हाइलाइट

सबैको साकोसको साताब्यापी बिस्तारित मञ्च कार्यक्रम सम्पन्न 

सबैको साकोसको साताब्यापी बिस्तारित मञ्च कार्यक्रम सम्पन्न  :: Sahakari Akhabar

काठमाडौं । रुपन्देहीको मणिग्राममा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाले विस्तारित कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले यो साता ९ वटा विस्तारित मञ्च (सदस्यसंग अन्तर्कृया) कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाका सदस्यहरुलाई संस्थाको वित्तीय, नीतिगत तथा गत आवको आय ब्यय एवं चालु आवको प्रस्तावित बजेटको बारेमा जानकारी दिन तथा सदस्यहरुबाट सुझाव लिइ साधारण सभामा प्रस्तुत गर्न ९ वटै सेवा केन्द्रको अलग अलग विस्तारित मञ्च सम्पन्न गरेको हो ।

विस्तारित मञ्चमा ११ वटा संस्थाको एकीकरण देखि हाल सम्मको वित्तीय तथा संस्थागत विकास, हालको वित्तिय तथा आर्थिक अवस्था, संस्थागत मूल्य र मान्यता एवं अभ्यासहरु, प्रस्तावित नीतिगत संशोधनहरु, प्रस्तावित बजेट र कार्यक्रम एवं आसन्न साधारण सभा र निर्वाचनका बारेमा संस्थाको तर्फबाट विषयवस्तु प्रस्तुत गरि सदस्यहरुसंग सघन अन्तर्कृया गरि राय सुझाव संकलन गरेको छ ।

साधारण सभाको कार्यक्रममा सदस्यहरु घनिभूत छलफलमा सहभागि नहुने र औपचारिकतामा सिमित हुने भएकाले संस्थाको बारेमा सदस्यहरुलाई सम्पूर्ण जानकारी दिनका लागि सेवाकेन्द्र स्तरमा विस्तारित मञ्च आयोजना गरिएको जनाइएको छ।

संस्थाका सेवाकेन्द्र अनुसार अलगअलग विस्तारित मञ्चको कार्यक्रममा सदस्यहरुको सहभागिता पनि उल्लेख्य हुने र सदस्यहरुले पनि आफ्ना जिज्ञासा तथा प्रश्नहरु सहज रुपमा राख्ने एवं सुझाव र सल्लाह पनि खुलस्त राख्न सक्ने हुँदा सबैको साकोसले हरेक बर्ष विस्तारित मञ्चको आयोजना गर्ने गरेको जनाइएको छ ।

भाद्र १६ गते देखि २२ गतेसम्म ९ वटै सेवा केन्द्रमा आयोजना गरिएको विस्तारित मञ्चमा ३ हजार सदस्यको सहभागिता रहेको थियो । कार्यक्रममा ११२ जना सदस्यहरुले जिज्ञासा तथा सुझाव राखेका थिए ।

विस्तारित मञ्च कार्यक्रममा संस्थाका अध्यक्ष भरत भूसाल, सल्लाहकार कृष्णप्रसाद अर्याल र सचिव देवानन्द पाण्डेयले विषयवस्तु प्रस्तुती र सदस्यहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

सेवा केन्द्र स्तरको कार्यक्रममा प्रोस्कुन लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद नेपालले लुम्बिनी प्रदेशमा सबैको साकोस सुशासन र पारदर्शितामा अब्बल रहेका कारण प्रदेश सरकारले गरेको कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत भएको बताएका थिए ।



Leave a comment