काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) आज विविध कार्यक्रम गरी ३९ औं स्थापना दिवस मनाएको छ । प्रदेशगत कार्यक्रम गरी स्थापना दिवस मनाएको संघले काठमाडौंमा गरेको कार्यक्रममा विभिन्न सहकारी संघसंस्था तथा ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।
संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य ज्ञानु पौडेल, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक रामकुमार महतो, सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बाबुराम गौतम, राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेल, समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतमले शुभकामना ब्यक्त गरेका थिए ।
संसद पौडेलले नीति निर्माण तहमा सहकारी प्रति साझा बुझाई नभएको बताइन् । उनले मूलुकमा सहकारीहरुले राम्रा काम गरेका छन् भन्ने कुरा नीति निर्माताहरुलाई बुझाउन आवश्यक रहेको बताइन् । सहकारीले कुल गार्हस्थ उत्पादन, राजश्व, रोजगारी सृजना, सिमान्तकृत समुदायमा ल्याएको परिवर्तन, महिला नेतृत्व र सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा गरेको योगदानलाई बुझाउन नसक्नु अभियानको कमजोरी भएको बताइन् ।
३२ हजार सहकारीमा कति समस्याउन्मुख र कति समस्याग्रस्त छन् भनेर मात्र चर्चा र छलफल हुन्छ त्यस्तो भ्रमलाई अभियानले चिर्न आवश्यक रहेको संसद पौडेलको भनाइ थियो । संघहरुले गर्दै आएको वित्तीय कारोबारमा पनि संस्था सुशासन र जोखिमको विषयलाई लिएर धेरै छलफल भएको र अन्तिम विकल्पको रुपमा तीन बर्षभित्र नयाँ बैंक बन्ने वा हालको सहकारी बैंकमा मर्ज हुनसक्नेगरी कानुनी व्यवस्था गरिएको उनले स्पष्ट पारिन् । सहकारीमा स्वःनियमनको पाटो मर्न हुँदैन र संघहरुलाई छनोट गर्ने अधिकार दिनुपर्छ भनेर ऐनमा यो व्यवस्था गरिएको उनले जनाइन् ।
दक्षिण एसियाकै अब्बल सहकारी संस्था पनि नेपालमा रहेको भन्दै उनले सहकारीका नीति निमार्णकर्तालाई ‘बेष्ट प्राक्टिस’ के हो भनेर बुझाउन आवश्यक रहेको बताइन् । सरकारले बचत तथा ऋण सहकारीका लागि छुट्टै प्राधिकरण ऐन बनाउन लागेकाले त्यसमा अभियानको तर्फबाट सही सुझाव दिन उनको सल्लाह थियो ।
संसद पौडेलले सहकारीमा धेरै राजनीतिकरण भएको भन्दै अब सदस्यहरुलाई प्राथमिकतामा राखि वित्तीय पहुँच अभिवृद्धि, आर्थिक सशक्तिकरण र सदस्यको सेवाको विषयमा सञ्चालक र व्यस्थापनले सोच्नसके सुशासन त्यहिँबाट सुरु हुने उनको भनाइ छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक महतोले अन्तर्राष्ट्रिय क्षेत्रमा भएका असल अभ्यासलाई नेपालका सहकारीमा आन्तरिकिकरण गर्ने काम नेफ्स्कूनले गरेको बताए । सहकारी क्षेत्रको नीतिगत सुधारका लागि बहस पैरवीका साथै सदस्यहरुको जीवनस्तर परिवर्तन ल्याउन खेलेको भूमिका सह्रानिय रहेको उनले जनाए ।
बचत ऋण सहकारीमा नेफ्स्कूनले असल अभिभावकत्व निर्वाह गर्दै आएको भन्दै महतोले परिर्वतित नीतिगत व्यवस्थाले संघहरुको हकमा दिशानिर्देश गरेको र सोही अनुसार अघि बढ्न उनको आग्रह छ । देशको कानुन अनुसार नेफ्स्कूनले आफुलाई परिमार्जित गर्दै जानुपर्ने भन्दै उनले कुन विकल्प उपयुक्त हुन्छ, त्यसलाई रोज्नसकिने उनले जनाए ।
सहकारी रजिष्ट्रार गौतमले संशोधित ऐन अनुसार संघहरु अगाडि बढ्नुपर्ने बताए । बचत ऋण सहकारी संस्थाहरुमा संस्थागत सुशासन कायम गराउन र असल अभ्यासहरु आदानप्रदान गर्ने काममा नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले सन्दर्भ ब्याजदर पुनरावलोकन र संघहरुले गर्दै आएको वित्तीय कारोकारलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा कार्यालयले छलफल थालेको जनाए ।
राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष पोखरेलले बचत ऋणको कारोबार जोखिमको कारोबार भएको भन्दै जोखिमको कारोबार गर्ने संघसंस्थामा सोही अनुसारको व्यवस्थापकिय क्षमता, निर्णय क्षमता, टिम निर्माण र कार्ययोजना तर्जुमा गरेर अगाडि बढ्नुपर्ने बताए । उनले सदस्यहरुको आर्थिक तथा सामाजिक विकासकालागि सोही अनुसारको कार्ययोजना अपनाउन आवश्यक रहेको भन्दै संकटमोचन गर्नसक्ने क्षमताका साथ नेफ्स्कूनलाई अगाडि बढाउन शुभकामना दिए ।
