दलको गठबन्धन र उमेदवारका विषयमा के भन्छन् सहकारीकर्मीहरु

दलको गठबन्धन र उमेदवारका विषयमा के भन्छन् सहकारीकर्मीहरु :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको नयाँ संचालक समिति तथा लेखा समिति चयनका लागि यही जेठ ९ गते निर्वाचनको मिति तय भएको छ । सात प्रदेशका सात संचालक चयन गर्ने क्रममा पुराना तीनदल, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले गठबन्धन गरी ६ वटा प्रदेश तथा लेखा समितिको पद सर्वसम्मतीका नाममा बाँडफाँड गरेपछि सहकारीकर्मीहरु आक्रोशित बनेका छन् ।

अझ तीनदलले बागमती प्रदेशको संचालकका लागि नेकपा एमालेका केन्द्रीय सदस्य तथा महासंघका संचालक परितोष पौडेयाललाई साझा सहमती गरेपछि सहकारी अभियानले असहमती जनाएका हुन् । साथै सहकारी अभियानले सहकारीकर्मी रामशरण शर्मा घिमिरेलाई अभियानको साझा उमेदवार बनाएर दलप्रति असन्तुष्टि ब्यक्त गरेको देखिन्छ ।

दलको साझा उमेदवार घोषणा तथा नेकपा एमालेले पौड्याललाई जिताउन गरेको सर्कुलरले सहकारीकर्मी झनै गठबन्धनको बिरोधमा उत्रिएका छन् । अधिकांश सहकारीकर्मीले सामाजिक संजालमार्फत बिरोध जनाएका छन् भने आफ्ना अभिब्यक्ती पनि दिइरहेका छन् । सहकारी अखबारले आज सहकारीमा तीनदलले गरेको हस्तक्षेपमा सहकारीकर्मीले सामाजिक संजाल मार्फत ब्यक्तगरेका प्रतिकृया जस्ताको त्यस्तै पस्केको छ ।

सहकारीकर्मीले सहकारीका बचतकर्ता सदस्यहरु सडकमा रुदै हिड्दा दलले गठवन्धन गर्न नहुने, सहकारीकर्मीहरु जेलमा छन, उनीहरुका विषयमा दल संगठित नहुने, सहकारीकर्मी भएबापत ज्यान गुमाएका विषयमा पनि गठबन्धन गरेर त्यसका विषयमा बोल्न नचाहने, सहकारीमा लागेबापत घर छोड्नु परेको अवस्थामा दलले गठबन्धन गरेर बोल्न नचाहने, सहकारी मैत्रि ऐन कानुन निर्माणका लागि पनि दलले कहिल्यौ गठवन्धन गरेर बोल्न नचाहने तर पद हत्याउन, श्रोत र साधन दोहन गर्न चुनाब कब्जा गर्न गठबन्धन भएको भन्दै सहकारीकर्मीले चिन्ता ब्यक्त गरेको पाइन्छ । यस्ता बहुरुपी गठबन्धनको हस्तक्षेप पुर्णरुपमा रोक्नुपर्ने सहकारीकर्मीको भनाइ छ ।

दिपकप्रकाश बास्कोटा (सल्लाहकार, राष्ट्रिय सहकारी बैंक)

राष्ट्रिय सहकारी बैंकका संस्थापक संयोजक तथा सल्लाहकार दिपकप्रकाश बास्कोटाले सामाजिक सञ्जाल फेसबुक मार्फत सहकारी बैंकको लोगो राखेर सहकारीकर्मी स्वागतम जगतको स्टाटसमा ‘मेरो पूर्ण सहमत छ’ भन्दै लेखेका छन्, राष्ट्रिय सहकारी बैंक जस्तो लाखौं सदस्य र सहकारी संस्थाको भरोसामा चलेको वित्तीय संस्थामा नेतृत्व चयन राजनीतिक भागबण्डा, सर्कुलर र दबाबको आधारमा होइन, योग्यता, अनुभव, इमानदारी र व्यवसायिक क्षमताका आधारमा हुनुपर्छ । सहकारीको मूल मर्म नै स्वतन्त्रता, पारदर्शिता र सुशासन हो तसर्थ निष्पक्षता, पारदर्शिता र योग्य नेतृत्व आजको मुख्य आवश्यकता हो । ब्यवसायिक स्वायत्तता तथा स्वतन्त्रताको सम्मान गरौ ।

