काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा चौरीदेउराली गाउँपालिका–३ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शैलुङेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सह–आयोजना तथा रेयुकाई एईको मासुंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार आयोजित शिविरमा १३० जनाभन्दा बढीले आँखा परीक्षण गराएका छन् ।
जिल्ला सहकारी संघ काभ्रेले सहकारी संस्थाको व्यवसायिक भूमिकासँगै समुदायप्रतिको सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ । सोही क्रममा स्वास्थ्य संस्थासँग सहकार्य गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको संघको भनाइ छ ।
शिविरबाट आँखा परीक्षणमा सीमित नरही मोतीबिन्दु पहिचान भएका बिरामीलाई निःशुल्क शल्यक्रियासहितको उपचार सेवासँग जोडिएको छ। यसले चौरीदेउराली क्षेत्रका नागरिकलाई समयमै आँखा रोग पहिचान र उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जिल्ला सहकारी संघ काभ्रे र रेयुकाई एईको मासुंगा आँखा अस्पतालबीच भएको मोतीबिन्दुको निःशुल्क उपचारसम्बन्धी द्विपक्षीय सम्झौताअनुसार शिविर सञ्चालन गरिएको हो । शिविरमा सहभागीको आँखा परीक्षणसँगै आँखासम्बन्धी समस्या, उपचार विधि र आवश्यक सावधानीबारे स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो ।
आँखा परीक्षणका क्रममा मोतीबिन्दुको शल्यक्रिया आवश्यक पर्ने बिरामीसमेत पहिचान भएका छन् । पहिचान भएका बिरामीको मोतीबिन्दुको शल्यक्रियासहित आवश्यक उपचार रेयुकाई एईको मासुंगा आँखा अस्पतालले निःशुल्क गर्ने व्यवस्था गरिएको संघले जनाएको छ ।
ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले गाउँमै शिविर आयोजना गरिएको हो। शिविरमा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। यसबाट नियमित स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुने स्थानीयले आफ्नो बस्तीमै आँखा परीक्षण तथा चिकित्सकीय परामर्श प्राप्त गरेका छन् ।
Leave a comment