हाइलाइट

ललितपुर जिल्ला बचत संघ ३३ वर्षमा

ललितपुर जिल्ला बचत संघ ३३ वर्षमा :: Sahakari Akhabar

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ३२औं स्थापना दिवस शुभकामना आदान प्रदान गरी सम्पन्न भएको छ । आज शुक्रबार संघको सभाहल ललितपुरमा शुभकामना आदान प्रदान कार्यक्रम गरी सम्पन्न भएको हो ।

कार्यक्रममा संघका अध्यक्ष रामहरी बजगाई, संस्थापक अध्यक्ष रोहिणी जोशी, निवर्तमान अध्यक्ष रामशरण घिमिरे, संघका सल्लाहकार, पूर्व पदाधिकारी, सञ्चालक एवं वर्तमान सञ्चालक, लेखा समितिका पदाधिकारी लगायत कर्मचारीहरुको सहभागितामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संघका अध्यक्ष बजगाइले सहकारी अभियानमा जिल्ला बचत संघहरु पुरानो र इतिहाँस बोकेका भएपनि सहकारीमा धेरै लेयरका कारण जिल्ला संघका आवाज कमैमात्र सुनिने गरेको बताए । अभियानमा एकता नभएका कारण नीति निर्माण सहकारी मैत्री नभएको भन्दै उनले जिल्ला बचत संघले बाराम्बार प्रारम्भिक संस्थाका समस्या र गुनासाको सम्बोधन हुनेगरी कानुन निर्माण गर्न लविङ गरेपनि त्यसको सुनुवाई नहुने गरेको बताए ।

उनले माथिल्लो तहमा नेतृत्वमा सहकारी संचालनको अनुभव नभएकाले बचत सहकारीका बास्तविक समस्या पहिचान गर्न नसकेको उनको भनाइ छ । उनले ललितपुरमा धेरै सहकारी समस्यामा रहेको भन्दै बागमती प्रदेश सहकारी मन्त्रालयको सम्पर्क कार्यालय ललितपुरमा राख्नुपर्ने लविङ गरेपनि त्यो हुन नसकेको गुनाँसो गरे ।

सहकारी अभियानमा एकता र हार्दिकताको कमी रहेको भन्दै अध्यक्ष बजगाइले प्राधिकरणले जारी गर्ने गरेका निर्देशनहरु पनि बचत अभियानलाई बाहिर राखेर, बचत अभियानको योगदानलाई विर्सिएर जारी भएको बताए । संघका संस्थापक अध्यक्ष रोहिणी जोशीले संघ स्थापनामा धेरै बाधा अड्चन भएपनि त्यसलाई चिरेर समाजमा बचतको महत्व बुझाएर ३२ वर्ष अघि संघ स्थापना गरेको बताइन् ।

उनले अहिले मुलुकमा मर्म अनुसार सहकारी संचालन हुन नसकेको बताइन् । सहकारीले तल्लो तहका मानिसको अर्थिक र सामाजिक उत्थान गर्नुपर्ने भएपनि ब्यक्तिगत लाभ र सिमित ब्यक्तिले फाइदा लिएर विदेश भाग्नेसम्मका काम भएको बताइन् । उनले सहकारीको पैसा लिएर विदेश भाग्नेका परिवार मार्फत दवाव दिएर स्वदेश फर्काउनु पर्ने बताइन् ।

संघका निवर्तमान अध्यक्ष रामशरण घिमिरेले सहकारीमा समस्या गहिरो भएकोले समस्या समाधानका लागि एकता र लविङ कमजोर भएको बताए । उनले जिल्ला बचत संघहरुमा एकवद्धताको खाँचो रहेको र समस्या समाधानका लागि ललितपुर जिल्ला बचत संघले नेतृत्व लिनुपर्ने बताए ।

उनले बचत अभियान मास्ने कोशिष भएको र यसको बचाउमा प्रदेश, केन्द्र र महासंघको भूमिका कमजोर रहेकोले देशकै पहिलो र पुरानो संघ भएकोले ललितपुर बचत संघले सरकार संगको लविङमा अगाडी बढड्नुपर्ने बताए ।

संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत तथा सचिव श्याम महर्जनले कार्यक्रम संचालन गरेका थिए भने संघ ब्यवस्थापक संतोष बजगाइले संघको अवस्थाका बारेमा प्रस्तुत गरेका थिए । २०५० साल असोज ३ गते स्थापना भएको संघमा असार मसान्तसम्म ४८२ संस्था सदस्य रहेको ब्यवस्थापक बजगाईले जानकारी गराए ।

उनले संघमा ७ करोड २० लाख ७८ हजार ८ सय सेयर पूँजी, १ अर्ब ४३ करोड निक्षेप र ९९ करोड ८२ लाख ८१ हजार ऋण लगानीमा रहेको जनाए । पछिल्लो समय संघले वित्तिय कारोबारलाई खुम्च्याउँदै लगेको र तालिम शिक्षा जस्ता कामलाई महत्व दिएको जानकारी दिए । संघले पछिल्लो समय निस्कृय संस्थाहरुको सदस्यता खारेज गर्ने नीति लिएको पनि उनले जनाए ।



Leave a comment