काठमाडौं । बागलुङका सहकारीकर्मीहरुले सहकारीको साख पुरानै अवस्थामा पुर्याउनका लागि सरोकारवाला सबैको सक्रियतामा जोड दिएका छन् । सहकारी सदस्यहरुको सक्रियतामा अगाडि बढ्ने व्यवसाय हो, पछिल्लो समय सदस्यहरुले नै सहकारीको साख बढाउने कार्यमा सक्रिय भएका छन्, सहभागीहरुले दावी गरे ।
जिल्ला सहकारी संघ बागलुङको बिहीवार आयोजित १७ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रका सहभागीहरुले सहकारी समुदायमा रहेका विपन्न वर्गका जनताको आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण माध्यम भएकाले सरोकारवाला सबैको समन्वयमा यसको साख थप बढाउनु पर्नेमा जोड दिएका थिए ।
केही सहकारीमा समस्या आयो, जनतामा सबै सहकारी खराव हुन् भन्ने चर्चा गरियो, प्रचार गरियो, सबै खराव थिएनन्, भन्ने कुरा सदस्यहरुले विस्तारै बुझ्न थालेका छन्, सहकारीकर्मीहरुले भने, आगामी दिनमा विगतका कमी कमजोरीलाई सुधार गर्दै सदस्यहरुका बीचमा जाने गरी सबै सहकारीहरुले सदस्य केन्द्रीत अभियानमा जोड दिनु पर्छ ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार रामबहादुर जिसी, चण्डीप्रसाद शर्मा, दिपक गौतम, तेजेन्द्र थापा मगर र तोयानाथ गौतम, जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापा लगायतले मन्तव्य राखेका थिए । संघकी अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष पिंगला खड्का जिसी र सञ्चालन सचिव तेज प्रसाद शर्माले गरेकी थिइन् ।
साधारणसभामा संस्थाका सचिव तेज प्रसाद शर्माले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मण पुनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक मिन बहादुर केसी (मिलन) ले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत पारित भएको अध्यक्ष जिसीले जानकारी दिइन ।
जिल्ला सहकारी संघ बागलुङको आगामी ४ वर्षे कार्यकालको नेतृत्वका लागि १७ औं वार्षिक साधारणसभामा निर्वाचन हुदैछ । निर्वाचनका लागि ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिका लागि २५ जनाले उमेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक राम शर्माले जानकारी दिए । नेतृत्व सर्वसम्मत गराउनका लागि सबै उमेदवारहरुको सहमतिमा ५ सदस्यीय कार्यदल गठन गरिएको संघले जनाएको छ ।
Leave a comment