काठमाडौं । प्रहरी कार्यालय पुनस्र्थापनामा कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले सहयोग गरेको छ । क्लबले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको जिल्ला प्रहरी कार्यालय कास्कीको पुनस्र्थापनामा सहयोग गरेको हो
कार्यालयबाट ठूलो संख्यामा कैदी भागेकाले चोरी तथा लुटपाटको जोखिम बढेपछि पुनस्र्थापना अभियान संचालन गरिएको कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष मोहनप्रसाद अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीले यस कदमले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन र सेवाप्रवाहमा थप सहजता ल्याउने बताए । उनले ‘समाजको सुरक्षाका लागि अग्रपंक्तिमा खटिने प्रहरीप्रति सहयोग गर्नु हाम्रो सामाजिक उत्तरदायित्व हो ।
कास्कीस्थित सहकारी संस्थाहरुलाई आवश्यक सामग्री र पुनर्सरंचनामा साथ दिन सम्पूर्ण सहकारी संस्थाहरुलाई अपिल गर्दछु,’ अध्यक्ष अधिकारीले भने ।
क्लबले जिल्ला प्रहरी कार्यालयलाई १ कम्प्युटर सेट, ६ मोनिटर, १ थ्रि–इन वान प्रिन्टर, २ टेबल, ३ कुर्सी, १ थ्रि–सिटर कुर्सी र २ बक्स बेन्चलगायतका सामग्री सहयोग गरेको छ ।
उक्त सामग्री सोमबार क्लबका अध्यक्ष अधिकारीले प्रहरी सहायक हबल्दार माधवप्रसाद खनाललाई हस्तान्तरण गरे । ती सामग्री क्लबले सुरुआति चरणमा आफ्नोसमेतको योगदान र समन्वयमा पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था, सुरक्षा पालुवा बचत तथा ऋण सहकारी, लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी, पिपल्स बचत तथा ऋण सहकारी र घामपानी बचत तथा ऋण सहकारी संस्थाबाट सहयोग संकलन गरेको जनाइएको छ ।
यस्तै, उन्नति बचत तथा ऋण सहकारी संस्थाले क्षतिग्रस्त भवनका केही झ्यालढोका पुनःनिर्माण कार्य गर्ने प्रतिबद्धता जनाएको छ । सोही अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष दीपक बास्तोला, कास्की बचत तथा ऋण संघका अध्यक्ष शेरबहादुर कार्की, पोखरा रोयल सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङको सहभागिता रहेको थियो ।
त्यसैगरी कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका संस्थापक अध्यक्ष मिलन ढकाल, निवर्तमान अध्यक्ष अपिल कोइराला, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख रुक्मत श्रेष्ठलगायत सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायत सिएमसी, कास्कीका कार्यसमितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
Leave a comment