काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पौष ४ गते हेरिटेज गार्डेन, सानेपा हाइट, ललितपुरमा सम्पन्न सभामा संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षता रहेको थियो । साधारणसभामा आर्थिक वर्ष २०८१ / ८२ मा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढकालले सहकारी ऐन संशोधन मार्फत बचत तथा ऋण सहकारीहरूको व्यवस्थापनमा नेपाल राष्ट्र बैंकले नियामक मापदण्ड दिन सक्षम भए पनि साकोस अभियानको अपेक्षा भने पूर्णरूपमा पूरा हुन नसकेको उल्लेख गरे ।
साकोस ऐन हाम्रो आवश्यकता भएकाले यसको प्राप्तिका लागि निरन्तर प्रयास जारी रहने बताए । उनले साकोस अभियानको अबको गन्तव्यका रूपमा अभियानको सञ्जालिकरणलाई अघि बढाइएको बताए । सेवाहरूको स्तरीकरणमार्फत सदस्यहरूको बचत सुरक्षित गर्न अभियान सक्षम हुने विश्वास व्यक्त गर्दै उनले कानुनी वातावरण विकासका लागि नेफ्स्कून सधै संवेदनशील र सक्रिय रहने जनाए ।
सभामा संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तव्य राख्दै नेफ्स्कून सवैको साझा स्थल भएकोले हरेक परिस्थितिमा आफ्ना सदस्यलाई मार्ग दर्शन गरेको र सदस्यको जीवनस्तर सुधार ल्याउन सधै क्रियाशिल रहेको बताए ।
संघका महासचिव घनश्याम अधिकारीले आर्थिक वर्ष २०८१ / ८२ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२ / ८३ कालागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले बहस तथा पैरवी, साकोस अभियानको वित्तीय स्वस्थता, जोखिम व्यवस्थापन, कार्यक्रम तथा विकास, मानव स्रोत विकास र अभियान सुदृढीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको जनाए ।
कोषाध्यक्ष दीपक थापाले आर्थिक वर्ष २०८१ / ८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै प्रारम्भिक संस्थाहरूको सुरक्षामार्फत मात्र सहकारी अभियान सुरक्षित हुने र आम सदस्यहरूको बचतको पूर्ण सुरक्षा सुनिश्चित गर्न सकिने बताए । संघले ऋण लगानीको जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको सभामा बताए ।
सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समिति सदस्य दुर्गा तिवारी संजेलले प्रस्तुत गरेकी थिइन । साधारणसभाले संघको विनियम संशोधन, आन्तरिक कार्यविधि, संकल्प प्रस्ताव लगायत पूर्वनिर्धारित ११ वटा प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।
Leave a comment