काठमाडौं । सुर्यविनायक भक्तपुरमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले २६ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर क्षेत्र नं १ का प्रतिनिधि सभाका सदस्य रुकेश रञ्जितले सदस्यको बचत सुरक्षाको लागि सहकारी अध्यादेश ल्याउनुपरेको बताए । उनले बचतकर्ताको बचतलाई सुरक्षित बनाउन खोज्दा राम्रा संस्थाहरुलाई केहि अप्ठ्यारो पर्न गएको बताएका हुन ।
कतिपय ठुला सहकारीले सदस्यको बचत फिर्ता गर्न नसकेको र ती संस्थाहरु वित्तीय संकटमा परेको अवस्थामा नियामक निकाय टुुलुटुलु हेरेर मात्र बसेको उनले जनाए ।
विगतमा संस्थाका सञ्चालक र ऋणीलाई प्रभावकारी रुपमा कारवाही गर्न कानुनको अभाव भएकाले पनि हालैको अध्यादेश मार्फत ऐन संशोधन गर्नु परेको उनले बताए ।
संघहरुले तीन बर्षभित्र बचत ऋणको कारोबार पूर्णरुपमा बन्द गर्नुपर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सो विषयलाई सदनमा उठाउने प्रतिवद्धता व्यक्त गरे ।
संघहरुलाई अप्ठ्यारो पार्ने विषयलाई प्रतिस्थापन विधेयकमा समेत आवाज उठाउने सांसद रञ्जितले बताए । अध्यादेशमा ऋणको साँवाँ भन्दा बढी ब्याज लिन नपाउने कुरा आएको भन्दै सदस्य केन्द्रीत सदस्यले कहिले त्यसो नगर्ने उल्लेख गरे । नराम्रो काम गर्ने सहकारीलाई सुधार गर्न ऐन आएको उनले प्रष्ट पारे ।
संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष ध्रुवबहादुर रायमाझीले शुभकामना साकोस जिल्लाकै नमुना सहकारी भएको र समुदायमा केन्द्रीत भएर सदस्यको हितको लागि काम गर्दैआएको बताए ।
उनले सदस्यको हितमा कामगर्ने र समाजमा पहिचान बनाउनु सहकारीको काम रहेको भन्दै त्यो काम शुभकामना साकोसले गरेको बताए ।
बचत ऋणको मात्र काम नगरी सामाजिक उत्तरदायित्वका काम समेत संस्थाले गर्दै आएकोमा उनले खुशी व्यक्त गरे । सीमित सहकारीमा देखिएको समस्यालाई आधार बनाएर यो क्षेत्रलाई सानो घेरामा राख्न खोजेको रायमाझीले गुनासो गरे ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरि बल्लले सहकारी अध्यादेशको एउटा बुँदाले संघहरुलाई समस्या पारेको बताए ।
उनले मुलुकभर रहेका संघहरुले ९२ अर्बको कारोबार गर्दैआएको भन्दै तीन वर्षभित्र कारोबार बन्दगर्ने बुँदा व्यावहारिक नभएको जिकिर गरे ।
भक्तपुर बचत संघका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी अध्यादेश सम्बन्धमा अभिमुखीकरण गरेका थिए । संस्थाका अध्यक्ष कासुलाले ७ लाख ५० हजारबाट शुरु भएको सहकारीको शेयरपुँजी ११ करोड ९० माथि र जगेडा कोष १७ करोडमाथि पुगेको बताए ।
सदस्यहरुको विश्वास जित्न सकेका कारण संस्थामा ११ हजार सदस्य आवद्ध भएको र उनीहरुको आर्थिक सामाजिक रुपान्तरणमा संस्था क्रियाशील रहेको जानकारी दिए ।
सदस्यले संस्थामा गरेको बचत सुरक्षित रहेको भन्दै ढुक्क भएर कारोबार गर्न उनले आग्रह गरे । आर्थिक मन्दीले गर्दा भएको सुस्तता र व्यापार व्यवसायमा ह्रास आउँदा संस्थाको तरलता बढेर गएको उनको भनाइ छ ।
संस्थाका सचिव पुष्पलाल तिमिलाले सञ्चालन गरेको कार्यक्रममा संस्थाले १० जना असल ऋणीहरुलाई सम्मान समेत गरेको थियो । संस्थाले स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर, जेष्ठ सदस्य भ्रमण, रक्तदान र वातावरण सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो।
Leave a comment