काठमाडौं । कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान किसान बहुृउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्यहरुले धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । किसान सहकारीले शेयर सदस्यलाई छुट दिन नसर्ग हस्पिटलसँग सम्झौता गरेको हो ।
निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र संस्थाका महाप्रवन्धक डम्बरबहादुर शाहले मंगलबार उपचारमा छुट दिने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । निसर्ग हस्पिटल धनगढी स्थित निजी क्षेत्रबाट संचालित सुदुरपश्चिममै स्तरिय स्वास्थ्य सेवा दिइरहेको संस्था हो ।
किसान सहकारीका विभागिय प्रमूख दिपक ढुङ्गानाका अनुसार शेयर सदस्यले जर्नल बेड हस्पिटल भर्नामा १५ प्रतिशत, क्याविन भर्नामा १० प्रतिशत, आईसियु वेडमा १२.५ प्रतिशत, एनआईसियु वेडमा १२.५ प्रतिशत छुट हुने बताए ।
त्यस्तै, जर्नरल, सर्जरी, अर्थोपेडिक, गाइनोलोजीमा १० प्रतिशत, ल्याप्रोसकोपी अप्रेशनमा १० प्रतिशत, पेथोलोजी सेवामा २० प्रतिशत, भिडियो एक्सरे, एक्सरे, ईसिजी ईसिएचओ, टिएमटी, ईन्डोस्कोपीमा १० र औषधि खरिदमा ५ प्रशिशत छुट पाउनेछन् ।
संस्थाले आफ्ना शेयर सदस्यलाई उपचारको लागि पठाउने र यसरी उपचारका लागि आउने बिरामी संस्थाको शेयर सदस्य रहेको हुनुपर्ने सम्झौतामा उल्लेख छ । सो अवसरमा किसान सहकारीका महाप्रवन्धक शाहले सहकारीले शेयर सदस्यहरुलाई जन्मदेखि मृत्युसम्मका सेवा दिइरहेको बताउँदै उपचारमा पनि सहजता ल्याउन निसर्गसँग सम्झौता गरिएको बताए ।
आगामी दिनमा सदस्यलाई अन्य सेवाहरुमा छुट दिनका लागि अन्य क्षेत्रका सेवाप्रदायकहरुसँग समेत सम्झौता गर्ने संस्थाको योजना रहेको छ । संस्थाले किसान–कोप वित्तिय सेवा, किसान–कोप एग्रो सेवा र किसान–कोप मार्ट गरी ३ वटा व्यवसायीक सेवाहरु सदस्यलाई दिदै आएको छ ।
संस्थाको कुल कारोबार ७ अर्ब २० करोडको रहेको छ । २०५२ सालमा स्थापनामा भएको संस्था सुदुरपश्चिमका नौ वटा जिल्ला र बर्दियाको राजापुर नगरपालिकामा सेवाकेन्द्र रहेको र ९३ हजार भन्दा बढी शेयर सदस्य रहेको सहकारी हो ।
Leave a comment