काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण र रुपन्देही तथा नवलपरासी जिल्लाका सहकारीकर्मी बिच अन्तरक्रिया भएको छ । भदौ २९ गते दुइ जिल्लाका सहकारीकर्मीले प्राधिकरणका अध्यक्ष डा.खगराज शर्मासँग अन्तरक्रिया गरेका हुन् ।
रुपन्देहीको सामूहिक विकास साकोसको समन्वयमा आयोजना भएको कार्यक्रममा जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरूका बारेमा अन्तरक्रिया भएको थियो । कार्यक्रममा सहकारी क्षेत्रमा असल अभ्यास गरिरहेका संस्थाहरूको सहभागिता रहेको थियो ।
सामूहिक विकास साकोसको कार्यालयमा सम्पन्न कार्यक्रममा १५ वटा सहकारी संस्थाका ३४ जना प्रतिनिधि सहभागी थिए । संस्थाका अध्यक्ष सुरेन्द्रकुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिव मीनप्रसाद पोख्रेलले सञ्चालन गरेका थिए।
कार्यक्रममा सहभागीहरूले प्राधिकरण गठन भएपछि जारी गरिएका मापदण्ड र निर्देशनहरूका बारेमा आफ्ना जिज्ञासा र सुझावहरू राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा प्राधिकरणका अध्यक्ष डा.शर्माले सहभागीहरूका जिज्ञासाहरूलाई सम्बोधन गर्दै मापदण्डहरूको औचित्यबारे स्पष्ट पारेका थिए ।
उनले यस किसिमको अन्तरक्रियाले सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतीहरूलाई समाधान गर्न मद्दत पुग्ने र सहकारी संस्थाहरूलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताए ।
Leave a comment