हाइलाइट

सहकारी दिवसका दिन गभर्नरले गरे नेफ्स्कून भवनको उद्धघाटन

सहकारी दिवसका दिन गभर्नरले गरे नेफ्स्कून भवनको उद्धघाटन :: Sahakari Akhabar

काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले बनाएको नयाँ भवनको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्धघाटन गरेका छन् । नेफ्स्कूनको काठमाडौं मीनभवनस्थित निर्माणसम्पन्न भवनको राष्ट्रिय सहकारी दिवसका दिन चैत २० गते उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा गभर्नर पौडेलले सहकारीहरूलाई मूल उद्देश्यबाट विचलित नहुन आग्रह गर्दै ‘सामन्ती प्रवृत्ति’तर्फ नजान सचेत गराए । उनले सहकारीको काम बचतकर्ताको पैसा संकलन गरी सहरमा जग्गा कारोबारमा केन्द्रित हुनु नभई साना बचतकर्ता र निम्न आय वर्गको आर्थिक सशक्तिकरणमा केन्द्रित हुनुपर्ने बताए ।

न्यून पुँजी भएका मानिसको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले सहकारीहरूले साना ऋणमार्फत ग्रामीण जनताको जीवनस्तर उकास्न भूमिका खेल्नुपर्ने बताए । सहकारीहरूले सीमित व्यक्तिलाइ अर्बौं ऋण प्रवाह गर्ने भन्दापनि उत्पादनमुखी तथा आय आर्जनका क्षेत्र ऋण प्रवाहगरी दीगो आर्थिक रूपान्तरणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

जसको कोही छैन त्यसको सहारा सहकारी हुनुपर्ने मान्यता लिएर काम गर्न उनको आग्रह छ । आय आर्जन वृद्धिका लागि २–४ लाख रुपैया लगानी गरी उनीहरुको जीवनस्तर माथि उकास्ने काममा सहकारीको भूमिका आज पनि समाजमा उत्तिकै रहेको बताए ।

हिजोका दिनमा प्रचलनमा रहेका सुके, ढ्याके ब्याजको न्यूनिकरण गरी जनतालाई सरल र सहज रुपमा वित्तीय सेवा प्रदान गर्न सहकारीको शुरुवात भएको स्मरण गर्दै गभर्नर पौडेलले उदेश्यबाट विचलित नहुन आग्रह गरे । उनले सहकारीलाई अर्को सामन्तवादको रुपमा विकास नगर्न चेतावनी दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माले सहकारीले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे । मूलुकका लागि कस्ता र कति सहकारी संघसंस्था चाहिएको हो, सो विषयमा छलफल गरी यो क्षेत्रलाई थप व्यवस्थित बनाएर लैजान आवश्यक रहेको उल्लेख गरे ।

बैंक तथा वित्तीय संस्थाको लाइसेन्स दिन बन्द भएपछि बचत तथा ऋण सहकारी खोल्ने प्रवृत्ति मौलाएको र सहकारीले बैंक सरह कारोबार गर्न खोज्दा विकृति मौलाएको उनले बताए । सहकारीले कत्रो आकार र दायरामा कारोबार गर्न दिने भन्ने विषय पछिल्लो समय पेचिलो बनेको शर्माको भनाई छ ।

सहकारीलाई गलत ढंगले प्रयोग गर्न चाहने र संस्थाको पैसालाई पैत्रिक सम्पति सम्झने मानसिकताका कारण ठूला सहकारीमा वित्तीय संकट आएको उनको दावी छ ।

सहकारी विभागका उपरजिष्ट्रार शशि कुमार लम्साल, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडाल लगायतले सहकारी क्षेत्रले समाजको आर्थिक, सामाजिक रुपान्तरणमा खेलेको भूमिकाका विषयमा चर्चा गरेका थिए ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले संघको आफ्नै भवन उद्घाटन गर्न पाउँदा गर्व लागेको बताए । लामो समयको प्रयास पछि साकोसहरुलाई सेवा दिन भवन बनाएको भन्दै अध्यक्ष ढकालले त्यसको परिकल्पना गर्ने पूर्व अग्रजहरुप्रति आभार प्रकट गरे ।

२०७७ सालमा शिलान्यास भएको उक्त भवन करिब २३ करोड ७८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । पाँचतले भवन १७ आनामा बनेको छ, जसमा दुईवटा सभा हल र दुई तला पार्किङ सुविधा रहेको नेफ्स्कूनले जनाएको छ ।



Leave a comment