ललितपुर । राष्ट्रिय सहकारी बैंकले सञ्चालकको निर्वाचन मिति तोकेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले संचालक तथा लेखा समितिको निर्वाचन जेठ ९ गते गर्ने निर्णय गरेको हो । आगामी जेठ ९ गते निर्वाचन मिति तय भएपनि संचालकको भागवण्डा चाही वर्तमान संचालक समितिको बैठकले अहिले नै गरिसकेको बैंकले जनाएको छ । भागवण्डामा मधेश र गण्डकी प्रदेशलाई आरक्षण संचालक यानीकि महिला कोटा दिने निणर्य गरेको बैंकले जनाएको हो ।
बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन र सहकारी विभागबाट प्राप्त सैद्धान्तिक स्वीकृतिका आधारमा निर्वाचनको नयाँ मिति तय गरेको हो । बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीका अनुसार नियामक निकायबाट आवश्यक सहमति प्राप्त भइसकेकाले निर्वाचन प्रक्रिया सुचारु गर्न कुनै बाधा छैन । उनले भने, “अब तोकिएको मितिमा निष्पक्ष, पारदर्शी र व्यवस्थित निर्वाचन सम्पन्न गर्ने तयारीमा बैंक लागेको छ ।”
नौ सदस्यीय सञ्चालक समिति चयन हुने:
निर्वाचनमार्फत सातै प्रदेशबाट एक–एक जना गरी ७ जना सञ्चालक चयन गरिनेछ, जसमा कम्तीमा दुई जना महिला रहनेछन् । त्यसका अतिरिक्त नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिम एक जना बैंकिङ क्षेत्रका विज्ञ र एक जना सहकारी क्षेत्रका विज्ञ, गरी दुई स्वतन्त्र सञ्चालक मनोनयन गरिने व्यवस्था गरिएको छ ।
यसरी कुल ९ सदस्यीय सञ्चालक समिति गठन हुनेछ । त्यसैगरी आगामी सञ्चालक समितिमा गण्डकी प्रदेश र मधेश प्रदेशबाट महिला सञ्चालक पद सुरक्षित (आरक्षित) गर्ने निर्णय पनि गरिएको जनाइएको छ । उक्त नौ सदस्यीय सञ्चालक समितिबाटै अध्यक्ष चयन हुने व्यवस्था हुनेछ । साथै, संयोजकसहित तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि यही निर्वाचनमार्फत चयन गरिनेछ ।
निर्वाचनको मिति तय भएसँगै मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता लगायत सम्पूर्ण निर्वाचन प्रक्रिया तीव्र रूपमा अघि बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिएका छन् । उनले निर्वाचन सम्बन्धी विस्तृत कार्यतालिका चाँडै सार्वजनिक गरिने बताए ।
निर्वाचनमा बैंकको २२औँ वार्षिक साधारण सभामा सहभागी प्रतिनिधिहरूले मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले २०८२ पुस ६ गते जारी गरेको निर्देशन र सहकारी विभागमार्फत प्राप्त परामर्शअनुसार सहकारी बैंकले सञ्चालक समितिको संरचना पुनर्संरचना गरेको जनाइएको छ । यसअघि बैंकको २०८२ मंसिर १३ गते सम्पन्न २२औँ वार्षिक साधारण सभाले विनियम संशोधन पारित गरी पुस १२ गते निर्वाचन गर्ने प्रस्ताव गरेको थियो ।
Leave a comment