काठमाडौं । नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबारको स्विकृति पाएको राष्ट्रिय सहकारी बैंकको २२ औं बार्षिक साधारण सभा हुँदैछ । देशैभरि कार्यक्षेत्र रहेको सहकारी बैंकले समयावधी अगावै निर्वाचन पनि गर्नलागेको हो । एक मुख्य कार्यालय र ६८ शाखा रहेको बैंकले ७७ वटै जिल्ला समेटेको दावी गरेको छ ।
१६ हजार ४२६ सहकारी संस्था सदस्य रहेको बैंक पूर्णरुपमा राष्ट्र बैंकको निर्देशन र नियमन छ । बैंकका निवर्तमान अध्यक्ष केबी उप्रेती सहकारी ठगीको मुद्धामा थुनामा परेलगत्तै राष्ट्र बैंकले कारबाही गर्दै नयाँ संचालक समिति बनाउन निर्देशन दिएकोले सहकारी बैंकले यही पुष १२ गते निर्वाचनको मिति तय गरेको हो । सहकारी बैंकले मंसिरको ६ गते बार्षिक साधारण सभा र १३ गते निर्णय प्रमाणिकरण सभा गर्दैछ ।
साधारण सभाले बैंकको विनियम संसोधन गरी पुष १२ गते संचालक समिति तथा लेखा समितिको निर्वाचन गराउँदैछ । बैंकले साधारण सभा सम्वन्धि जारी गरेको सूचनाको कार्यसूचीको १२ नम्वर बुँदामा ‘नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संचालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको (पूनःसंरचना) सहित निर्वाचन कार्यक्रम तय गर्ने सम्वन्धमा’ उल्लेख छ ।
यसले सहकारी बैंकले साधारण सभामा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार दुईजना विज्ञ संचालक सहित जम्मा ७ जना संचालक समिति र तीनजना लेखा सुपरिवेक्षण समितिका पदाधिकारी चयन गर्ने विषयमा छलफल गर्नुपर्नेछ । किनकी नेपाल राष्ट्र बैंकले सहकारी बैंकलाई विनियम संसोधन गरी जम्मा ७ जनाको संचालक समितिको संरचना तयार गर्न निर्देशन दिएको थियो ।
यो भनेको नेपाल राष्ट्र बैंकले ५ जनाको संचालक समिति र तीनजनाको लेखा सुपरिवेक्षण समितिका सदस्यको लागि छलफल गर्नुपर्ने हुन्छ भने २ जना विज्ञ संचालक पछि मनोनित हुनेछन् र संचालकहरुले संचालकहरु मध्येबाट अध्यक्ष चयन गर्नेछन् । तर सहकारी बैंकले विनियम संसोधनमा भने कार्यकारी अध्यक्ष सहित ९ जनाको संचालक र दुईजना विज्ञ संचालक गरी जम्मा ११ जनाको प्रस्ताव सभामा पेश गर्दैछ ।
त्यसैगरी निवर्तमान अध्यक्ष पदेन संचालक रहने ब्यवस्था भने विनियमको मस्यौदामा हटाएको छ । बैंकले ९ जनाको संचालक समितिको प्रस्ताव पेस गरेको हुनाले मंसिर ६ गते हुने बार्षिक साधारण सभामा प्रत्येक एकाइबाट १० / १० जना एकाई बैंठकको निर्णय प्रमाणित गर्ने प्रतिनिधि चयन गर्दैछ ।
त्यसैगरी एकाई बैंठकका प्रतिनिधिहरुको केन्द्रीय सभाको निर्णय प्रमाणित गर्न एकाइ १ को विराटनगरमा हुने सभाबाट ४ जना, एकाई ३ को काठमाडौंमा हुने सभाबाट ८ जना र २ को बर्दिबासमा हुने, एकाई ४ को पोखरामा हुने, एकाई ५ को रुपन्देहीमा हुने, एकाई ६ को सुर्खेतमा हुने, अनि एकाई ७ को धनगढी कैलालीमा हुने सभाबाट ३ / ३ जना प्रतिनिधि चयन हुनेछन् ।
बैंकको लगभग एकाइ एकमा २ हजार ६ सय, एकाई दुईमा २ हजार २ सय, एकाइ तीनमा ६ हजार ७ सय, एकाइ चारमा १ हजार ६ सय, एकाइ पाँचमा २ हजार, एकाई छमा ७ सय र एकाई सातमा ५ सय सदस्य रहेको सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले जानकारी दिएका छन् । सदस्यको प्रतिनिधिहरुले आफ्नो एकाईमा भौतिक रुपमा उपस्थित हुनुपर्ने र साधारण सभामा उपस्थित प्रतिनिधिहरुले मात्र निर्वाचनमा भाग लिने र मतदान गर्न पाउने ब्यवस्था गरिएको उनले जनाए ।
Leave a comment