मुकुन्दप्रसाद दाहाल (पूर्व, सहकारी बैंक संचालक )

सहकारी क्षेत्रमा क्रियाशील नेपालको एक मात्र राष्ट्रिय सहकारी बैकको यहि जेष्ठ ९ गते शनिवार सम्पन्न हुने संचालक समितिको निर्वाचन कार्यक्रममा वागमति प्रदेशको लागि निधारित एक संचालक पदका लागि दुइ साथीहरू प्रतिस्पर्धामा हुनुहुन्छ । एक जना मित्र, परितोष पौडेल जो यसअघि नेफ्कूनका निवर्तमान अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका संचालक पनि हुनुहुन्छ ।

अर्थ र अर्थ राजनीति विषयमा बिद्यावारिधि हाँसिल गर्नु भएको बौद्धिक अनुभवी र सहकारी अभियान्ता प्रबुद्ध मिलनसार व्यक्तित्व  हुनुहुन्छ । जसलाइ  पुराना तीनदल सबैको समर्थन रहेको सूचना अनुसार उहाँ साझा उम्मेदवार पनि हुनुहुन्छ ।

अर्का एकमित्र, रामशरण शर्मा घिमिरे वागमति प्रदेश सहकारी संघका अध्यक्ष, राष्ट्रिय सहकारी बैकका पूर्व संचालक धेरै संघ संस्थामा आवद्ध अनुभवी, सहकारी क्षेत्रलाइ पूर्ण पारदर्शिता कायम गर्नका लागि लागिपर्ने  जुझारू व्यक्तित्व हुनुहुन्छ ।

जो आफुले जिम्मा र नेतृत्व लिएको सामाजिक संघ संस्थालाइ सक्रिय क्रियाशिल सफल र उदाहरणीय बनाएर नेतृत्व हस्तान्तरण लगायतमा सहकारीकर्मी माझ समन्वयकारी भूमिका निर्वाह गर्दै आउनु भएको सफल सहकारी अभियानकर्मी  स्वतन्त्र उम्मेदवार भए पनि धेरै अभियानकर्मीको साथसहयोग प्राप्त पनि हुनुहुन्छ ।

उहाँहरू दुवै जना अभियानका  लागि  आवस्यक र महत्वपूर्ण सहकारी अभियानकर्मी हुनुभएकोले आज आम सहकारी मतदातामा धर्मसंकट आइपरेकोले म अझै  व्यक्तिगत रूपमा सुझाव दिन चहान्छु । दुइजना हार्दिकतापूर्वक परस्पर विस्वास गरेर एकमात्र उम्मेदवार कायम राखि एकजना विज्ञ संचालकमा रहनेमा सहमति कायम गर्नुहोस् । हामी मतदाताको जल्दोबल्दो धर्मसंकट टारिदिनुस् ।

टेकप्रसाद चौलागाई, (संचालकः राष्ट्रिय सहकारी महासंघ )

राष्ट्रिय सहकारी बैंकको २२औं साधारण सभाको निर्णयको निरन्तरता स्वरूप आगामी मिति २०८३ साल जेठ ९ गते निर्वाचन सातै प्रदेशमा सम्पन्न हुन गइरहेको व्यहोरा यहाँहरूमा सर्वविदितै छ । बागमती प्रदेश बाहेक अन्य प्रदेशहरूमा उम्मेदवारहरू निर्विरोध निर्वाचित हुनुभएको भएतापनि, नियमानुसार बागमती प्रदेशका उम्मेदवारका लागि सातै प्रदेशका सम्पूर्ण प्रतिनिधिज्यूहरूले मतदान गर्नुपर्ने व्यवस्था रहेको छ ।