सम्मानः
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले स्थापना दिवसको अवसरमा विभिन्न व्यक्ति तथा संघसंस्था लाई सम्मान गरेको छ । संघले ३९औँ स्थापना दिवसका अवसरमा साउन ३१ गते बचत तथा ऋण सहकारी अभियानमा योगदान पुर्याएका व्यक्ति तथा संघसंस्था लाई सम्मान गरेको हो ।
संघले नेफ्स्कून जीवनपर्यन्त निष्पादन (उपलब्धि) सम्मान स्वर्गीय कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गरेको छ । त्यस्तै, नेफ्स्कून संस्थापक अध्यक्ष पुरस्कार एकीकृत फ्रेन्डसिप साकोसका अध्यक्ष भूमीराज खड्कालाई प्रदान गरेको छ ।
नेफ्स्कून राइफाइसन क्रेडिट युनियन पुरस्कार सिक्ट्याबका डा.डि.रविलाई प्रदान गरेको छ भने नेफ्स्कून विद्वता सम्मान धनगढी, कैलालीकी डा. रुपा जोशीलाई प्रदान गरेको छ । त्यसैगरी नेफ्स्कून अग्रज व्यक्तित्व सम्मानबाट नेफ्स्कूनका पूर्व सञ्चालक न्हुच्छे नारायण श्रेष्ठ र पूर्व लेखा सुपरिवेक्षण समिति सदस्य शुभद्रा देवी महतोलाई सम्मान गरेको छ ।
त्यसैगरी संस्थागत उत्कृष्टता अन्तर्गत नेफ्स्कून सर्वोत्कृष्ट संघ सम्मान रौतहट जिल्ला बचत संघ, नेफ्स्कून सर्वोत्कृष्ट संस्था सम्मानमा राष्ट्रियतर्फ मध्य नेपाल साकोस, नवलपुर र राष्ट्रिय महिलातर्फ महिला सेवा साकोस, भक्तपुरलाई प्रदान गरिएको छ।
त्यसैगरी, नेफ्स्कून सर्वोत्कृष्ट व्यवस्थापक सम्मान राष्ट्रियतर्फ स्रोत परिचालन साकोस, धादिङका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपाललाई प्रदान गरिएको छ । नेफ्स्कून उत्कृष्ट कर्मचारी पुरस्कार नेफ्स्कूनका व्यवसाय अधिकृत राजेन्द्र ढकाललाई प्रदान गरिएको छ भने नेफ्स्कून पत्रकारिता पुरस्कार राजधानी राष्ट्रिय दैनिकका समाचार संयोजक अमृतनाथ तिमल्सिनालाई प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रियस्तरको सम्मानतर्फ ओक्कु डिजिटल वर्थसम्मान –२०२६ चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था काठमाडौंलाई प्रदान गरिएको छ । त्यस्तै, नेफ्स्कून उत्कृष्ट सेवा सञ्चालन प्रशंसा (प्रविधितर्फ) झझल्को साकोस, भक्तपुरलाई प्रदान गरिएको छ ।
प्रदेशस्तरीय उत्प्रेरणा अभिनन्दन सम्मानअन्तर्गत सातै प्रदेशका जिल्ला बचत तथा ऋण सहकारी संघलाई सम्मान गरिएको छ । त्यसैगरी नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट संस्था सम्मानतर्फ पनि सातै प्रदेशका उत्कृष्ट सहकारी संस्थालाई सम्मान गरिएको छ ।
कोशी प्रदेशबाट गोरखा साकोस सुनसरी, मधेस प्रदेशबाट पालनपोषण साकोस, बारा, बागमती प्रदेशबाट सुरक्षित साकोस चितवन सम्मानित भएका छन् । त्यसैगरी गण्डकी प्रदेशबाट पौरखी साकोस नवलपुर, लुम्बिनी प्रदेशबाट किसान कमैया साकोस बर्दिया, कर्णाली प्रदेशबाट शुभ साकोस, सुर्खेत तथा सुदूरपश्चिम प्रदेशबाट कञ्चन झलारी साकोस, कञ्चनपुर सम्मानित भएका छन् ।
यसैगरी, नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापक पुरस्कारअन्तर्गत पनि सातै प्रदेशका व्यवस्थापकलाई सम्मान गरिएको छ । कोशी प्रदेशबाट समसेवन साकोसकी व्यवस्थापक जर्मन कुमारी राई, मधेस प्रदेशबाट चन्द्रोदय साकोसका व्यवस्थापक शुभ नारायण चौधरी, बागमती प्रदेशबाट हातेमालो साकोसकी व्यवस्थापक रमला कुमारी सापकोटा र गण्डकी प्रदेशबाट सार्दिखोला साकोसका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज आचार्य सम्मानित भएका छन् ।
यसैगरी, लुम्बिनी प्रदेशबाट लुम्बिनी साकोसका व्यवस्थापक बिनोद प्रताप जवरा, कर्णाली प्रदेशबाट भविश्य उज्ज्वल साकोसका व्यवस्थापक विनोद वली तथा सुदूरपश्चिम प्रदेशबाट एकता साकोसकी व्यवस्थापक चित्रा कुमारी पाण्डेयलाई नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापक पुरस्कार प्रदान गरिएको छ ।
Leave a comment