काठमाडौं । राष्ट्रिय सहकारी बैंकका ९१ प्रतिशत सदस्य ऋण पहुँच बाहिर रहेको पाइएको छ । बैंकका जम्मा सदस्यको ९ प्रतिशत सदस्यले मात्र ऋण सुविधा उपभोग गर्न पाएको देखिएको हो । बैंकले आर्थिक वर्ष ०८२ / ०८३ को असार मसान्तसम्म जम्मा सदस्यको ९ दशमलव १५ प्रतिशत सदस्यमा मात्र ऋण लगानी गरेको छ ।
बैंकले उक्त सदस्यमा १५ अर्व ६३ करोड २५ लाख ७९ हजार रुपैंयाँ लगानी भएको जनाएको छ । बैंकमा १६ हजार ५३५ सदस्य रहेको र त्यसमध्ये १ हजार ५१३ संस्थालाई मात्र ऋण लगानी गरेको जनाएको छ । बैंकसंग ६९.३० प्रतिशत तरलता रहेको छ ।
सामान्यतय सहकारी संघसंस्था वा बैंकले ऋण लगानी गर्दा कूल सदस्यको तीस प्रतिशत सदस्यले ऋण उपभोग गरेको हुँदा जोखिम रहित संस्थाका रुपमा हेर्ने गरिएको छ । एउटै सदस्यलाई ऋणको भार बढी हुँदा र एकै सदस्यलाई धेरै ऋण लगानी हुँदा संस्था जोखिममा पर्नसक्ने विज्ञहरुको भनाइ छ ।
बैंकले सार्वजर्निक गरेको ०८३ साल असार मसान्तसम्मको वित्तीय विवरण अनुसार उक्त आर्थिक वर्षको अन्त्यसम्म २ अर्व ९३ करोड ९३ लाख ५१ हजार सेयर पूँजी, १ अर्व ४७ करोड ३१ लाख ४२ हजार जगेडा कोष तथा ११ करोड ९८ लाख ४७ हजार अन्य कोषहरु रहेको जनाएको छ ।
४६ अर्व १५ करोड ८३ लाख २३ हजार बचत रहेको बैंकको १ अर्व ४७ करोड ३१ लाख ४२ हजार संस्थागत पूँजी रहेको जनाएको छ । बैंकसंग ३१ अर्व९८ करोड ९३ लाख ९० हजार तरलता रकम रहेको छ भने, ५८ अर्व ३१ करोड ८२ लाख ७२ हजार कूल सम्पती रहेको जनाइएको छ ।
Leave a comment