हाइलाइट

तीनदलको सहमती तोड्दै सहकारी बैंक, विज्ञ सदस्यका लागि विज्ञापन

तीनदलको सहमती तोड्दै सहकारी बैंक, विज्ञ सदस्यका लागि विज्ञापन :: Sahakari Akhabar

काठमाडौं । निर्वाचनमा राजनीतिक दलको चरम हस्तक्षेपकोे उदाहरण बनेको सहकारी बैंकले पछिल्लो समय भने दलको सहमति तोडेको छ । सहकारी बैंकको निर्वाचनमा संचालक र लेखासमितिको दलगत भागवण्डा लगाएर संचालक चयन भएपछि बिवादित बनेको बैंकले विज्ञ संचालकको लागि भने दरखास्त आह्वान गरेको छ ।

संचालक समितिले चयन गर्ने विज्ञ संचालक खुल्ला प्रतिस्पर्धाबाट चयन गर्न दरखास्त आह्वान गरेसंगै राजनीतिक दलको सहमति तोडेको हो । निर्वाचन अगावै बैंकको संचालक, विज्ञ संचालक तथा लेखा समिति पदका लागि तीन राजनीतिक दलले सहमति गरेर भागवण्डा गरेका थिए ।

पुराना तीन राजनीतिक दल, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले सहमति गरी संचालक र विज्ञ संचालक समेत भागवण्डा गरेका थिए । तीनदलले, बैंकको संचालक समितिले चयन गर्ने ब्यवस्था रहेको दुईजना विज्ञ संचालक समेत भागवण्डा गरेपछि सहकारी वृतमा बिरोध समेत भएको थियो ।

बैंकले आज (असार ११ गते सातदिनको समयसिमा राखेर दुईजना विज्ञ संचालकको दरखास्त आह्वान गरेको छ । बैंकले बैंकिङ विज्ञ र सहकारी विज्ञ पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने भन्दै दरखास्त आह्वान गरेको हो । बैंकले बैंकिङ विज्ञ महिला एकजना र सहकारी विज्ञ संचालक खुल्लाबाट एकजना माग गरेको छ ।

बैंकको विनियममा प्रदेशगत रुपमा चयनभएर आएका सात प्रदेशका सातजना संचालक मध्येबाट अध्यक्ष चयन गर्ने ब्यवस्था छ । त्यसैगरी संचालक समितिले स्वतन्त्र रहेका तर विषय विज्ञ दुईजनालाई विज्ञ सदस्यका रुपमा चयन गर्ने ब्यवस्था छ । सहकारी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बार्षिक साधारण सभा मंसिर ६ गते सम्पन्न गरेको हो ।

विनियम संसोधन गरी जेठ ९ गते संचालक तथा लेखा समिति चयन गरेको थियो । बैंकको निर्वाचन मिति तय भएपछि तीनदलका प्रतिनिधिले बैशाख २७ गते काठमाडौंमा दल निकट सहकारीकर्मीलाई राखेर बैठक बसेको थियो ।

बैठकमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.गीता सत्याल र बैंककी तत्कालिन लेखा समिति सदस्य तारा गुरुङ, नेकपा एमालेका केन्द्रीय सदस्य डा.खेम लोहनी तथा सहकारी महासंघका संचालक डा.परितोष पौड्याल साथै नेकपाका केन्द्रीय सचिवालय सदस्य लिलामणि पोख्रेल, बैंककी संचालक पार्वती थापाले संचालक तथा विज्ञ सदस्यको पद भागवण्डाको सहमती गरेका थिए ।

सहमतिमा नेपाली कांग्रेसका तर्फबाट चन्द्रप्रसाद ढकाल र माधव दुलाल, नेकपा एमालेबाट रमेश पोख्रेल र इन्दिरा पन्त तथा नेकपाबाट पार्वती थापा र इश्वरी पाण्डेलाई जिम्मेवारी दिने सहमती गरेको देखिएको छ । त्यसैगरी सोही सहमती बमोजिम तीनदलले प्रदेश संचालक तथा लेखा समितिको अन्तिम नामावली प्रकाशनका लागि जेठ १ गते बैठक बसेको थियो ।

सोही बैठकमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.गीता सत्याल, नेकपा एमालेका केन्द्रीय सदस्य डा.खेम लोहनी तथा नेकपाका केन्द्रीय सचिवालय सदस्य लिलामणि पोख्रेल र राष्ट्रिय सहकारी महासंघका कावा अध्यक्ष रमेशप्रसाद पोख्रेल, संचालक डा.परितोष पौड्याल तथा बैंककी पूर्व संचालक पार्वती थापाको उपस्थितिमा अन्तिम नामावली प्रकाशन गर्ने निर्णय गरेको थियो ।

पौडेल तीनदलका तर्फबाट उमेदवार बनाएर संचालकमा जिते पनि । पार्टीका उमेदवार पौडयाललाई अध्यक्षका लागि संचालकहरुले साथ नदिएपछि मतदान भएको थियो । संचालक बिचको मतदानमा लक्ष्मीप्रसाद उप्रेतीको पक्षमा ५ र पौडयालको पक्षमा मात्र २ मत परेपछि उप्रेती अध्यक्ष चयन भएका छन् । बैंकको विज्ञ संचालकमा सम्वन्धित क्षेत्रमा उच्च शैक्षिक योग्यता, प्रयाप्त अनुभव तथा नेपाल राष्ट्र बैंकको नियामकिय प्रावधान अनुसार योग्य हुनुपर्ने जनाएको छ ।

त्यसैगरी सहकारी बैंकको सफ्ट विष्लेषण सहितको पाँचहजार शब्द ननाघ्नेगरी तयार गरेको अवधारणपत्र पेश गर्नुपर्ने जनाएको छ । बैंकको २२ औ बार्षिक साधारण सभाको संस्थाको प्रतिनिधि र प्रतिनिधिको परिबारको सदस्य बिज्ञ सञ्चालकमा नियुक्ति हुननसक्ने जनाएको छ ।



Leave a comment