काठमाडौं । सहकारी विभागले जारी गरेको एकीकृत निर्देशन २०८२ का विषयमा भक्तपुरमा अन्तरक्रिया कार्यक्रम भएको छ । भदौ १९ गते भक्तपर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको उक्त कार्यक्रम भक्तपर साकोस च्याम्हासिंहको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले संघमा आवद्ध सदस्य संस्थाहरुलाई निर्देशनको बारेमा जानकारी गराउने र एकीकृत धारणा बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।
अध्यक्ष लाखाजुले संघले एक सदस्य एक सहकारीको विषय वकालत गर्दैै आइरहेको भन्दै सहकारी दोहोरो सदस्यताले नभई संस्थाका संचालकहरु बदमास भएर नै बिग्रेको बताए ।
सहकारी संघ संस्थाका संचालक नै दुई कार्यकाल भनेर निर्देशन आएकोमा संघहरुको लविंग पश्चात अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका संयोजकको हकमा दुई कार्यकाल बस्न पाईने प्रावधान आएको बताए ।
संघमा रहेको सहकारी संस्थाको बचत मौज्दातलाई तरलता गणना नगरिएको विषयमा पनि संघले लविंग गर्दै आएको बताए । तेस्रो पक्षको धितो नलिनु भन्ने विषयमा म्याद थप्नुपर्ने भन्दै कार्यक्षेत्र भित्र व्यवसाय गरेकोले मात्र ऋण लिनपाइने विषयका साथै संघ संस्थाको तरलता १५ प्रतिशत नपुगेमा लाभांश वितरण गर्न नपाइने अन्यथा संचालक र व्यवस्थापकले दामासाहीले तिर्नुपर्ने प्रावधान रहेको बताए।
नेपालको संविधानमै सहकारी संघ संस्थालाई संघीयले मात्र नियमन गर्ने भन्ने व्यवस्था रहेको र सोही व्यवस्था अनुसार संघीयले मात्र नियमन गर्नुपर्ने बताए ।
कार्यक्रममा संघका उपाध्यक्ष हरिकृष्ण बल्लले स्वागत गर्दै निर्देशनले सहकारी संस्थालाई सही दिशामा डोहोर्याउने र सहकारी संस्थालाई मर्यादित बनाई सुशासन प्रवद्र्धन टेवा पुर्याउने भएकोले जारी निर्देशनप्रति सकारात्मक हुनुपर्ने बताए ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले सहकारी विभागले जारी गरिएको एकीकृत निर्देशन, २०८२ विषयको प्रस्तुती गरेका थिए ।
उनले नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेश लगायत नियामकीय निकायबाट जारी निर्देशनहरु दोहोरिने र एक आपसमा बाझिने समस्या भएकोले एकद्वार प्रणालीबाट मात्र निर्देशन जारी गरी कार्यान्वयनमा सम्बन्धित सम्पूर्ण नियमनकारी निकायले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा संघमा आवद्ध सदस्य संस्थाहरुबाट र संघका पदाधिकारी एवम् कर्मचारीहरु समेत गरी १०७ जनाको सहभागीता रहेको थियो ।
Leave a comment