हाइलाइट

नवजीवन सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम

नवजीवन सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम :: Sahakari Akhabar

काठमाडौं । धनगढी कैलालीमा मुख्य कार्यलय रहेको नवजीवन सहकारीले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाको ३२ औं बार्षिकोत्सवको अवसरमा मंसिर २९ गते रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

२०४९ सालमा सुदूरपश्चिम प्रदेशको कैलालीमा बैंक तथा वित्तीय संस्थाहरूको पहुँच नहुँदा स्थानीय जनताको वित्तीय आवश्यकताहरू पूरा गर्न १७ जना व्यक्तिहरूले सामुदायिक बचत कोषका रुपमा स्थापना भएको थियो। पछि २०५० साल वैशाख १५ गते नवजीवन बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा दर्ता भएको थियो ।

स्थापना समयमा संस्थामा ६४ जना सदस्यबाट यात्रा सुरु भएको थियो । र संस्थाले २०५० साल मंसिर ३० गतेदेखि औपचारिक वित्तीय कारोबार सुरु गरेको हो । सहकारीको भिडमा नवजीवन सहकारीले आफ्नो सशक्त र विशिष्ट पहिचान कायम राख्न सफल भएको संस्थाका अध्यक्ष देवबहादुर वमको भनाइ छ ।

बचत तथा ऋण सेवाका अतिरिक्त सहकारीले कृषि क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गरेको छ । यसले उद्योग दर्तागरी प्रतिघण्टा २०० क्विन्टल क्षमताको धान प्रशोधन उद्योग स्थापना गरेको छ । हाल सहकारीकै आफ्नै ब्रान्ड नाममा चामल समेत उत्पादन गरी बिक्री भइरहेको छ ।

आगामी दिनहरूमा थप कृषि कार्यक्रमहरू सञ्चालन गर्ने संस्थाको योजना रहेको छ । नवजीवन सहकारी आफ्ना सदस्यहरूलाई जीवनका सबै चरणमा साथ दिने प्रतिबद्धताका साथ अघि बढिरहेको छ । संस्थाले सुत्केरी स्याहार सुविधा, स्वास्थ्य उपचार सहयोग तथा अन्त्येष्टि सहयोग उपलब्ध गराउँदै आएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले समुदायको समग्र जीवनस्तर सुधार गर्ने उद्देश्यले विभिन्न सामुदायिक कल्याणकारी गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै आएको अध्यक्ष वमको भनाइ छ । संस्थाले सरकारी निकाय, गैरसरकारी संस्थाहरू तथा स्थानीय संघ–संस्थाहरूबाट विभिन्न सम्मान तथा पुरस्कारहरू समेत प्राप्त गरेको छ ।

संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार संस्थामा ३३ करोड ८ लाख ८६ हजार सेयर पूँजी, ४८ करोड १७ लाख ३७ हजार जगेडा कोष तथा ५ करोड ६० लाख ४८ हजार विभिन्न कोषमा रहेको जनाइएको छ । संस्थामा ५ अर्ब ३३ करोड ५१ लाख ४७ हजार बचत तथा ४ अर्ब २० करोड ६ लाख ५ हजार ऋण लगानीमा रहेको जनाइएको छ । ५० करोड ८९ लाख ६२ हजार संस्थागत पूँजी रहेको संस्थाको ६ अर्ब ८१ करोड ७५ लाख ८९ हजार कूल सम्पति रहेको छ । संस्थामा ३८ हजार ६९५ जना सदस्य तथा ५ हजार १६५ जना ऋणी सदस्य रहेका छन् ।



Leave a comment