काठमाडौं । राष्ट्रिय सहकारी महासंघले नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना आदान–प्रदान गरेको छ । महासंघको कार्यलयमा आज आयोजित शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी अभियान र सीजेएन बीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताएका छन् ।
उनले महासंघ सीजेएनसँग सहकार्य गर्न सधैं तयार रहेको बताए । सहकारी अभियान केही संकटमा छ भन्ने आभाष भइरहेको भन्दै उनले गलत सोच भएका केहि व्यक्तिहरुले सहकारीको बचत दुरुपयोग गर्दा यो अवस्था आएको उल्लेख गरे । त्यसका साथै कोभिड १९ पछि आएको विश्वब्यापी मन्दी, केहि देशहरुबीचको युद्ध र मूलुकको अर्थतन्त्रमा समेत प्रभाव पर्दा त्यसको असर सहकारी क्षेत्रमा परेकोले बढी चापमा परेको उनको भनाई छ ।
पछिल्लो समय यो क्षेत्रको समस्या क्रमशः न्युन हुँदै गएको भन्दै कार्यवाहक अध्यक्ष पोखरेलले सहकारीको साखलाई वृद्धि गर्न सञ्चार जगतको साथ आवश्यक रहेको बताए । सहकारीका यथार्थपरक समाचार सम्प्रेषणका साथै सफल अभ्यासहरुलाई प्रचारप्रसार गर्नसके यसले समाज, राज्य र नीजि क्षेत्रलाई सुसूचित गर्न मद्दत पुग्ने उनले बताए ।
सहकारीका विकृति विसङ्गतिको उजागरका साथै यो अभियानलाई समाजमा स्थापित गर्ने काममा पनि सीजेएनको भूमिका महत्वपूर्ण हुने उनले बताए । पत्रकारको काम भनेको वास्तविकतालाई उजागर गर्नु भएको भन्दै संकटको अवस्थामा रहेको यो क्षेत्रको संकटमोचनका लागि समेत सघाउन उनको आग्रह छ । सहकारीको तथ्याङ्क यकिन नभएको र वास्तविक तथ्याङ्क ल्याउन राज्य र अभियानबीच सहकार्य गरेर जान आवश्यक रहेको उनले भने ।
सीजेएन र महासंघ एउटा रथको दुई पांग्राको रुपमा अगाडि बढ्ने उनको प्रतिवद्धता छ । पत्रकारिता र अभियानको बाटो फरक हुँदा गन्तव्यमा नपुगिने भएकाले दुवै पक्ष एउटै लयमा हिँड्नुको विकल्प नभएको उनले बताए । त्यसले मात्र सहकारीलाई अर्थतन्त्रको एउटा बलियो खम्बा बनाउन टेवा पुग्ने उनको विश्वास छ ।
सीजेएन र महासंघबिच कसरी सहकार्य गर्ने भन्ने सन्दर्भमा छलफल गरेर अगाडि बढ्न आफु तयार रहेको पोखरेलले जनाए । सीजेएनलाई सँगसँगै लिएर जान तयार रहेको र महासंघले सीजेएनसँग सहकार्यमा विविध कार्यक्रम समेत तयार गर्ने उनको भनाई छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय गर्ने निकाय महासंघ भएकाले अध्ययन अवलोकन भ्रमणका लागि सहजिकरण गर्ने समेत उनले बताए ।
सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेलले शुभकामना मन्तव्य राख्दै यो क्षेत्रलाई उचाईमा पुर्याउन कलम चलाउन पत्रकारहरुलाई आव्हान गरे । सबै क्षेत्रमा सकरात्मक र नकारात्मक दुबै पक्ष हुने भन्दै उनले कमजोरी भएको क्षेत्रलाई इंगित गरी सुधारका लागि कलम चलाउन उनको सुझाव थियो ।
समुदाय र सदस्य हितकोलागि काम गरेका सहकारी मूलुकभर रहेको भन्दै तिनको प्रवर्धनमा समेत सघाउन उनले आग्रह गरे । सहकारी अभियानलाई व्यवस्थित र मर्यादित रुपमा अगाडि बढाउन सञ्चार जगत्को ठूलो भूमिका हुने भएकाले त्यो भूमिकाबाट बिचलित नहुन उनले सुझाए ।
सहकारी संघसंस्थाका साथै असल अभ्यास गरेका संस्थाहरुसँग सहकार्य गरेर जान सके सहकारी पत्रिकारिता दीगो हुने धारणा उनको छ । सो अवसरमा महासंघका निमित्त सीइओ गोपीकृष्ण भण्डारीले सहकारी क्षेत्रमा सबैकुरा नराम्रो मात्र नरहेको र राम्रा कुरालाई समाजमा पुर्याउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा महासंघका सञ्चालक टेकप्रसाद चौंलागाईं, परितोष पौडेल, सुमन नेपाल र माधव जोशीलगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा सीजेएनका अध्यक्ष अर्जुन खतिवडाले सीजेएनमा आवद्ध पत्रकारहरुको क्षमता विकासका साथै हकहितका लागि काम गर्दै आएको बताए । उनले महासंघसँगको सहकार्यमा सहकारी क्षेत्रका समसामयिक विषयमा छलफल, अन्तर्कियाका साथै सीजेएन सदस्यहरुको वृत्ति विकासका लागि सघाउन आग्रह गरे ।
कार्यक्रममा सीजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईं, पूर्व अध्यक्ष खिलानाथ दाहाल, साथै नवनिर्वाचित कार्यसमितिका सचिव माधव कुमार खड्का, सहसचिव हिरा बस्नेत, कोषाध्यक्ष प्रवीण राउत र सदस्य ईश्वर ढुङ्गेलको सहभागिता रहेको थियो ।
Leave a comment