हाइलाइट

डब्लुएफओको संचालक सदस्यमा खेमबहादुर पाठक चयन

डब्लुएफओको संचालक सदस्यमा खेमबहादुर पाठक चयन :: Sahakari Akhabar

काठमाडौँ । किसानहरूको विश्व संगठनको सञ्चालक समिति सदस्यमा नेपालबाट खेमबहादुर पाठक चयन भएका छन् । पाठक एसिया महादेशका मुलुकहरू मध्येबाट दोस्रो कार्यकालका लागि चयन भएका हुन् । केन्याको राजधानी नैरोबीमा आयोजना भएको डब्लुएफओको साधारण सभा तथा वार्षिक बैठक अन्तर्गत भएको निर्वाचनबाट पाठक आगामी २ वर्षको कार्यकालका लागि सञ्चालक समिति सदस्य पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

पाठकले नेपालको ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक रूपान्तरण, गरिबी निवारण तथा साना किसानहरूको हकहितका लागि पुर्याएको योगदानको कदरगर्दै एसिया महादेशका देशहरुले उनलाई पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेका हुन् ।

केन्याको नैरोबीमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि विश्वभरका विभिन्न ७ महादेशीय कृषि सहकारी तथा किसान संगठनका नेतृत्वकर्ताहरू समेटेर नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा केन्याका डा.ड्यानियल म्वेन्डाह एमुमाइलुथा र उपाध्यक्षमा अष्ट्रेलियाकी फियोना सिम्पसन निर्वाचित भएका छन् ।

यसैगरी सञ्चालक समिति सदस्यहरूमा एसिया क्षेत्रबाट नेपालका खेम बहादुर पाठक, अफ्रिका क्षेत्रबाट मौरिससका गुनशाम सीबोरुन, युरोप क्षेत्रबाट बेल्जियमका पिटर भेरहेलेट र उत्तर अमेरिका क्षेत्रबाट वेस्ट भर्जिनिया, अमेरिकाका रोब लारेउ, ल्याटिन अमेरिकाबाट इलोइसा फ्रेडकिंग सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघका संस्थापक अध्यक्ष तथा हालका मुख्य सल्लाहकार र साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहेका पाठक नेपालको सहकारी आन्दोलनका अगुवा व्यक्तित्व हुन् ।



Leave a comment