राष्ट्र बैंकमा उजुरीपछि सहकारी विभागको आँखा खुल्यो

राष्ट्र बैंकमा उजुरीपछि सहकारी विभागको आँखा खुल्यो :: Sahakari Akhabar

काठमाडौं । सहकारीको निर्वाचनमा राजनीतिक दलको हस्तक्षेप भएको विषयमा नेपाल राष्ट्र बैंकमा उजुरी परेपछि बल्ल सहकारीको नियामक निकायले थाहा पाएको छ । नियामक निकाय संघिय सहकारी विभागमा उजुरी दिनगएका उजुरीकर्तालाई रजिष्ट्रार नभएको बाहानामा दर्ता नगरी फर्काएको विभागले ६ गते विज्ञप्ती जारी गरेको छ ।

सहकारीको निर्वाचनमा पार्टीका कार्यकर्ता उमेदवारलाई जिताउन नेकपा एमाले पार्टीले सर्कुलर गरेपछि सहकारीकर्मी बद्री संजेलले नेपाल राष्ट्र बैंक, सहकारी प्राधिकरण तथा सहकारी विभागमा जेठ ५ गते उजुरी दिएका थिए । सहकारी विभागले रजिष्ट्रार नभएको र प्राधिकरणले राष्ट्र बैंकमा दर्ता गराएपछि यहाँ दर्ता गराइरहनु नपर्ने बताएका थिए ।

राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश संचालकका उमेदवार परितोष पौड्याललाई जिताउन नेकपा एमालेले पार्टीको लेटरप्याड प्रयोगगरी सर्कुलर जारी गरेको थियो । पौड्यालको उम्मेदवारी रद्ध गरीपाउँ भन्दै उजुरी परेको हो । विभागले जारी गरेकाे  विज्ञप्तीमा, राष्ट्रिय सहकारी बैंक लगायतका सहकारी संघ संस्थाहरुको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलहरुबाट दलीय आस्थाका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा गर्ने गरेको लगायतका विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति यस विभागको गम्भीर ध्यानकर्षण भएको उल्लेख छ।

सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तहरु विपरित यस्ता गतिविधिहरुबाट सहकारी ऐन, २०७४ को प्रस्तावना र कानूनी व्यवस्थालाई प्रतिकूल असर गर्नका साथै सहकारीका सदस्यहरुमा अस्वस्थ प्रतिस्पर्धा बढ्न जाने र सहकारी क्षेत्रमा सुशासन कायम गराउनमा समेत नकरात्मक असर पुग्ने विभागको भनाइ छ।

यस्ता खालका गतिविधिहरुलाई निरुत्साहित गरी सहकारीको मर्म अनुसार सहकारी सञ्चालन हुने वातावरण निर्माण गरी सहकारीमा सुशासन कायम गर्ने, गराउने कार्यमा सहयोग गर्न विभागले अनुरोध गरेको छ । राष्ट्र बैंकमा ६७९ दर्ता नम्बर रहेको उजुरीमा पार्टी केन्द्रको लेटरप्याड प्रयोग गरी पार्टी अनुसाशन आयोगको सदस्यलाई जिताउन सर्कुलर गरिएकोले उमेदवारी रद्ध गरिदिन माग गरिएको छ।



Leave a comment