अतः प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएका सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई तोकिएको मतदान केन्द्रमा उपस्थित भई रामशरण शर्मा घिमिरेलाइ आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुन र निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउनुहुन हार्दिक अनुरोध गरिन्छ ।

उनले दुईजनालाई सहमती गराउने प्रयास भएको विषयमा यस्तो लेखेका छन् । सर्वसम्मत बनाउने प्रस्ताब यस्तो थियो, ‘रामशरण जिले फिर्ता गरेर परितोष जिको कायम राखे पनि हुन्छ, परितोष जिको कायम राखेर रामशरण जिले फिर्ता लिएपनि हुन्छ ।’

अशोक सिवाकोटी (सहकारीकर्मी )

उक्त भनाइमा, पूर्व सहकारीकर्मी अशोक सिवाकोटी लेख्छन्ः हिम्मत गर्नु भयो सलाम छ । तर कार्वाही होला है सर ! म जस्तो निम्सरो लाई त कार्वाही गर्ने धम्की आइसक्यो उता हेडक्वाटर बाट ! तर ब्यक्तिगत रुपमा चाहिँ मेरो पनि समर्थन छ है रामशरण सरलाई ! बरु जितेपछी मलाई नि सम्झनु होला । पुरानो कर्मठ सहकारीकर्मी हो नि म पनि । केही योगदान गर्नसकौं । आफैले निर्माण गरेको चिज मायालाग्ने रहेछ ।

भीम तुलाचन (लेखा समिति संयोजकः राष्ट्रिय सहकारी महासंघ )

बिगार्न, भत्काउन सजिलो हुन्छ । बनाउन एकाअर्कामा समन्वय, समझदारी हुदानै संस्थागत स्थायित्व हुने हो । हिजो पनि रमेश पोखरेल, केबि उप्रेती भनेर दत्तचित्त भएर बलबुताले भ्यायसम्म भुमिका खेलेकै हो । तर कठिन र अफ्ठ्यारो परिस्थितिमा एक आपसमा हानथाप गर्ने कामले सङ्ग्लो बातावरण बन्दैन कि ? भन्ने आम चिन्ताको विषय भएको पाएको छु।

केशव पोखरेल (सहकारी अभियन्ता, प्रशिक्षक )

तिमी कति कमजोर भएछौ । सहकारीको चुनाव जित्न राजनीतिक दलको सर्कुलर जारी गर्नुपर्ने र गठबन्धन गरेर ह्ड्निु पर्ने । अनि हाम्रा संघ र बैंकले बहस र पैरवी गरेर सहकारी अभियानका समस्या हल हुन्छन भन्ने विश्वास गर्नुपर्ने ? तिनै राजनीतिक दलले ऐन र मापदण्डको लाठी बजार्दा तिमीहरूनै थियौ त केन्द्रमा तिमीले पद लिने मोज गर्न कि ! समस्या हल गर्न ? नेताको पाशे भएपछि जहाँपनि पद चाहिने नेफ्स्कूनमा नभएपछि महासंघ, महासंघमा छँदा नै रासबैं ।

दिपक पनेरुः अध्यक्ष (कास्कून)

गठबन्धन ?
खाएको पचाउने र भविष्यमा खानैकालागि बनेको अपबित्र गठबन्धन । प्रतिनिधि साथिहरु कोहि नझुक्किनु होला । पार्टिको खोल अ‍ोढेका नटवरलालहरुलाई समय छदै चिन्नु होला । सहकारी अभियान धारासायी बनाउने मुख्य पात्रहरुलाई चिनौं । हामी कांग्रेस, हामी कम्युनिष्ट, हामी एक हौ, हामी स्वर्ग, नर्क संगै जान्छै भन्दै ईमोश्नल ब्ल्याकमेल गर्दै हिडेका छन । होसियार हुनुहोला ।

