काठमाडौं । पनौती सुन्थान काभ्रेमा रहेको श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष इन्द्रप्रसाद हुमागाईको सभापतित्वमा सम्पन्न सभामा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्माको प्रमुख आथित्यता रहेको थियो ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिनाले संस्थाको वर्तमान अवस्था र प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले संस्था २४ वर्ष अघि २५ जना युवाहरूको सामूहिक प्रयासबाट सुरु भएको र आजसम्म अन्य १० वटा सहकारी संस्थाहरूलाई एकीकरण गरीसकेको जानकारी दिए ।
संस्थाको काभ्रेपलाञ्चोक जिल्लाका ६ नगरपालिका र २ गाउँपालिकामा कार्यक्षेत्र विस्तार गरेको जनाए । संस्थाको गत असार मसान्तसम्म १ अर्ब १४ करोड ७३ लाख २१ हजार कुल पुँजी, १० करोड ७१ लाख २९ हजार शेयर पुँजी, ९० करोड ९९ लाख २४ हजार बचत संकलन तथा ९० करोड ९८ लाख ८५ हजार ऋण लगानी रहेको उनले जानकारी गराए ।
संस्थाले ७७ लाख ९१ हजार राजस्वमा योगदान गरेको सभामा जानकारी दिइयो । १० हजार १६८ जम्मा सदस्य रहेको संस्थाले आफ्नै भवनबाट प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको सदस्यहरूलाई निःशुल्क एसएमएस र मोबाइल बैंकिङ सुविधा उपलब्ध गराएको जनाइएको छ ।
संस्थाले आर्थिक कारोबारका अतिरिक्त सदस्यको जन्मदेखि मृत्यु पर्यन्तु विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै आएको जनाइएको छ । सदस्य शिक्षा, सुत्केरीलाई एम्बुलेन्स खर्च, स्वास्थ्य उपचार सहयोग, ज्येष्ठ सदस्य पोषण खर्च, रक्तदान, वृक्षारोपण तथा स्थानीय विकास निर्माणमा समेत सक्रिय सहभागिता जनाउँदै आएको सभामा जानकारी गराइएको छ ।
सभाले आव २०८१ / ८२ को सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ । साथै, आव २०८२ / ८३ को वार्षिक कार्य योजना तथा बजेट पारित गरेको छ । कार्यक्रममा नेपाल बार एसोसिएसन काभ्रे शाखाका पूर्व अध्यक्ष एवं कानुनी सल्लाहकार रमेशप्रसाद हुमागाई, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटालगायत उपस्थिति रहेको थियो । संस्थाका सचिव अंकुरप्रसाद सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।
Leave a comment