काठमाडौं । राष्ट्रिय सहकारी महासंघको ३३औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सहकारी अभियान देशको अर्थतन्त्रको बलियो खम्बा भएको बताए ।
उनले सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान गर्दै अभियानलाई प्रभावकारी बनाउनु सरकार मात्र नभई सम्पूर्ण सरोकारवालाको साझा दायित्व भएको बताए । सहकारीलाई पारदर्शी, उत्तरदायी र विश्वासयोग्य बनाउदै आर्थिक समृद्धिमा यसको भूमिकालाई अझ सुदृढ गर्नुपर्ने उनको भनाई थियो ।
साधारण सभामा सहकारी विभागका रजिष्ट्रार सुशील ढकालले सहकारी अभियानसँग हातेमालो गर्दै देखिएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारी क्षेत्रको नियमन अहिले सबैभन्दा ठूलो चुनौती बनेको बताउँदै नियमन प्रणालीमा एकरूपता र स्पष्टता ल्याउन जरुरी रहेकोमा बताए । सहकारीप्रति जनविश्वास कायम राख्न प्रभावकारी अनुगमन र नीतिगत सुधार अपरिहार्य रहेको उनको भनाइ थियो ।
महासंघका सल्लाहकार केशव बडाल, दीपकप्रकाश बाँस्कोटा, खगराज अधिकारी, देवेन्द्रराज कडेल, लिलामणि पौडेल, गणेश शाह र उषा झाले सहकारी अभियानलाई सशक्त रूपमा अगाडि बढाउन महासंघले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाबारे धारणा राखेका थिए । वर्तमान अवस्थामा सहकारी क्षेत्रमाथि बढ्दै गएको दबाब, विश्वासको संकट तथा नीतिगत अस्पष्टताका बीच महासंघको सशक्त नेतृत्व अपरिहार्य रहेको औँल्याए ।
कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले महासंघको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष खेम पाठकले स्वागत मन्तव्य राखेका थिए भने, उपाध्यक्ष डीबी बस्नेतले महासंघको विनियम संशोधन प्रस्ताव पेश गरेका थिए ।
त्यसैगरी उपाध्यक्ष इन्दिरा पन्तले महासंघको भावी कार्यक्रम तथा बजेट प्रस्तुत गरेकीथिइन भने महाप्रबन्धक गोपि भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
महासंघकी अध्यक्ष ओमदेवी मल्ल स्वास्थ्य उपचारका लागि अमेरिकामा रहनु भएकाले साधारण सभामा प्रत्यक्ष उपस्थित हुन नसके पछि पठाएको शुभकामना सन्देश कार्यवाहक अध्यक्ष पोखरेलले सभामा पढेर सुनाएका थिए ।
साधारण सभाले सहकारी क्षेत्रको सुदृढीकरण, नीतिगत सुधार, पारदर्शिता र विश्वास पुनःस्थापनाका लागि महासंघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ । सभाले सहकारी अभियानलाई थप मजबुत बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
Leave a comment