काठमाडौं । सरकारले सहकारी विभागको रजिष्ट्रारमा बाबुराम गौतम र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा रामकुमार महतोलाई नियुक्ती गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक महतोले बुधबारदेखि पदभार ग्रहण गरिसकेका छन ।
रजिष्ट्रार गौतमले आगामी सोमबारदेखि सहकारी विभागमा हाजिर हुने कार्यक्रम रहेको बताइएको छ । गौतम यसअघि बागमती प्रदेश सरकारका प्रदेश सचिवका रूपमा कार्यरत थिए भने महतो मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयमा कार्यरत थिए ।
सहकारी विभागका तत्कालीन रजिष्ट्रार सुशील ढकालको सरुवा भएपछि गौतमलाई विभागको नेतृत्व दिएको छ । स्रोतका अनुसार स्वास्थ्य समस्याका कारण ढकालले विभागको काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको निष्कर्षपछि सरकारले उनको सरुवा गरेको हो । त्यसैगरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.पुष्पराज शाहीको स्थानमा महतोलाई जिम्मेवारी दिइएको छ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमनका लागि गत वर्ष स्थापना गरिएको प्राधिकरणले हाल त्यस्ता संस्थालाई कारोबार इजाजतपत्र प्रदान गर्ने, अनुगमन गर्ने तथा नियामकीय कारबाही अघि बढाउने काम गर्दै आएको छ ।
सरकारले हालै ल्याएको सहकारीसम्बन्धी अध्यादेशले प्राधिकरणलाई थप अधिकार प्रदान गरेको छ । अध्यादेशअनुसार प्राधिकरणले नियमनसँगै अर्धन्यायिक सुनुवाइ गर्ने अधिकारसमेत प्राप्त गरेको छ । सहकारी विभागले उत्पादनमूलक तथा सेवा क्षेत्रका सहकारी संस्थाको विकास,प्रवर्धन र व्यवस्थापनसम्बन्धी जिम्मेवारी सम्हाल्नेछ ।
विगतमा विभाग र प्राधिकरणबीच कार्यक्षेत्र दोहोरिने समस्या देखिने गरेकोमा नयाँ व्यवस्थाले दुवै निकायको भूमिका स्पष्ट रूपमा वर्गीकरण गरेको छ । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान, नियमन प्रभावकारी बनाउने तथा संस्थागत जिम्मेवारी स्पष्ट पार्ने उद्देश्यका साथ सरकारले नेतृत्व परिवर्तनसँगै कार्यक्षेत्रको पुनःव्यवस्थापनलाई पनि अगाडि बढाएको छ ।
Leave a comment