मधेश प्रदेशको बजेटमा सहकारी

मधेश प्रदेशको बजेटमा सहकारी :: Sahakari Akhabar

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेट सार्वजनिक गरेको छ । सोमबार अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभामा ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । बजेटमा सहकारी क्षेत्रमा देखिएको वित्तीय विचलन र बचतकर्ताको रकम हिनामिना गर्ने प्रवृत्तिलाई पूर्ण रूपमा नियन्त्रण गर्न शून्य सहनशीलताको नीति अख्तियार गरिने उल्लेख गरेका छन् ।

बजेटमा सहकारी संस्थाहरूको वित्तीय सुशासन, जबाफदेहिता र पारदर्शिता सुनिश्चित गर्न प्रदेशभित्रका सबै सहकारीलाई अनिवार्य रूपमा ‘एकीकृत प्रादेशिक डिजिटल नियमन तथा अनुगमन प्रणाली’ मा आबद्ध गरिने जनाए । यस प्रणालीमार्फत सहकारीको कर्जा प्रवाह, तरलता अवस्था र वित्तीय जोखिमको रियल टाइम अनुगमन गरी सम्भावित सङ्कट आउनु पूर्व नै नियन्त्रण गर्ने संयन्त्र विकास गरिने बताए ।

नागरिकको पसिनाको कमाइ अपचलन गर्ने सहकारीका सञ्चालक तथा पदाधिकारीहरूको सम्पत्ति तत्काल रोक्का तथा जफत गरी बचतकर्ताको रकम फिर्ता गराउन कानुनी र संरचनात्मक व्यवस्थालाई निर्मम रूपमा कार्यान्वयन गरिने बजेटमा उल्लेख छ।

त्यसैगरी सहकारी संस्थाहरूलाई अनुत्पादक क्षेत्र, सेयर र घरजग्गा कारोबारमा लगानी गर्न पूर्णतः निरुत्साहित गर्दै कृषि, उद्यमशीलता र उत्पादनमूलक क्षेत्रमा मात्र पुँजी परिचालन गर्न अनिवार्य गरिनेछ । त्यसैगरी समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन र समग्र सहकारी क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन सङ्घ सरकारको सहकारी नियमन प्राधिकरण’ सँग समन्वय र सहकार्य गरिने उल्लेख गरेका छन् ।



Leave a comment