काठमाडौं । सेतिओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सात जना सञ्चालक समिति र तीनजना लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।
संस्थाको अध्यक्षमा टेकबहादुर लिम्बु, उपाध्यक्षमा पम्फा न्यौपाने र सदस्यहरुमा तामलाल भुसाल, श्रीचन्द्र तण्डुकार, खुशमाया श्रेष्ठ, भगीमाया थाम्सुहाङ र देउप्रसाद लिम्बुलाई चयन गरेको छ । सभाले त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा ओमकृष्ण श्रेष्ठ र सदस्यहरुमा रोशन खड्का तथा सोनी अधिकारी चयन गरेको छ ।
सभामा संस्थाकी अध्यक्ष पम्फा न्यौपानेले आव ०८१ / ०८२मा अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन । उनले केही सहकारी संस्था सहकारीको मर्म विपरित सञ्चालन भएका कारण यो क्षेत्रले चुनौतीपूर्ण र तरलता अभावको सामना गर्नुपरेको बताइन् ।
उनले सहकारी क्षेत्रमा आएको विषम परिस्थितिमा पनि संस्थाप्रति सदस्यहरुको दरिलो साथ र व्यवस्थापन समुहको अथक मेहनतले वित्तीय रुपमा संस्था बलियो भएर गएको बताइन् । संस्थाले सदस्य सेवालाई पहिलो प्राथमिकता राखेर अगाडि बढेको उनले उल्लेख गरिन् ।
संस्थाले सदस्यहरुलाई लक्षित गरी वित्तीय साक्षरता, लिडरशीप बुथ क्याम्प र बार्षिक योजना तथा बजेट निमार्ण तालिम आयोजना गरिएको अध्यक्ष न्यौपानेले सभामा उल्लेख गरिन् । संस्थाले सदस्य हित कार्यक्रम मार्फत् घातक रोग लागेमा उपचार खर्च, महिला सदस्य सुत्केरी हुँदा पौष्टिक आहार र सदस्यको मृत्यु भएमा श्रद्धाञ्जली व्यक्त गर्दै काज किरिया खर्च उपलब्ध गराउँदै आएको जनाइन् ।
यस आर्थिक बर्षमा संस्थाले डिजिटल सेवा प्रयोग गर्ने सदस्यहरुको सख्या बढाउन कक्षा सञ्चालन गर्ने, सदस्य शिक्षा, वित्तीय साक्षरतालाई निरन्तरता दिने, स्थानीय संघ संस्थाको सहकार्यमा सामुदायिक कार्य गर्ने र शेयर पुँजी वृद्धि गर्न सदस्यहरुलाई न्युनतम ५ हजारको शेयर खरिद गर्न प्रोत्साहन गर्ने नीति लिएको जनाइन् ।
लेखा समिति संयोजक प्रकाश रेग्मीले समितिले दिएको सुझावहरु सञ्चालक समितिले क्रमश पालना गर्दै लगेको बताए । आर्थिक बर्ष २०८१ / ८२ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी २ करोड ८७ लाख,६० हजार, बचत संकलन ३४ करोड ३ लाख ३३ हजार, ऋण लगानी २५ करोड ४ लाख ४९ हजार गरी ५३ लाख ८७ हजार मुनाफा आर्जन गरेको जनाए ।
सभाले गत बर्षको मुनाफाबाट सदस्यलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । संस्थामा १ हजार ५७० सदस्य रहेका छन् भने कुल सम्पत्ति ४१ करोड ९२ लाख ४८ हजार पुगेको छ । संस्था जगेडा कोषमा २ करोड ४० लाख रकम रहेको छ । संस्थाले संरक्षित पुँजी फिर्ता कोषबाट समेत सदस्यहरुलाई बचत र ऋणको कारोबारको आधारमा फिर्ता दिने भएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस आवमा कुल सम्पत्तिमा २६ प्रतिशतले, बचत र ऋणमा २२ प्रतिशतले, जगेडा कोषमा १२ प्रतिशत र शेयरमा १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको बताए । उनले यस आवमा ४९ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको सभामा जानकारी दिए ।
उनले संस्थाले नियमित बचत गर्ने सदस्यलाई कार्ड वितरण गर्ने र त्यसैको आधारमा सेवा सुविधा दिने भन्दै आग्रह गरे । सभामा उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी पूर्व महाप्रवन्धक चित्रा कुमारी सुब्बा थाम्सुहाङले सदस्यले भत्ता बुझ्नको लागि मात्र नभई संस्थाको नीति, कार्यक्रम तथा बजेट माथि छलफल गरी पारित गर्न साधारण सभामा जानुपर्ने बताएकी छिन् ।
उनले साधारण सभा सदस्यहरुको भएकाले सभा अवधिभर सक्रिय सहभागी जनाएर आफ्ना राय सुझाव दिन आग्रह गरिन् । उनले संविधानले नै अर्थतन्त्रको तीन मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको भन्दै मुलुकको दुरदराजमा समेत सहकारी विस्तार भई अािर्थक सामाजिक रुपान्तरणको काम हुँदै आएको बताइन् ।
Leave a comment