लक्ष्मी सापकोटा (पूर्व संचालक, नेफ्स्कून )

सहकारी बंैक निर्वाचन...?? दशकौं लामो समयदेखि “खाइआएको, पाइआएको” अदृश्य र अघोषित सेटिङ–सँयन्त्र गुम्न लागेपछि केही स्वार्थ समूहहरू सल्बलाउनु, नयाँ संयन्त्र खोज्नु र संस्थालाई फेरि आफ्नै पहुँचभित्र राख्नखोज्नु उनीहरूका लागि स्वाभाविक नै हो । तर संस्थाभन्दा व्यक्तिको स्वार्थ ठूलो ठान्दै “संस्था डुबोस्, बैंक कमजोर बनोस्, नेफ्स्कुन जेसुकै होस् तर आफ्ना सुविधा र रजाइँ कायम रहोस्” भन्ने मानसिकतामा ताली बजाउनु भने साँच्चै दुर्भाग्यपूर्ण विषय हो ।

भविष्यमा फेरि केही फाइदा पाइएला भन्ने आशामा लाइन लागेर त्यही पुरानै प्रवृत्तिको पक्षपोषण गर्नु झन् चिन्ताजनक देखिन्छ । ‘करिव २० वर्षदेखि नब्याएको गाई, अब यो पटकचाहिँ ब्याउला भनेर आशा गर्नु जस्तै अवस्था पनि देखिँदैछ ।’ ७ मध्ये ६ प्रदेशमा सेटिङ सफल भइसकेको अवस्थामा बाँकी एउटा प्रदेशमा उठेको यो प्रतिनिधिमूलक आवाजले कति फरक पार्ला भन्ने प्रश्न स्वाभाविक छ।

तर भाँडा माझ्ने मानिस फेर्दैमा खाना स्वादिलो हुँदैन, खाना बनाउने सोच, शैली र नेतृत्व नै परिवर्तन हुन जरुरी छ । यो केवल एउटा चुनाव होइन, गलत सोच र पुरानो प्रवृत्तिविरुद्धको सांकेतिक विद्रोह पनि हो र भएका मध्येका उचित उमेदवारको सही छनौट गर्नु सहकारीकर्मीहरुको कर्तव्य पनि हो । कोही व्यक्तिमाथि दोष छैन । तर व्यक्ति होइन, प्रवृत्ति बदलिनुपर्छ ।

गलत सोच, गलत संयन्त्र र “गिद्धे प्रवृत्ति” को अन्त्य हुनुपर्छ । त्यसैले राष्ट्रिय सहकारी बैंकमा नयाँ सोच, पारदर्शिता, मितब्ययिता, व्यवशायिकता र सकारात्मक परिवर्तनको सुरुवातका लागि सोच वदल्न, जरुरी छ । सहकारीमा  स्थापित सेटिङ् संयन्त्रलाई निरुत्साहित गर्न जरुरी छ । सहकारीकर्मीहरुको आत्मबल उच्च राख्न जरुरी छ । आउनुहोस्, निर्धक्क नयाँ आयामको सुरुवात गरौँ । अहिलेलाई राष्ट्रिय सहकारी बैंकको बागमति प्रदेशका दुवै उमेदवारहरु एउटै पार्टीका हन् ।

केही सेटिङ् समुहको  रोजाई र अभियानकर्मीको रोजाई मात्र फरक हो । रामशरण घिमिरे बैंकको २ कार्यकालका पुर्व संचालक र हाल निवर्तमान सल्लाहकार सदस्य समेत हुनुभएको, बंैकसँग परिचित व्यक्ति हो । त्यसर्थ सदस्य पदको उक्त निर्वाचनमा  रामशरण घिमिरेलाई मतदान गरी निर्धक्क जिताऔं ।



Leave a comment