हाइलाइट

गण्डकी प्रदेशका विभिन्न सहकारीबाट ५ अर्ब ६३ करोड बढी रुपैयाँ हिनामिना

गण्डकी प्रदेशका विभिन्न सहकारीबाट ५ अर्ब ६३ करोड बढी रुपैयाँ हिनामिना :: Sahakari Akhabar

काठमाडौं । गण्डकी प्रदेशका विभिन्न सहकारीबाट ५ अर्ब ६३ करोड बढी रुपैयाँ हिनामिना भएको पाइएको छ । गण्डकी प्रदेशका विभिन्न सहकारीबाट ५ अर्ब ६३ करोड ४१ लाख ३९ हजार ९६२ रुपैयाँ हिनामिना भएको हो ।

पोखरामा भएको सहकारी समस्या समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीका रजिस्ट्रार भेषराज रिजालले गण्डकी प्रदेशका विभिन्न सहकारीबाट ५ अर्ब ६३ करोड ४१ लाख ३९ हजार ९६२ रुपैयाँ हिनामिना भएको बताएका छन् ।

रजिस्ट्रार रिजालले प्रदेशभरका १७ सहकारीको मुद्दा विचाराधीन अवस्थामा रहेको र सबैभन्दा बढी रकम कास्कीको पोखरामा सञ्चालनमा रहेका सहकारीहरूबाट हिनामिना भएको जनाए ।

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाबाट १ अर्ब ५४ करोड, म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाबाट १ अर्ब ४९ करोड र बाग्लुङमा प्रधान कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाबाट १ अर्ब ३३ करोड रुपैयाँ हिनामिना भएको उनले जनाए ।

रजिस्ट्रार रिजालका अनुसार गण्डकी प्रदेशभर ९०१ वटा सहकारी दर्तामा रहेका छन् तीमध्ये ५८३ ले अद्यावधिक गरेका छन् भने ३१८ वटा सहकारी निष्क्रिय रहेको जनाइएको छ ।

जिल्लागत रूपमा कास्कीमा सबैभन्दा बढी २२५ वटा सहकारी दर्ता भएका छन् भने सबैभन्दा कम मनाङमा एउटा मात्र सहकारी छ । यी सहकारीहरूमा ६ लाख ९४ हजार २१९ शेयर सदस्य तथा २ हजार २३५ कर्मचारी कार्यरत छन् ।

शुक्रबार पोखरामा भएको छ सहकारी समस्या समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा रजिस्ट्रार रिजालले जानकारी दिएका थिए । कार्यक्रम गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको संयोजनमा भएको हो ।

कार्यक्रममा सहभागीहरुले नियमनकारी निकाय र सहकारी सदस्यहरुकै बेवास्ताका कारण सहकारीमा समस्या बढेको बताए । कार्यक्रममा रजिस्ट्रार रिजालले सहकारीमा अधिक लाभांश वितरण गर्ने प्रवृत्ति, पुँजी र निक्षेपको बचत अनुपात नमिल्नु, स्रोतमा लागत विश्लेषण गर्न नसक्नु, कमजोर संस्थागत संयन्त्र, आन्तरिक वित्तीय व्यवस्थापन कमजोर, नियामक व्यवस्थाको अभाव, कानुनको परिपालन नहुनु सहकारीका समस्या आएको बताए ।

त्यसैगरी उनले तरलताको प्रभाव, कमजोर धितो राखी ऋण प्रवाह गर्ने, बिना धितो ठूला ऋण प्रवाह गर्ने जस्ता कारणले समस्या भोगिरहेको बताए ।

ऋण लगानीको असुलीमा ध्यान नदिँदा, कर छली गरी गैरकानुनी रूपमा सीमित व्यक्तिले बोनस लिँदा, साधारण सभामा गणपूरक संख्यासमेत नपुगी यथार्थ निर्णय नहुँदा पनि समस्या परिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीमा उपलब्धिसँगै समस्या फैलिरहेकाले समाधानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले देशभर ३२ हजार ९६५ वटा सहकारीमा १ करोड ९ लाख सदस्य आवद्ध भएको जानकारी दिँदै त्यसमा ११ खर्ब २५ अर्ब रुपैयाँ बचत भएको बताए। सहकारीहरूमा ९० हजार २६५ जनाले रोजगारी पाएको उल्लेख गर्दै पछिल्लो समय समस्या पैदा हुँदै गएको उनले बताए ।

अध्यक्ष शर्माले २०२२ सालदेखि नै सहकारीमा समस्या देखिँदै आए पनि समाधान नहुँदा त्यसले झनै ठूलो रूप लिँदै गएको बताए । उनले २०२४ देखि २०८१ सम्म करिब दुई दर्जन विभिन्न समिति, कार्यदल र आयोगहरू गठन भए पनि तिनका सुझाव कार्यान्वयन नभएको गुनासो गरे ।

२०५८ सालमा सहकारी विभागबाट प्रकाशित विवरण अनुसार २१ वटा बचत तथा ऋण सहकारीले १५ करोडभन्दा बढी रकम हिनामिना गरेको विवरण सार्वजनिक भएर छानबिन भए पनि उचित समाधान नै नभएका कारण समस्या झन झाङ्गिँदै गएको छ, उनले भने ।

सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक डा.शेषनारायण पौडेलले प्राधिकरणको संस्थागत विकास, वर्तमान अवस्था र भावी रणनीतिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारी वक्ता तथा पत्रकार भरत कोइरालाले सहजीकरण गरेका थिए। छलफलमा स्थानीय तहमा सहकारीको समस्या स्थानीय तहमै मिलाउने विषय उठान भएका थिए ।

यसको जवाफ दिने क्रममा पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले प्राधिकरणले काम थाल्छ भने सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा कोअपरेटिभ म्यानेजर्स, क्लब कास्कीका अध्यक्ष मोहन अधिकारीले स्वागत गर्दै विषयवस्तुका बारेमा जानकारी गराए ।

कार्यक्रम क्लब उपाध्यक्ष विष्णुप्रसाद अधिकारीले गरेका थिए । उक्त अवसरमा क्लबका मानार्थ सदस्य एवं भीम गुरुङले आफूले गरेको सर्वेक्षणका आधारमा जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा क्लब पूर्व अध्यक्ष अपिल कोइराला, सहकारी पीडित किरण श्रेष्ठ लगायतले समसामयिक विषयमा प्रश्न गरेको जानकारी कोपरेटिभ म्यानेजर्स क्लबका सस्थापक अध्यक्ष मीलन ढकालले दिएका थिए ।



Leave a comment