हाइलाइट

बचत संघको कारोबारलाई कानुनी मान्यताको तयारीमा प्राधिकरण, कर्जा सूचनाकेन्द्रमा पनि जानेबाटो खुल्यो

बचत संघको कारोबारलाई कानुनी मान्यताको तयारीमा प्राधिकरण, कर्जा सूचनाकेन्द्रमा पनि जानेबाटो खुल्यो :: Sahakari Akhabar

काठमाडौं । भाखा नाघेको ऋणको ऋण नोक्सानी ब्यवस्था गर्दागर्दा हैरानी ब्यहोरेका बचत संघहरुलाई सहकारी नियमन प्राधिकरणले अभिलेखिकरणका लागि आह्वान गरेसंगै राहत मिलेको छ । अनुमति नलिइ बर्षौदेखि वित्तीय कारोबार गर्दैआएका संघहरुको कारोबारलाई प्राधिकरणले कानुनी मान्यता प्रदान गर्ने तयारी गरेको हो ।

सहकारी बैंकसहित वित्तीय कारोबार गर्दैआएका जिल्ला, प्रदेश र केन्द्रीय संघहरुलाई अभिलेखिकरण गर्ने भएपछि संघले गरेको कारोबारले मान्यता पाउने भएको हो । साथै संघहरुलाई पनि कर्जा सूचनाकेन्द्रमा जाने बाटो समेत खुलेको छ । कर्जा सूचनाकेन्द्रमा आवद्ध भएपछि सहकारी संघ संस्थाले पनि अन्य वित्तीय संस्थाको जस्तै कालो सूचीलगायतको सेवा पाउने छन्।

सहकारी बैंक यसअघि नै कर्जा सूचनाकेन्द्रको सदस्य रहेको छ भने वित्तीय कारोबार गर्ने नेफ्स्कून, प्रदेश बचत संघहरु र जिल्ला बचत संघहरु पनि कर्जा सूचनाकेन्द्रमा जाने बाटो खुलेको हो । प्राधिकरणले संचालन इजाजतपत्र प्रदान गरेपछि कर्जा सूचनाकेन्द्रमा जान बाटो खुल्छ ।

पछिल्लो आर्थिक सर्वेक्षण अनुसार मूलूकभर ३२ हजार ९ सय ६५ सहकारी संघ संस्था पुगेको छ । ११ खर्ब २५ अर्ब २८ करोड बचत परिचालन गरेको सहकारी क्षेत्रले १ खर्ब ४३ अर्ब २९ करोड शेयर पूँजी र ९ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी तथा १ करोड ९ लाख ५ हजार १९२ सेयर सदस्य रहेको जनाइएको छ ।

नेफ्स्कूनलगायत प्रदेश बचत संघहरु र जिल्ला बचत संघहरुमा गैह्र बैकिङ सम्पति र भाखा नाघेको ऋण अधिक रहेकाले यि संघहरु कर्जा सूचनाकेन्द्रमा जान चाहेका देखिन्छन् । गैह्र बैंकिङ सम्पति सकारेको र एकवर्ष भन्दाबढी भाखा नाघेको ऋण भएमा सय प्रतिशत ऋण नोक्सानी ब्यवस्था गर्नुपर्ने कानुनी ब्यवस्था छ ।

अधिकांश बचत संघहरुमा धितो सकारेको गैह्र बैंकिङ सम्पति र एकवर्ष भन्दाबढी भाखा नाघेको ऋण धेरै रहेको छ । सहकारी नियमन प्राधिकरणले पहिलो चरणमा बचत ऋणको मुख्य कारोबार गर्ने प्रारम्भिक संस्थालाई मात्र अभिलेखिकरण गरेको थियो।

संघहरुले गरेको वित्तीय कारोबारमा वित्तिय अपचलन देखिएपछि संघहरुलाई वित्तीय कारोबारमा रोकलगाउने प्राधिकरणको नीति लिएको थियो । तर संघहरुले पनि बचत ऋणको कारोबार गर्नपाउनु पर्ने र प्राधिकरणमा अभिलेखिकरण गर्नपाउनुपर्ने माग गर्दै बिरोध गर्दैआएका थिए । प्राधिकरणले संघहरुको वित्तीय कारोबारलाई दुई वर्ष भित्र ब्यवस्थापन गरिसक्नुपर्ने निर्देशन समेत जारी गरेको थियो ।

निर्देशनको अटेरी गर्दैआएका संघहरु अन्ततः अभिलेखिकरण गर्न पाउनेभएका छन् । प्राधिकरणले सोमबार सूचना प्रकाशन गरी सहकारी बैंक सहित सवै तहका वित्तीय कारोबार गर्ने संघहरुलाई सूचिकृतका लागि अनुरोध गरेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा चैत १७ गतेसम्म दर्ता अभिलेखीकरण गर्न अनुरोध गरेको हो ।

संघ अभिलेखिकरणका लागि आवश्यक प्रकृयाः

१, सहकारी ऐन, २०७४ को दफा २०क (२) बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण हुन संघसंस्थाको अनुरोधपत्र वा निवेदन ।
२, दर्ता अभिलेखिकरण हुने सम्बन्धमा संस्था र संघको सञ्चालक समितिको निर्णय ।
३, संघसंस्थाको साविक दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र ।
४, आर्थिक वर्ष २०८१ / ८२ को करचुक्ता प्रमाणपत्र ।
५, आर्थिक वर्ष २०८० / ८१२२०८१ / ८२ को लेखापरिक्षण प्रतिवेदन
६, २०८१ / २०८२ को वार्षिक साधारण सभाको उपस्थिती सहितको निर्णय प्रतिलिपि ।
७, संघसंस्थाको विनियम (सबै संशोधन सहित) ।
८, सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका सबै पदाधिकारी तथा सदस्य र कार्यकारी प्रमुखको विवरण (नामथर पद, ठेगाना, सम्पर्क नं, तिनपुस्ते, व्यक्तिगत स्थायी लेखा नं नागरिकता नं र राष्ट्रिय परिचयपत्र )
९, दर्ता अभिलेखीकरणका लागि दस्तुर ५ हजार प्राधिकरणको बैंकखातामा जम्मा गरेको भौचरको सक्कलप्रति ।



Leave a comment