काठमाडौं । सहकारी विभागका तत्कालिन रजिष्ट्रार झलकराम अधिकारीले जारी गरेको एकिकृत निर्देशन रजिष्ट्रार रुद्र प्रसाद पण्डितले परिमार्जन गर्ने भएका छन् ।
सरुवा भइसकेपछि पनि आफ्नो नाममा काम देखाउनका लागि अधिकारीले हतार हतार एकिकृत निर्देशन जारी गरेकोमा असन्तुष्ट रजिष्ट्रार पण्डितले एक साता नवित्दै परिमार्जनको प्रक्रिया अघि बढाएका छन् ।
विभागले शुक्रबार नै सार्वजनिक सूचना जारी गर्दै एकिकृत निर्देशन परिमार्जनका लागि सुझाव समेत मागेका छन् । सहकारी ऐन, नियामावली, सम्पति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन बाहेकका विषयहरुमा सरोकारवालाहरुसँग थप छलफल तथा परामर्श पश्चात परिमार्जन सहित पुन निर्देशन जारी गरिने विभागको सूचनामा उल्लेख छ ।
एकिकृत निर्देशन जारी भएको एक साता नवित्दै परिमार्जनको प्रक्रिया अघि बढाएसँगै निर्देशन लागू हुनेमा शंका उत्पन्न भएको छ । तत्कालिन रजिष्ट्रार अधिकारीको माघमै सरुवा भएपनि रमाना नलई फागुन एक गते एकिकृत निर्देशन जारी गरेका थिए ।
फागुन एक गते नै पण्डितले पनि रजिष्ट्रारको कार्यभार सम्हालेका थिए । सरुवा भइसकेपछि पनि आफ्नो नाममा काम देखाउन अधिकारीले एकिकृत निर्देशन जारी गरेको भन्दै नवनियुक्त रजिष्टार पण्डितले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठसँग समेत गुनासो गरेका थिए ।
रजिष्ट्रार अधिकारीले भने आफ्नो इच्छा नहुँदा नहुदै सरुवा गरिएको भन्दै असन्तुष्ट भएका थिए । जुन कुरा उनीले सामाजिक संजाल फेसबुकमार्फत समेत संकेत गरेका थिए । सामाजिक संजाल फेसबुकमा अधिकारीले भारी मनमा साथ विदाई हुन लागेको र केहि विषयमा सम्झौता गर्न आफुले नसकेको बताएका थिए ।

Leave a comment