घरका नारीलाई लखेटेर, सम्मेलनबाट महिला नेतृत्व खोज्ने महासंघको स्वाङ 

घरका नारीलाई लखेटेर, सम्मेलनबाट महिला नेतृत्व खोज्ने महासंघको स्वाङ  :: Sahakari Akhabar

सम्मेलनबाट संस्थागत सुशासन तथा नीति निर्माण प्रक्रियामा महिलाको प्रतिनिधित्व सुदृढ खोजिएको छ । साथ र सहयोगको सट्टा दवाव र दानविय ब्यवहारले हार मानेको महिला नेतृत्वलाई सात समुन्द्रपार गराएर फेरी महिला नेतृत्वको ढोङ सहकारी अभियानमा पाच्य होला त ?

काठमाडौं । सहकारी अभियानमा अन्तर्राष्ट्रियस्तरको छवि बनाएको महिला नेतृत्वलाई समुद्रपार गराएर सम्मेलनबाट महिला नेतृत्वको खोजि गर्ने स्वाङ गर्दैछ सहकारी महासंघ । असार ६ र ७ गते दुईदिन सहकारी महासंघले संस्थागत सुशासन तथा नीति निर्माण प्रक्रियामा महिलाको प्रतिनिधित्व सुदृढको स्वाङ गरेको छ।

यता अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको तयारी गरिरहँदा उता महासंघबाट भने भएका महिला नेतृत्व र कर्मचारीहरु बहिर्गमनको बाटो रोजिरहेका छन् । अन्तर्राष्ट्रिय सहकारी महासंघमा समेत प्रतिनिधित्व गरेको नेपालको पहिलो र एकमात्र नेतृत्वलाई सहन नसकेको महासंघले सम्मेलनबाट चाही ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नाराको नाटक रचेको छ । नेतृत्व तहमा रहेका नारीहरुलाई लखेटेर, त्यही नारीको नाममा सम्मेलन गर्नु र तिनै नेतृत्व, सुसाशन र नीति निर्माण तहमा महिलाको सहभागिताका कुरा गर्नु ढोङ्गि पारा बाहेक अरु हुनसक्छ त ।

केही समय अघिसम्म सहकारी महासंघमा नेतृत्व र ब्यवस्थापन दुवै स्थानमा महिलाको नेतृत्व थियो । दुवैतहको नेतृत्वमा महिला हुँदै तय भएको महिला सहकारी सम्मेलन चाही तिनै महिलाहरुको बहिर्गमन पछि मात्र साइत जुराइएको छ । सहकारी महासंघको महिला उपसमितिलाई समेत जिम्मेवारी नदिइ उपसमितिकी सचिव रहेकी महिलाको राजिनामा स्विकृत भएपछि मात्र पुरुषले पौरख देखाउनुमा पनि ‘दालमे कुछ काला हे’ भन्न सकिन्छ । महासंघको अध्यक्ष रहेकी ओमदेवी मल्लले नेतृत्वबाट राजिनामा दिएकी छन् ।

ब्यवस्थापन प्रमुख चित्राकुमारी सुब्बाले पनि राजिनामा दिएर गइन, त्यसैगरी उपसमितिको सचिव रहेकी देवी बास्कोटाको पनि असार १ गते राजिनामा स्विकृत भएको छ भने महिला उपसमितिकी संयोजक हुमाकुमारी जिसी (अञ्जु) ले सम्मेलनको जिम्मेवारी पाइनन् । अध्यक्षलाई स्वतन्त्र हिसावले काम गर्ने वातावरण नबनेको र मानसिक दवावमा काम गर्ने अवस्था नभएको भन्दै अध्यक्ष मल्लले राजिनामा दिएको बताइन । महाप्रवन्धक नियुक्ती देखि महत्वपूर्ण काममा पनि अध्यक्षलाई स्वतन्त्र हिसावले काम गर्ने वातावरण बनेन, मल्लले भनिन् ।

‘पार्टीको सहकारी विभागबाट भएको हस्तक्षेपले मानसिक रुपमा पनि निकै तनावमा भएँ, महासंघभित्र सबै राजनीतिक आस्था भएका सहकारीकर्मीहरुलाई मिलाएर लैजानुपर्छ भन्ने उद्देश्य राखेर अथक प्रयास गरेँ, तर एउटै पार्टीका साथीहरु रहेको बोर्ड भएपनि असहयोगको अवस्था भयो । आफ्नै साथीहरुको अपमान र हस्तक्षेपले गर्दा मानसिक रुपमा म कमजोर भएको थिएँ ।’ मल्लको राजिनामा पत्रमा उल्लेख छ ।

सम्मेलनबाट महासंघले महिला सशक्तीकरण, सहकारी क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने उद्देश्य राखेको छ । त्यतिमात्र हैन, आफूसंग भएको अन्राष्ट्रियस्तरको महिला नेतृत्वलाई स्विकार्न नसकेर राजिनामा दिनुपर्ने सम्मको बाध्यता बनाएको महासंघले महिला नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै लैंगिक समानता तथा सहकारी सहकार्यलाई थप सुदृढ बनाउने खोक्रो स्वाङ गरेको देखिन्छ ।

