राजनीतिक दलको हस्तक्षेपमा सहकारी मन्त्रीको आपत्ती

राजनीतिक दलको हस्तक्षेपमा सहकारी मन्त्रीको आपत्ती :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा राजनीतिक दलको हस्तक्षेप प्रति सहकारी मन्त्रीले आपत्ती जनाएकी छन् । सहकारी मन्त्री प्रतिभा रावलले ‘प्रतिभा रावल सचिवालय’ मार्फत सहकारी विभागको विज्ञप्तीलाई सेयर गर्दै राष्ट्रिय सहकारी बैंक लगायतका सहकारी संघ संस्थाहरुको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलहरुबाट दलीय आस्थाका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा गर्ने गरेको लगायतका विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तहरु विपरित यस्ता गतिविधिहरुबाट सहकारी ऐन, २०७४ को प्रस्तावना र कानूनी व्यवस्थालाई प्रतिकूल असर गर्नुका साथै सहकारीका सदस्यहरुमा अस्वस्थ प्रतिस्पर्धा बढ्नजाने र सहकारी क्षेत्रमा सुशासन कायम गराउनमा समेत नकारात्मक असर पुग्ने भएकोले यस्ता खालका गतिविधिहरुलाई निरुत्साहित गरी सहकारीको मर्म अनुसार सहकारी सञ्चालन हुने वातावरण निर्माण गरी सहकारीमा सुशासन कायम गर्ने गराउने कार्यमा सहयोग गरिदिनु हुन अनुरोध गरेकी छन् ।

सहकारी बैंकको सातजना संचालक चयन गर्ने क्रममा पुराना तीनदल, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले गठबन्धन गरी ६ वटा प्रदेश तथा लेखा समितिको पद सर्वसम्मतीका नाममा बाँडफाँड गरेका थिए । त्यसैगरी तीनदलले बागमती प्रदेशको संचालकका लागि नेकपा एमालेका केन्द्रीय सदस्य तथा महासंघका संचालक परितोष पौडेयाललाई साझा सहमती गरेको जनाएको छ । नेकपा एमालेले पौड्याललाई जिताउन सर्कुलर नै गरेपछि सहकारी विभागले विज्ञप्ती जारी गरेको थियो । पौड्यालको उम्मेदवारी विरुद्ध राष्ट्र बैंकमा उजुरी परेपछि सहकारी विभागले विज्ञप्ती निकालेको हो ।



Leave a comment