काठमाडौं । धनगढीका सहकारी मिलेर जेनजी आन्दोलन बाट क्षती पुगेको मालपोत कार्यालयलाई सहयोग गरेका छन् । त्यहाँका केही सहकारी संस्थाहरूले कार्यालयलाई ३ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएका हुन् ।
भदौ ३१ गते मंगलबार मालपोत कार्यालय परिसरमा आयोजित कार्यक्रममा नव जीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले मालपोत कार्यालयका प्रमुख प्रेम दौल्याललाई रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मालपोतका पदाधिकारीहरू, सहकारी संस्थाका अध्यक्ष तथा सदस्यहरूका साथै कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सहकारी प्रतिनिधिहरूले राज्यका सेवाहरूलाई थप प्रभावकारी, पारदर्शी, र प्राविधिक बनाउन निजी तथा सहकारी क्षेत्रबाट सक्दो सहयोग गरिनुपर्ने बताए । उनीहरूले यस्तो आर्थिक सहयोग मालपोत कार्यालयको सेवा सुधार, पूर्वाधार विकास र विद्युतीय सञ्जाल सुदृढीकरणमा खर्च हुनुपर्ने पनि बताए ।
२४ गतेको आन्दोलनले मालपोेत कार्यालयको विद्युत वायरिङ, कम्प्युटर, कुर्सी, टेबल लगायत कागजात र अभिलेखहरु जलेर नष्ट भएका थिए । मालपोत कार्यालयका प्रमुख दौल्यालले सहकारीको सहयोगप्रति आभार प्रकट गर्दै जनताको प्रत्यक्ष सरोकार राख्ने र राज्यको सार्वजनिक जग्गा र जनताको अचल सम्पत्तिको सुरक्षा गर्ने कार्यालयका महत्वपूर्ण कागजात नष्ट भएपछि कार्यालय छिटो सञ्चालनमा ल्याउन चालेको पहल प्रति आभार ब्यक्त गरे ।
त्यस क्षेत्रका सहकारी संस्थाहरूको साझा पहलमा कार्यक्रमको समन्वय गरिएको थियो । यसैबीच, सहकारीहरुबाट प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मालपोत कार्यालयले सहयोग रकमको पारदर्शी व्यवस्थापन र सदुपयोग सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
Leave a comment