हाइलाइट

अजम्बरी साकोसमा नयाँ सञ्चालक समिति चयन

अजम्बरी साकोसमा नयाँ सञ्चालक समिति चयन :: Sahakari Akhabar

काठमाडौं । बौद्ध टुसालमा रहेको अजम्बरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ ।

सभाले नुर्बु लामाको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा मिङमा शेर्पाको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको हो।

सभाले उपाध्यक्षमा दावा थाक्चे शेर्पा, सचिव ग्याल्जेन शेर्पा, कोषाध्यक्ष आङपासाङ शेर्पा तथा सदस्यहरुमा भक्त सुन्दर साहु, नुर्वु शेर्पा र विजय कुमार पण्डित सर्वसम्मत चयन भएका छन् । त्यसैगरी लेखा समिति सदस्यहरुमा बुद्धबहादुर लामा र मिठु माया तामाङ चयन भएका हुन् ।

संस्थाका अध्यक्ष नोर्बु लामाको सभापतित्वमा साधारणसभामा सञ्चालक समितिको तर्फबाट सचिव ग्याल्जेन शेर्पाले आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सचिव शेर्पाले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखि सुरक्षित ऋण लगानीमार्फत सदस्यहरुको सामाजिक आर्थिक समृद्धिका लागि काम गर्ने बताए ।

उनले संस्थाको १ करोड ९० लाख बढी शेयर पुँजी, ३४ करोड बढी निक्षेप साढे र २३ करोड ११ लाख बढी ऋण लगानी रहेको सभामा जानकारी दिएका छन् । संस्थाको वित्तीय लगानी १ करोड २३ लाख बढी रहेको जनाइएको छ ।

संस्थामा १ हजार ५७२ जना सेयर सदस्य रहेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा ३५ करोड ४० लाख ५२ हजार बढी कुल सम्पत्ति रहेको संस्थाले २०८३ को असार मसान्तमा यो सम्पति वृद्धि गरी ४३ करोड ५७ लाख बढी पुर्याउने लक्ष्य लिएको छ ।

यस्तै, सभाले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै संस्थाको आन्तरिक कार्यविधि संशोधन, गैर वित्तीय सम्पत्ति बिक्री लगायतका प्रस्तावहरु पारित गरेको थियो ।

साधारणसभामा प्रस्तुत विभिन्न प्रस्ताव माथि सदस्यहरुले राखेको जिज्ञासा संस्थाका प्रमुख कार्यकारी अधिकृत गान्वा सुनुवारले सम्बोधन गरेका थिए । सभाले विभिन्न विधामा सदस्यहरु र कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

संस्थाले मुख्य कार्यालय बौद्ध तथा सेवा केन्द्र कार्यालय अत्तरखेल अन्तर्गतका उत्कृष्ट सदस्य र उत्कृष्ट ज्येष्ठ सदस्यहरुलाई २० कित्ता शेयर पुरस्कार र प्रशांसपत्रले सम्मान गरेको थियो भने दुबै कार्यालयका उत्कृष्ट बाल बचतकर्ताहरुलाई दुई हजार बचत थप र सम्मान पत्र प्रदान गरेको थियो ।

यसैगरी, १५ वर्ष सेवा अवधि पूरा गर्ने संस्थाकी बरिष्ठ अधिकृत सरस्वती तामाङलाई नगद १५ हजार र प्रशंसापत्रसहित सम्मान गरेको छ।



Leave a comment