काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा पाँचौँ ललितपुर साकोस समिट आज (शुक्रबार ) देखि सुरु भएको छ । समिटको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले उद्धघाटन गरेका थिए ।
संघका अध्यक्ष रामहरी बजगाईको अध्यक्षतामा सुरु भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेमबहादुर पाठक, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, सहकारी बैंकका संचालक परितोष पौड्या, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, काठमाडौ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिपक पनेरुललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारी सुधारमा आत्मसमीक्षा आवश्यकः पाठक
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेमबहादुर पाठकले ललितपुर बचत तथा ऋण सहकारी संघ बलियो भएकै कारण समिट आयोजना गर्न सम्भव भएको बताए । दुईदिने समिटबाट निस्कने निष्कर्षले मुलुकभर सहकारी अभियानलाई सकारात्मक सन्देश दिनुपर्ने उनको भनाइ थियो ।
सहकारी संस्थामा आवश्यक ज्ञान, वित्तीय पारदर्शिता, सक्षम सञ्चालक तथा कर्मचारी र प्रभावकारी लेखा समितिको अभावले समस्या देखिएको उनले बताए । सहकारी शिक्षा प्रत्येक सञ्चालक र सदस्यका लागि आवश्यक रहेको उल्लेख गर्दै उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
सरकारले सहकारी दर्ता गरे पनि प्रभावकारी नियमन गर्न नसक्नु समस्या भएको बताउँदै पाठकले समयअनुकूल कानुन निर्माण र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । सहकारी अभियानले आफ्ना कमजोरीसमेत स्वीकार गरी सुधार गर्न सके सरकारसँगको सम्बन्ध पनि थप प्रभावकारी बन्ने उनको भनाइ थियो ।
सात विषयमा कार्यपत्र र सामूहिक छलफल
समिटमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक डा। परितोष पौडेलले बचत तथा ऋण सहकारी अभियान दर्शन र सिद्धान्तबाट निर्देशित हुनुपर्ने बताए । सहकारीलाई शान्ति र समृद्धिको माध्यमका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै उनले अभियानलाई निषेध गर्नेभन्दा व्यवस्थित बनाउने गरी नीति निर्माण गर्नुपर्ने धारणा राखे ।
बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले सहकारी अभियानको सरकारसँगको नीतिगत संवाद कमजोर भएको स्वीकार गर्दै सुधारका लागि जिल्ला तहसम्म जागरण अभियान सञ्चालन गर्नुपर्ने बताए । बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले सहकारीलाई अन्य वित्तीय संस्थासँग एउटै दृष्टिले हेर्न नहुने बताउँदै सहकारीसम्बन्धी कानुन निर्माणमा अभियानसँग पर्याप्त छलफल हुनुपर्ने माग गरे ।
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दीपक पनेरुले सहकारी क्षेत्रमाथि बढेको अविश्वास हटाउँदै संस्थागत सुधारका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए । ललितपुर बचत संघका अध्यक्ष रामहरी बजगाईँले ललितपुरका सहकारी संस्थालाई लक्षित गरी समिट आयोजना गरिएको बताए । संघ स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै उनले संघको वित्तीय सूचक बलियो भए पनि कानुनी व्यवस्थाका कारण बचत तथा ऋणको कारोबार क्रमशः घटाउँदै लगिएको जानकारी दिए ।
संघले संस्थाहरूलाई स्तरीकरणमार्फत बलियो बनाउने उद्देश्यले ‘अम्ब्रेला कार्यक्रम’ सञ्चालनमा ल्याएको र पहिलो वर्ष ४० संस्थालाई सहभागी गराउने लक्ष्य रहेको उनले बताए । सहकारीका समस्या दबाएर समाधान नहुने भन्दै संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकारसँग उनले आग्रह गरे ।
समिटमा करिब १५० प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधि सहभागी छन् । सहकारी क्षेत्रको ऋण असुली, राष्ट्रिय सहकारी नियमन, ऋण असुली न्यायाधिकरण तथा संघ, प्रदेश र स्थानीय तहको भूमिकालगायतका विषयमा सामूहिक छलफल हुने आयोजकले जनाएको छ ।
‘दिगो साकोस अभियानः प्रविधि रूपान्तरण र हस्तान्तरण’ भन्ने मूल विषयमा आयोजित समिट शनिबारसम्म सम्पन्न हुनेछ । समिटमा सात विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनुका साथै सामूहिक छलफलका सत्र सञ्चालन हुनेछन् । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्रचार्यले स्वागत मन्तब्य राखेका थिए भनेसचिव श्यामकृष्ण महर्जनले सञ्चालन गरेका थिए ।
Leave a comment