काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले नेपाल सहकारी पत्रकार समाज (सीजेएन)लाई सहकारीको विषयमा नीति सम्वाद कार्यक्रम संचालन गर्न सुझाव दिएका छन् । बुधबार बैंकको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा सीजेएनको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै राज्यले तयगर्ने नीतिमा सकारात्मक प्रभाव पार्ने किसिमको कार्यक्रम संचालन गर्न उनको सुझाव थियो ।
उनले अहिले मूलधारका सञ्चारमाध्यमहरुले सहकारीको विषयमा समाचार प्रकाशन प्रसारण गरेकै आधारमा राज्यले सहकारी सम्बन्धी नीति तयगर्ने गरेको गुनासो राखे । उनले भने, ‘अहिले मूलधारको मिडियामा कुनै समाचार सातदिन सम्म आयो भने राज्यको पोलिसी नै इन्फ्लुइन्स हुने अवस्था छ ।
ठूला पत्रिकाले कुरा नबुझी उल्टो पाल्टो लेखिदिए पनि हामीले उहाँहरुलाई कुरा बुझाउन सक्दैनौं ।’ अध्यक्ष गिरीले सहकारी बिटमा कलम चलाउने पत्रकार र सञ्चार माध्यमले सहकारीको विषयमा मूलधारको सञ्चार माध्यममा प्रवाह हुने तथ्य र आधारहीन समाचारको प्रतिवाद गर्नका लागि पनि सरोकारवालाहरुलाई राखेर नीति सम्वाद कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।
उनले सहकारी अभियानमा उदाहरणीय काम गरिरहेका सहकारी संस्थाहरुको असल अभ्यासलाई स्थापित गराउनका लागि सीजेएनले अध्ययन र अनुसन्धानात्मक पत्रकारितालाई प्रोत्साहन गर्नुपर्ने बताए । साथै सिजेएनलाई सातै प्रदेशमा सञ्जाल विस्तार गर्न अध्यक्ष गिरीको सुझाव थियो ।
सहकारी क्षेत्रको गिरेको साख उकास्नेगरी जिम्मेवार, निष्पक्ष र सक्रिय पत्रकारिता गर्न नवनिर्वाचित कार्यसमितिलाई उनले आग्रह गरे । अध्यक्ष गिरीले सहकारी क्षेत्रको विकास, प्रवद्र्धन, सुशासन र पारदर्शिता कायम गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताए । बैंकले लामो समय देखि सीजेएनसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।
यसैगरी अध्यक्ष गिरीले आफूले नेतृत्व सम्हालेपछि बैंकको वित्तीय अवस्था सुधार गर्न विशेष प्राथमिकता दिएको बताए । उनले विगतमा पाँच अर्ब हाराहारी पुगको बैंकको निष्कृय कर्जा असुल गर्ने कार्यमा समेत महत्वपूर्ण प्रगति हासिल गरेको जनाए ।
यसैगरी शुभकामना मन्तव्य राख्दै बैंकका निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी अभियानको मजबुतीका लागि निष्पक्ष, तटस्थ र यथार्थपरक समाचार सम्प्रेषण आवश्यक रहेको उल्लेख गरे । उनले सकारात्मक समाचारको प्रवाहले सहकारी क्षेत्रलाई मजबुत बनाउन सहयोग पुग्ने बताए ।
सीजेएनका नवनिर्वाचित अध्यक्ष अर्जुन खतिवडाले आबद्ध सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै बैंकसँगको सहकार्यलाई थप विस्तार गर्ने बताए । सहकारी अभियानलाई बलियो बनाउँदै सुधारका लागि संस्थागत रुपमा सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सञ्चालन गरेको कार्यक्रममा बैंकको सदस्य सेवा डिभिजन प्रमुख रामबाबु आचार्य, बैंकिङ व्यवसाय डिभिजन प्रमुख भरतकुमार चिमरिया, कार्यालय व्यवस्थापन डिभिजन प्रमुख मधु रायमाझी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सीजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईं, पूर्व अध्यक्ष खिलानाथ दाहाल, निवर्तमान अध्यक्ष काजी श्रेष्ठका साथै नवनिर्वाचित कार्यसमितिका सचिव माधवकुमार खड्का, सहसचिव हिरा बस्नेत, कोषाध्यक्ष प्रवीण राउत र सदस्य ईश्वर ढुङ्गेलको सहभागिता रहेको थियो ।
Leave a comment