‘महिलाको नेतृत्व र सहकार्यलाई स्विकार्ने अवस्था अझैपनि बनेको छैन, सहयोगको सट्टा बदला र अपमान भोग्नु परेको छ’, एक संचालकले भनिन् । महासंघमा लगभग स्थापनकालदेखि नै कर्मचारी रहेकी देवी बास्कोटाले गत जेठमा राजिनामा दिइन र उनको राजिनामा यही असार १ गते स्विकृत पनि भयो । उनी महिला सहकारी सम्मेलनको समितिको सचिव रहेकी थिइन, राजिनामा स्विकृत नहुँदै तय भएको कार्यक्रममा आफूलाई कुनै जिम्मेवारी नदिएको उनी बताउँछिन ।

‘गत भदौमा परिवार अमेरिका जाने भनेपछि केही समयका लागि परिवारसँगै विदेशमा रहँदा उपचारसँगै तनाव पनि कम हुन्छ भन्ने परिवारको सल्लाह अनुसार अमेरिका आएको हुँ । यहाँ आएपछि केही परिवर्तन हुन्छ कि ? भन्ने लागेको थियो तर पार्टी नेतृत्वको दवावले नै होला महासंघका साथीहरुले पटक पटक राजिनामा पठाउन दवाव दिनुभयो ।

राजिनामा नदिए, अविश्वासको प्रस्ताव साधारणसभामा लगेर हटाउने धम्की पनि साथीहरुले दिनुभयो । मैले साधारणसभामा शुभकामना सन्देश पठाए, त्यसपछि पनि धेरै दवाव दिएको कारण म राजिनामा दिने निष्कर्षमा पुगे’ अध्यक्ष मल्लको राजिनामा पत्रमा उल्लेख छ।

सम्मेलनबाट संस्थागत सुशासन तथा नीति निर्माण प्रक्रियामा महिलाको प्रतिनिधित्व सुदृढ खोजिएको छ । साथ र सहयोगको सट्टा दवाव र दानविय ब्यवहारले हार मानेको महिला नेतृत्वलाई सात समुन्द्रपार गराएर फेरी महिला नेतृत्वको ढोङ सहकारी अभियानमा पाच्य होला त ?

महिलाको नेतृत्व स्विकार्न नसक्ने महासंघले सहकारीमा महिलालाई हरेक तहको निर्णय स्थानमा सहभागिता हुने अवस्था सिर्जना गर्छ भन्नु मुर्खता हुँदैन र ? महिला सकारीकर्मीहरुको नेतृत्व विकास गरेर निर्णय प्रक्रियामा सहभागिता विस्तार गर्नमा अहम् भूमिका खेल्ने, अधिकार तथा पारिवारिक र सामुदायिक निर्णय प्रक्रियामा सक्रिय सहभागीता गराउनेमा विश्वास गर्न सकिन्छ र ?

सुन्दा गुलिया लाग्ने शब्दहरुलाई सार्थक बनाउने ब्यवहारले हैन र ? देश विदेशबाट सहभागी हुने भनिएको सम्मेलनमा कार्यपत्रमा मात्र सिमित महिला नेतृत्व, सहभागिता र सुशासन तथा नीति निर्माण प्रक्रियामा महिलाको प्रतिनिधित्वका विषय सम्मेलन पछि विर्सनुलाई सम्मेलन विसुद्ध ब्यापारिक प्रयोजनका लागि हो भन्नुमा अतिशयुक्ति नहोला ।

देशभरिबाट २५० महिला सहकारीका महिला प्रतिनिधिहरुको सहभागिता रहने भनिएको सम्मेलनमा पाँचहजार शुल्क तिरेर मनोरञ्जन मात्र गर्न आउने, फोटो खिचेर फेसबुकमा पोष्ट गर्ने र कार्यपत्र प्रस्तुत भइरहँदा आयोजकले ‘पिल्जतालि’ भनेपछि तालि पिट्नेमा मात्र सिमित भयोभने सम्मेलन बुँदे घोषणापत्रमै सिमित रहन्छ ।

त्यसैले सम्मेलनमा उठाइएका विषयलाई गम्भिररुपमा लिएर सहकारीमै पनि महिला हरेक तहको निर्णय स्थानमा सहभागि हुनसक्ने क्षमता छ भन्ने अवस्थाको सिर्जना गर्ने आँट गर्नुस, सम्मेलन उपलब्धिमूलक हुने छ । महासंघले महिला सहकारी सम्मेलनको तयारी गरिरहँदा एनजिओ, आइएनजिओे, सहकारी संघसंस्थाबाट आर्थिक संकलन गर्नेछ ।

सरकारले पनि दशलाखको आर्थिक सहयोग गरेको छ । तर महिला सहकारी सम्मेलन र मन्त्री महिला भएपनि सम्मेलनमा भने सहभागिता जनाउने छैनन् । सरकारको ध्यान सहकारी पिडित बचतकर्ताको बचत फिर्ता र समस्याग्रस्त सहकारीका ऋणीबाट ऋण असुल्ने छ, सहकारीमा सुशासन कायम गर्ने छ ।

तर अभियानको भने सहकारीका समस्या समाधानमा गोष्ठी सम्मेलन गर्ने भन्दा पैसा कमाउने मात्र ध्यान गएको देखिन्छ । सहकारी ऐन संसोधनकोलागि सरकारले सुझाव मागेपनि अभियानको ध्यान सम्मेलन र बुँदे घोषणापत्रमा मात्र सिमित छ । कि कसो ?



Leave a comment