चीना थापा, विराटनगर । नारीसंकल्प बचत तथा ऋण सहकारी संस्था उर्लाबारी मोरङकी अध्यक्ष गोमा नेपाल २०५६ सालदेखी सहकारीको सदस्य भइन् । २०६० मा मनकामना बचत तथा ऋण सहकारी संस्था पथरीमा कार्यालय सचिव पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट भई कर्मचारीको रुपमा प्रवेश गरीन् । उनले उक्त सहकारीमा रहेर ३२ महिना ब्यबस्थापकको रुपमा काम गरिन् ।
सहकारीमा कर्मचारीको रुपमा काम गर्न थालेपछि उनले छाता संघ तथा सम्वन्धित निकायहरुले आयोजना गर्ने तालिम गोष्टिमा सहभागि हुने अवसर पाईन् । तालिममा सहभागि भएपछि सहकारी बारेमा ज्ञान सिप र अनुभव हासिल गरिन् । कर्मचारीको रुपमा काम गर्दा उनले सहकारीको बारेमा पूर्ण रुपमा जानकारी लिने अवसर पाईन् । ३२ महिना सहकारीमा काम गरेर निस्कदा उनी सहकारी सञ्चालन गर्न सक्ने क्षमता बनाईन ।
नेपाल सहित केही महिलाहरुले २०६२ सालमा उर्लाबारी गैरसरकारी संस्था दर्ता गरेर सञ्चालन गरेका थिए । उनीहरुले आफ्नो एनजिओ मार्फत ग्रामीण समुदायमा आय आर्जन तथा शशक्तिकरण मार्फत महिलाहरुको जीवन परिवर्तन गर्नुपर्छ भनेर समुदायमा काम गरिरहेका थिए ।
गैरसरकारी संस्था मार्फत महिलाको क्षेत्रमा काम गरिरहेका तिनै महिलाहरु मिलेर २०६३ सालमा स्थानीय महिलाहरु सहित महिला सहकारी संस्था संचालन गरौ भन्ने सल्लाह बमोजिम नारीसंकल्प बचत तथा ऋण सहकारी संस्था सुरु भयो ।
सहकारीमा काम गरेकी नेपाललाई सहकारीप्रति लत नै बसेको थियो । सोही सहकारीमा उनी सचिव,लेखा संयोजक,उपाध्यक्ष हुँदै हाल अध्यक्षको जिम्मेवारमा छिन् ।३९ जना महिलाबाट शुरु भएको संस्थामा हाल ३ हजार २०० महिला आवद्ध छन् ।
२०६६ सालदेखि जिल्ला बचत तथा ऋण सहकारी संघको संचालक सदस्य, उपाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको संयोजकको भुमिकामा काम गरेकी नेपाल २०७३ सालबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को संचालकको रुपमा बचत तथा ऋण अभियानमा निरन्तर लागिरहेकी छिन् ।
सहकारीमा महिलाको सहभागिता भएपनि निर्णायक तहमा कम
सहकारीमा महिला सहभागितापुरुषको भन्दा बढि अर्थात ५६ प्रतिशत छ । महिलाले मात्र संचालन गरेका ४ हजार बढी सहकारीहरु छन् । तरसहकारीका निर्णायक तहमा महिलाहरुको सहभागिता न्यून छ । बिस्तारै महिला सहभागिता बृद्धिका लागि संबैधानिक र कानुनी ब्यबस्था अनुसार पहल भइरहेको नेपालको बुझाइ छ ।
सहकारीले महिलालाई नेतृत्वमा पुर्याएको र यसबाटै सबैखाले महिलाहरु एउटा फोरममा उभिन पाएको उनी वताउछिन् । सहकारीबाटै आफुसँग भएको स–सानो श्रोत तथा पुँजीलाई परिचालन गरेर आय आर्जन तथा सशक्तीकरणमा योगदान पुगेको छ । जसले गर्दा महिलाहरुलाई राज्यका तिनै तहमा,अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेतृत्वमा पुग्न सफल भएको उनको भनाइ छ ।
वास्तविक समस्या भन्दा पनि बजार हल्लाले बदनाम
बिश्वब्यापी रुपमा देखिएको तरलता संकटका कारण सहकारीहरु पनि समस्यामा छन्। तर, समस्यामा पर्ने सहकारीहरु समुदायमा आधारित थिएनन । उनीहरुले सहकारीको नाममा अन्य काम गरिरहेका थिए । संचालक वा तिनका आफन्तले ठूलो मात्रामा संस्थाको पुँजी चलाएका कारण सहकारीमा समस्या आएको नेपालको बुझाइ छ ।
उनी भनिन्छन् : केही बदमासी भएकै हो तर, बजारमा आएको हल्ला र मानिसलाइ हतोत्साहित बनाउने कुरा चाहिँ थोरै–थोरै जम्मा गरेको पैसा एकैपटक सयौको संख्यामा फिर्ता हुनु हो । वास्तविक समस्या भन्दा पनि बजार हल्लाले सहकारीलाई बदनाम गराउन खोज्ने केही पात्र र प्रवृत्तिको कारणसहकारीमा असरहरु देखिएका छन ।
यो अवस्थामा अभियान एक ढिक्का भएर आफ्ना सदस्यलाई कन्भिन्स गर्नुपर्छ । आफू मालिक भएको संस्थाको अहित कुनै सदस्यले चाहदैन । जो सम्वन्धित संस्थाको सदस्य होइन उसलाई संस्था बिग्रदा वा सप्रदा केही फरक पर्दैन ।
सहकारीले धेरै राम्रा कामहरु भन्दै नेपालले उदाहरण प्रस्तुत पनि गरिन् : हिजोको दिनमा भन्दा आज सर्बसाधारणसँग पनि थोरबहुत भएपनि बचत छ । बचतका कारण परिवारसँग पुर्ण आश्रीत हुनुपर्दैन । सामाजिक हैसियत उच्च भएको छ । सांस्कृतिक सद्भाव पनि वृद्धि भएको छ,धनी र गरिव एकै फोरममा सहभागी हुन पाएका छन् ।
जसको कोहि छैन उसको साथी,अविभावक सहकारी भएको छ । गाह्रो साह्रो र अफ्ठ्यारोमा साहुमहाजनसँग हात पसार्नुपर्दैन, आफ्नो श्रोतलाई उपयोग गर्न पाइएको छ । केहिले प्रत्यक्ष रोजगारी पाएका छन्भने धेरै महिलाहरु उद्यमी बनेकाछन् । देशमै बसेर केही गर्छु भन्नेहरुलाइ उद्यम गर्नका लागि श्रोत प्राप्त भएकोछ ।
Leave a comment