अवलम्वन गर्ने हो भने समस्या समाधान गर्न  गाह्रो छैन ।

अन्तराष्ट्रिय मुद्रा कोष लगायत द्विपक्षिय तथा वहुपक्षिय दाताहरुको सहयोगको प्रतिक्षामा रहेको यहाँको सरकारले प्राप्त हुने सहयोग उल्लेखित सुधारका क्षेत्रमा परिचालन गर्नुपर्दछ । अन्तराष्ट्रिय वजारमा आएको उतारचढाव र देशको वृहत अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको अवस्थामा वृहत अर्थतन्त्रको संरचनागत सुधारका माध्यमवाट भूँइतहका जनताको हित र सुरक्षाका लागि अन्तराष्ट्रिय सहयोग लक्षित हुनु पर्ने आवश्यक्ता त छदैछ ।

प्रतिकुल अर्थतन्त्रको अवस्थामा पनि श्रीलङ्काको सहकारी क्षेत्रले ‘आफ्नै संलग्नतामा स्वयं आर्थिक सेवा घर घर र व्यक्ति व्यक्तिले राष्ट्रलाई टेवा’ को उक्तिलाई चरितार्थ गर्दै ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण भरथेग गरेको भएतापनि समस्टीगत अर्थतन्त्रका नकारात्मक परिसूचकहरुको कुप्रभाववाट अछुतो भने पक्कै छैन ।

स्थानीय स्रोत साधन सहकारीका माध्यमवाट स्थानीय स्तरमै परिचालन हुने हुँदा वाह्य अर्थतन्त्रको नकारात्मक प्रभाववाट यहाँका सहकारी संघ संस्थाहरु कम प्रभावित छन् भन्न सकिन्छ । तर सहकारीहरुले आफ्नो कारोवार पूर्ववत रुपमा निरन्तरता दिनुको पछाडी सिक्नै पर्ने महत्वपूर्ण पाठ प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली हो भनेर वुझ्न कठिन छैन । सदस्यहरुको मासिक संवाद, समिति उपसमिति र व्यवस्थापन आ–आफ्नो काम कर्तव्य अनुसार क्रियाशिल र जवाफदेही रहनुले दह्रो  आन्तरिक नियन्त्रण प्रणाली कायम गरेको छ ।

नियमनकारी निकायवाटै वार्षिक लेखापरिक्षण र नियमित नियमन गरिने हुँदा सम्भावित वित्तिय अनियमितता न्यून गर्न मद्दत मिलेको छ । संस्थाको व्यवसायिक नीति, योजना र कार्यक्रम सदस्य र सञ्चालकहरुको साझा सहभागिता तथा प्रतिवद्धतावाट  तर्जुमा  गरी कार्यान्वयन गरीनुले कारोवारमा दिगोपना आएको देखिन्छ ।

अर्कोतर्फ सेवामा विविधता अपनाइएको र सदस्यहरुले वित्तिय सेवा मात्र नलिई संस्थाका अन्य थुप्रै कल्याणकारी सेवाहरुवाट लाभान्वित भएकोले लाभांशको लोभ र होडवाजी भन्दा सहकारीका कल्याणकारी सेवावाट सदस्यहरु वढि आकर्षित देखिन्छन् । सवैभन्दा महत्वपूर्ण कुरा त स-सानो स्तरको किन नहोस नियमित वचत अनिवार्यतः उठाइनाले आन्तरिक पूँजी निर्माणमा स्थिरता रहेको छ ।

नियमित वचत धितो राखी ऋण दिइने हुँदा वचत फिर्ता गरिदैन तर ऋण अत्यन्त सुलभ दरमा लगानी गरिनाले सदस्यहरुले अन्य वैंक तथा वित्तिय संस्थाको आकर्षक व्याजदरको लोभमा फसी पूँजी पलायन हुने स्थिति रहेन । यसरी सहकारीको वित्तिय कारोवार आफ्नो लयमा चल्ने हुँदा यहाँ तरलता संकटको सहजै सामना गरेको पाउन सकिन्छ । जस्तोसुकै परिस्थितिमा पनि श्रीलंकन सहकारीहरुले समुत्थानशिलता प्रदर्शन गरेका छन् त्यो नेपालको अहिलेको अवस्थामा अनुकरणीय पाठ हुन सक्थ्यो कि !



Leave a comment