काठमाडौं । धादिङवेसी धादिङमा रहेको सहारा महिला बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभामा ४८ जना सदस्य सम्मानित भएका छन् । कार्तिक २२ गते शनिबार संस्थाका अध्यक्ष पार्वती राई खाँडको अध्यक्षतामा धादिङवेसीमा सम्पन्न सभामा विभिन्न विधामा ४८ जना सदस्य सम्मानित भएका हुन् ।
संस्थाले साधारणसभाको अवसरमा असल सदस्यहरु मध्ये ४८ जना शेयर सदस्यहरुलाई पुरस्कृत र सम्मान गरेको थियो । त्यसैगरी संस्थाका बाल बचतकर्ता मध्ये २०८१ सालको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याई उत्तिर्ण हुने ९ जना बालबालिकाहरुलाई पनि नगद एक हजार ५ रुपैंयाँ सहित प्रशंसापत्र प्रदान गरेको थियो ।
सभामा ३ हजार ४० सक्रिय शेयर सदस्यहरु रहेको संस्थामा गत असार मसान्तसम्ममा कुल २६ करोड ४५ लाख ४३ हजार ६ सय ८४ वासलात र २ करोड २८ लाख ५५ हजार २ सय शेयर पूँजी रहेको जानकारी दिइयो । त्यसैगरी सदस्यहरुबाट १८ करोड ८७ लाख १६ हजार ९ सय ३७ बचत संकलन गरेको संस्थाको जगेडा कोषमा १ करोड ३२ लाख ९९ हजार १ सय ८२ रहेको संस्थाका कोषाध्यक्ष खिलकुमारी पोखरेलले साधारणसभामा जानकारी दिइन् ।
त्यसैगरी संस्थाका सचिव भगवती तिवारीले संस्थाले वित्तिय कारोवारका साथै सदस्यहरुको लागि ३० हजारसम्मको मृत्यु राहत कार्यक्रम, २५ हजारसम्मको औषधि उपचार सहयोग र सुत्केरी पोषण सहयोग उपलब्ध गराउँदै आएको साधारणसभामा जानकारी गराइन् ।
सदस्य सेवामा नमुना कार्य गर्दै आएको संस्थाले सदस्य शिक्षा, वित्तिय साक्षरता र सदस्यहरुको आर्थिक अवस्था सुधारका लागि परामर्श गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडीले जानकारी दिए । धादिङवेसीमा सुविधासम्पन्न आफ्नै कार्यालयबाट सेवा प्रदान गर्दैआएको संस्था महिलाहरुद्धारा सञ्चालित जिल्ला कै अग्रणी संस्थाको रुपमा परिचित छ ।
सुशासन र सदस्य सेवामा उत्कृष्ट कार्य गरेको यस सहकारी संस्था २०७३ सालमा नेपाल भरको उत्कृष्ठ महिला बचत तथा ऋण सहकारी संस्थाको रुपमा सम्मानित भएको थियो । त्यसैगरी यस संस्थाले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघद्धारा सञ्चालित नेपाल स्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम अन्तरगत सन् २०१७ मा “प्रोबेशन ब्राण्ड” समेत पाउन सफल भएको थियो ।
Leave a comment