हाइलाइट

किसान बहुउद्देश्यीय सहकारीको ३१ औं बार्षिक साधारण सभा सम्पन्न

किसान बहुउद्देश्यीय सहकारीको ३१ औं बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सेवाकेन्द्र स्तरिय एकाइ सभा सम्पन्न गरी संस्थाले पुष ५ गते शनिबार निर्णय प्रमाणिकरण भेला सम्पन्न गरेको हो ।

लम्की जेसीज हलमा संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहको अध्यक्षता तथा संस्थाका संस्थापक मंगलबहादुर शाहको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो । संस्थाका ५ वटा इलाका तथा ४२ वटा सेवाकेन्द्र रहेका छन् । सभामा आर्थिक प्रगति, संस्थागत विकास र आगामी कार्यदिशाबारे छलफल गरिएको छ ।

सभामा प्रमुख अतिथि शाहले सहकारी स्थापना कालको स्मरण गर्दै किसान सहकारी अपेक्षा गरिएकोभन्दा धेरै अगाडि बढ्न सफल भएको बताए । उनले सदस्यहरूको विश्वास, इमानदार नेतृत्व र सामूहिक प्रयासले किसान सहकारीलाई देशकै नमूना संस्थामध्ये एक बनाएको बताए । संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहले आर्थिक वर्ष २०८१ / ०८२ मा १४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिए ।

अध्यक्ष शाहले किसान सहकारी ३० वर्ष पूरा गरी ३१औँ वर्षमा प्रवेश गरेको समेत बताए । उनले संस्थाको सफलता शेयर सदस्यको भएको भन्दै, सदस्य, कर्मचारी, पूर्व सञ्चालक समिति र सम्पूर्ण समुदायको योगदान रहेको बताए । उनले पारदर्शिता, सुशासन र प्रविधिमैत्री सेवामा जोड दिँदै संस्थालाई अझ बलियो बनाइने बताए ।

सभामा संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले संस्थाको कूल सम्पत्ति ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको जानकारी दिँदै कठिन समयहरूमा पनि शेयर सदस्यले देखाएको विश्वासकै कारण सहकारी निरन्तर अघि बढ्न सफल भएको बताए ।

उनले आगामी दिनमा सहकारीलाई थप सुदृढ बनाउँदै समुदायसँग सहकार्य गरी समृद्धि तथा वातावरण संरक्षणका क्षेत्रमा समेत योगदान गरिने बताए । साधारण सभाको अवसरमा सेवाकेन्द्र मार्फत सदस्यलाई सम्मान तथा राहत समेत बितरण गरिएको थियो ।

सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक नृपबहादुर कुँवरले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै किसानलाई आत्मनिर्भर बनाउने अभियानमा योगदान पुर्याउने सबै पक्षप्रति आभार व्यक्त गरे । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार संस्थामा ९३ हजार ३१५ जना कूल सदस्य संख्या रहेको छ भने २९ हजार ६१४ जना ऋणी सदस्य रहेका छन् ।

मंसिर मसान्तसम्मको विवरण अनुसार संस्थामा ५२ करोड १३ लाख ५२ हजार सेयर पूँजी, ३५ करोड ७२ लाख २७ हजार जगेडा कोष तथा ७४ करोड ५९ लाख ३७ हजार अन्य कोषमा रहेको जनाइएको छ । संस्थाले ४ अर्ब ९४ करोड २ लाख ६६ हजार बचत संकलन र ५ अर्ब २२ करोड ७३ लाख ६४ हजार ऋण लगानीमा रहेको जनाएको छ ।



Leave a comment