हाइलाइट

सामूहिक साकोसको २८औँ वार्षिक साधारण सभामा सदस्य सम्मानित

सामूहिक साकोसको २८औँ वार्षिक साधारण सभामा सदस्य सम्मानित :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । भक्तपुरको भुँलाचास्थित शुभकामना पार्टी प्यालेसमा शनिबार सम्पन्न साधारण सभामा संस्थाको प्रगति, सहकारी क्षेत्रका समसामयिक चुनौती तथा ऋण व्यवस्थापनलगायतका विषयमा छलफल गरिएको थियो ।

संस्थाका अध्यक्ष राजाभाई भेले श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाको उद्घाटन ज्येष्ठ सदस्य शिवजी हाडाले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णहरि सैँजुले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाका अवसरमा आर्थिक वर्ष २०८२ / ८३ मा संस्थाप्रति योगदान पुर्याउने उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

संस्थासँगको सदस्यहरूको निरन्तर आबद्धता र योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूलाई सम्मान गरिएको संस्थाले जनाएको छ । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा ज्येष्ठ सदस्य शिवजी हाडाले संस्थाको निरन्तर प्रगति र सफलताले सदस्यहरूमा समेत गर्व र विश्वासको भावना बढाउने उल्लेख गरे । संस्थाको विकास र उपलब्धिमा सदस्यहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

संस्थाका निवर्तमान अध्यक्ष धनेशराज राजोपाध्यायले वर्तमान अवस्थामा सहकारी संस्थाहरूका लागि खराब ऋण व्यवस्थापन महत्वपूर्ण चुनौतीका रूपमा रहेको बताउँदै यसलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिए । ऋण असुली तथा जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन सके संस्थाको वित्तीय स्वास्थ्य थप मजबुत बन्ने उनले जनाए ।

साधारण सभामा सहकारी क्षेत्रका विज्ञहरूबाट समसामयिक विषयमा विशेष प्रस्तुतीकरणसमेत गरिएको थियो । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक कृष्ण गोविन्द लाखाजु तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी ऐन, नियम तथा संस्थाको सञ्चालनमा देखिएका व्यावहारिक चुनौतीका विषयमा प्रस्तुतीकरण तथा धारणा राखेका थिए ।



Leave a comment