हाइलाइट

सहकारी संस्था नविकरणगर्न पचास प्रतिशत दस्तुर लाग्ने, संचालक र कार्यकारीको पनि तोकियो योग्यता

सहकारी संस्था नविकरणगर्न पचास प्रतिशत दस्तुर लाग्ने, संचालक र कार्यकारीको पनि तोकियो योग्यता :: Sahakari Akhabar

काठमाडौं । राट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड ०८३ जारी गरेको छ । प्राधिकरणले सहकारीको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ लाई संशोधन गरी सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण (सातौं संशोधन) मापदण्ड, २०८३” जारी गरेको हो ।

अभिलेखिकरणमा संस्थाको नवीकरण दस्तूर सहकारी नियमावलीमा तोकिएको भएमा सो बमोजिम र नतोकिएमा संचालन इजाजतपत्रको लागि तोकिएको दस्तुरको पचास प्रतिशत लाग्ने उल्लेख छ । त्यसैगरी सहकारी संस्थाका संचालक, पदाधिकारी तथा प्रमुख कार्यकारीको योग्यता तथा अनुभव सम्बन्धी व्यवस्था गरेको छ ।

ब्यवस्थामा संस्थाका संचालक, पदाधिकरी तथा प्रमुख कार्यकारी पदमा रहने व्यक्तिहरुको योग्यता, अनुभव सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नु गराउनु पर्ने उल्लेख छ । योग्यता र अनुभव सम्बन्धी विवरण सहकारी संस्थाले एकिन गरी गराई सोको प्रमाणित हुने कागजातहरु तयार गरी संस्थामा अभिलेख राख्नु पर्ने जनाएको छ ।

योग्यतामा २१ वर्ष उमेर पूरा भएको, पाँच करोड रुपैयाँ सम्म कूल सम्पत्ति वा दायित्व भएको संस्थाको अध्यक्ष, सचिव र कोषाध्यक्ष पदको लागि कम्तिमा १० कक्षा उत्तीर्ण गरी सहकारी संस्थाको कुनै समितिमा रही कम्तिमा एकवर्ष कार्यानुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

त्यसैगरी पाँच करोड रुपैयाँ भन्दा बढी कूल सम्पत्ति वा दायित्व भएको संस्थाको अध्यक्ष, सचिव र कोषाध्यक्ष पदको लागि कम्तिमा बाह्र कक्षा उतीर्ण गरी सहकारी संस्थाको कुनै समितिमा रही कम्तिमा दुई वर्ष कार्यानुभव हासिल गरेको हुनुपर्ने जनाएको छ ।

पच्चिस करोड रुपैयाँसम्म कूल सम्पत्ति वा दायित्व भएको संस्थाको व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृतको पदको लागि व्यवस्थापन, वाणिज्यशास्त्र वा वित्त विषयमा न्यूनतम दशजोड दुई उत्तीर्ण गरेको हुनुपर्ने उललेख छ ।

पच्चिस करोड भन्दाबढी कूल सम्पत्ति वा दायित्व भएको संस्थाको व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृतको पदको लागि व्यवस्थापन, वाणिज्यशास्त्र वा वित्त विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको र बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा कम्तिमा दुई बर्ष कार्य गरेको हुनुपर्ने छ ।

फौजदारी अभियोगमा सजाय नपाएको, पाएको भए कसूर बमोजिमको सजाय भुक्तान भएको न्यूनतम तीन बर्ष पूरा भएको, बैंकिङ्ग तथा वित्तीय कसूरमा सजाय नपाएको, पाएको भए कसूर बमोजिमको सजाय भुक्तान भएको न्यूनतम तीन बर्ष पूरा भएको, कालो सूचिमा नपरेको, परेको भएमा कालो सूचिबाट हटेको तीनवर्ष पूरा गरेको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

त्यसैगरी संस्थाको रकम हिनामिना नगरेको, निष्क्रिय अवस्थामा नरहेको वा समस्याग्रस्त घोषणा हुँदा त्यस्तो संस्थाको संचालक नरहेको स्वघोषणा,माथि उललेखित बमोजिमको व्यहोरा प्रहरी प्रतिवेदनबाट र कालो सूचिसम्वन्धि बमोजिमको व्यहोरा कर्जा सूचना केन्द्रबाट प्रमाणित भएको कागजातहरु प्राधिकरणको विद्युतीय प्रणालीमा समेत अपलोड गर्नुपर्नेछ ।

संस्थाको इजाजतपत्र जारी वा ऐनको दफा १६ को उपदफा (८) प्रारम्भ भएपश्चात् पहिलोपटक नवीकरणको लागि प्राधिकरणको विद्युतीय प्रणालीमा विवरण प्रविष्टि गर्दा संस्थाले उपदफा (२) बमोजिम योग्यता तथा अनुभव एकिन गरिएको प्रमाणित हुने कागजातहरु संस्थामा अभिलेख राख्नुपर्नेछ र संस्थाले उपदफा (२) बमोजिम योग्यता तथा अनुभवको स्वघोषणा व्यवस्थापकबाट प्रमाणित गरी प्राधिकरणको प्रणालीमा अपलोड भए पछि ऐनको दफा १६ को उपदफा (८) बमोजिम योग्यता र अनुभव (फिट एण्ड प्रोपर टेस्ट) सम्बन्धी मापदण्ड पूरा भएको मानिने हुँदा संस्थाको व्यवस्थापकले स्वघोषणा प्रमाणित गर्दा उपदफा २ बमोजिमका सम्पूर्ण विवरणहरु पछिसम्म फरक नपर्ने गरी एकिन गरी प्रमाणित गर्नु पर्ने छ । एकपटक फिट एण्ड प्रोपर टेस्टका लागि कागजात अपलोड गरेका सञ्चालकको हकमा संस्थाले नवीकरण गर्दा पुनः कागजात अपलोड गर्नुपर्ने छैन ।



Leave a comment