विराटनगर । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाले बिवरण नबुझाउने ४८७ वटा निष्क्रिय सहकारीको सूची सार्वजनिक गरेको छ । आफ्नो नियमन क्षेत्राधिकार भित्र पर्ने २ वर्षसम्म बिवरण नबुझाउने ४८७ वटा सहकारी संघ संस्थाहरूको सूचि सार्वजनिक गरेको हो ।
रजिष्ट्रार कार्यालयले आइतबार कार्यालयको वेवसाइटमा सूचना प्रकाशन गर्दै यस्तो सूची सार्वजनिक गरेको हो । सूचनामा सूचि सार्वजनिक भएको मितिले ३५ दिनभित्र प्रदेश सहकारी ऐन, २०७६ बमोजिमको बिवरणहरू नियामक निकायमा बुझाउन भनेको छ ।
सार्वजनिक गरिएको सूचनामा सोलुखुम्बु–१२, ओखलढुङ्गा–२१, खोटाङ– १७, उदयपुर–२६, संखुवासभा– १३, भोजपुर– १७, धनकुटा–१७, तेह्रथुम–२६, मोरङ–६७, सुनसरी–६२, ताप्लेजुङ–१०, पाँचथर–२१, इलाम ४७ र झापाका १३१ सहकारी संस्था रहेका छन् ।
तथ्याङ्कलाई अध्यावधिक गर्न तथा निष्क्रिय सहकारीहरूको दर्ता खारेजी गर्ने प्रयोजनको लागि प्रदेश सहकारी ऐन, २०७६ तथा सहकारी संघ÷संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड २०७८ अनुसार सूची सार्वजनिक गरिएको प्रदेश सहकारी रजिष्ट्रार भुपेन्द्र खनालले जानकारी दिए । उनले कतिपय संस्था सञ्चालन नरहेकोले यसको सुद्धिकरण गर्ने अभियान नै सञ्चालन गर्ने तयारी रहेको बताए ।
सूचीमा परेकाहरूको सम्पत्ति र दायित्व नरहेको पाइएमा प्रक्रिया पुर्याइ खारेजी प्रक्रिया अगाडि बढाउने कार्यालयका अनुगमन तथा लेखा परीक्षण शाखाका शाखा अधिकृत नगेन्द्र पराजुलीले बताए । कार्यालयको तथ्याङ्क अनुसार आफ्नो नियमन क्षेत्राधिकारभित्र १ हजार ७५ सहकारी रहेका छन् । जसमध्ये ४८७ वटा सहकारी संस्थाहरू निष्क्रियको सूचीमा परेका हुन् ।
Leave a comment