काठमाडौं । बागमती प्रदेश सहकारी संघले वृक्षारोपण गरी सातौं स्थापना दिवस मनाएको छ । संघले साउन १३ गते स्थापना दिवसको अवसरमा नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं ४ रानीपौवामा वृक्षारोपण गरेको हो । ककनी गाउँपालिका र जिल्ला सहकारी संघ नुवाकोटको समन्वय रहेको कार्यक्रमको संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले अध्यक्षता गरेका थिए।
कार्यक्रममा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङको प्रमुख आतिथ्यता, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठक र सञ्चालक टेक प्रसाद चौंलागाईंको विशेष आतिथ्यता रहेको थियो । प्रदेश सहकारी अधिकृत रामप्रसाद गजुरेल, जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष शिवप्रसाद अधिकारी, नेपाल कृषि सहकारी केन्द्रीय संघकी लेखा समिति सदस्य पवित्रा घिमिरे लगायतको आतिथ्यता रहेको कार्यक्रम संघका सचिव देवराज न्यौपानेले संचालन गरेका थिए ।
प्रमुख अतिथि तामाङले गाउँपालिका परिसर भित्र वृक्षरोपण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए भने अन्य अतिथि र सहभागिहरुले संगै वृक्षारोपण गरेका थिए । डिभिजन वन कार्यालय नुवाकोटको समन्वयमा विभिन्न प्रजातीका १ सयवटा विरुवाहरु रोपिएको थियो । कार्यक्रममा नुवाकोट जिल्लाका सहकारीकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै ककनी गाउँपालिकाका अध्यक्ष तामाङले अबका दिनमा सहकारी अभियानमा शुध्दीकरणका लागि खालि बचत तथा ऋणमा मात्र केन्द्रित नभई छाता संघहरुले यस किसिमको सामाजिक कार्यमा समेत लाग्नुपर्ने धारणा राखे ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकले सहकारीका छाता संघहरुले अरुले के गरे भनेर लाग्नु भन्दा पनि आफुले राम्रो गरेर देखानुपर्ने बताए । सहकारीका संघहरुले खालि बचत उठाउने र ऋण लगानी गर्ने कार्य मात्र गर्दा आज यो अवस्था आएकाले आगामी दिनमा संघहरुको भुमिका तल्लो स्तरमा रहेका प्रारम्भिक सहकारीहरुको स्तर उन्नतीमा हुनुपर्ने बताए ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौंलागाईंले सहकारीले पर्यावरणलाई जोगाई भावी सन्ततीलाई स्वच्छ वातावरण प्रदान गर्नका लागि यस किसिमको कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका अधिकृत गजुरेलले बागमती प्रदेश सहकारी संघले सहकारीको विकास र प्रवर्धनलाई केन्द्रमा राखेर प्रदेश भरिका १३ वटै जिल्लामा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे ।
जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष शिव प्रसाद अधिकारीले नुवाकोट जिल्लाको सहकारी अभियानमा अोझेल परेको ककनी गाउँपालिकामा यस किसिमको भव्य कार्यक्रम आयोजना गरि जिल्ला सहकारी संघलाई समन्वय गर्ने अवसर प्रदान गरेकोमा प्रदेश संघलाई धन्यवाद् ज्ञापन गरेका थिए ।
प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले संघले प्रत्येक वर्ष श्रावण १३ गते स्थापना दिवसको अवसरमा प्रदेशका विभिन्न जिल्लाहरुमा अभियानको रुपमा वृक्षारोपण गर्ने गरिएको र यस पटक नुवाकोट जिल्लालाई छनोट गरि आजको कार्यक्रम आयोजना गरिएको जानकारी गराए । नुवाकोट जिल्लाको विभिन्न प्रकृतिका सहकारी संघसंस्थाबाट ५७ जनाको सहभागिता रहेको संघका ब्यवस्थापक रुपक घिमिरेले जानकारी दिए ।
Leave a comment