हाइलाइट

स्व.गणेशप्रसाद बस्नेत स्मृति सहकारी अभियन्ता पुरस्कार उपाध्यक्ष बस्नेतलाइ

स्व.गणेशप्रसाद बस्नेत स्मृति सहकारी अभियन्ता पुरस्कार उपाध्यक्ष बस्नेतलाइ :: Sahakari Akhabar

काठमाडौं । झापामा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले यो वर्षको स्व.गणेशप्रसाद बस्नेत स्मृती सहकारी अभियन्ता पुरस्कार, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेतलाई प्रदान गरेको छ । भदौ १२ गते संस्थाको २९ औ वार्षिकोत्सव तथा ३१औ साधारणसभाको माइन्युट प्रमाणिकरण सभामा उक्त पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षता तथा प्रदेशका भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यता सम्मान गरिएको थियो । संस्थाले उपाध्यक्ष बस्नेतलाई ३४ हजार ६६६ रुपैंयाँ सहित सम्मान गरेको छ । संस्थाले संस्थाका पूर्व अध्यक्ष स्व.बस्नेतको नाममा हरेक वर्ष पुरस्कार प्रदान गर्दैआएको छ।

यसैगरी संस्थाले यसै अवसरमा स्व.गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कार स्वादिन सम्वाद साप्ताहिकका सम्पादक माधव बिद्रोही र मेची पत्रकारिता पुरस्कार पूर्वज्योति साप्ताहिक उर्लाबारीका सम्पादक प्रकाशक जगन्नाथ भट्टराई तथा मेची सहकारी सञ्चार गृह पुरस्कार बिर्तामोडको रेडियो भिजनलाई प्रदान गरेको छ ।

यसैगरी संस्थाले गत चैत्रमा आयोजना गरेको अन्तर सेवा कार्यालयस्तरीय फुटसल प्रतियोगिताको पुरस्कार समेत बितरण गरेको छ । प्रतियोगितामा कनकाइ र शिवसताक्षी सेवा कार्यालयका संयुक्त टिम प्रथमलाई १० हजार, मिक्लाजुङ सेवा कार्यालय द्वितीयलाई ५ हजार त्यसैगरी धेरै गोल गर्ने कनकाइ सेवा कार्यालयका कर्मचारी विशाल टुडु र उत्कृष्ट मिडफिल्डर आदित्य थापालाई एक एक हजार नगद प्रदान गरेको थियो ।

यसै अवसरमा संस्थाको विभिन्न विभागमा कार्यरत कर्मचारीलाई समेत सम्मान तथा पुरस्कृत गरिएको थियो । बार्षिकोत्सवको अवसरमा संस्थाले रक्तदान कार्यक्रम समेत गरेको थियो । संस्थाले सेवाकेन्द्र स्तरिय एकाइगत बार्षिक साधारण सभा गरी माइन्यूट प्रमाणिकरण सभाका साथै निर्वाचन समेत सम्पन्न गरेको छ । सभाले ९ जनाको संचालक समिति सर्वसम्मत चयन गरेको थियो ।

संस्थाले प्रकाशन गरेको जेठ मसान्तसम्म ३९ करोड ५५ लाख ७२ हजार सेयर पूँजी, २१ करोड ६५ लाख ३५ हजार जगेडा कोष तथा ७ करोड २ लाख ७ हजार अन्य कोषमा रहेको जनाएको छ । त्यसैगरी ३ अर्ब ७१ करोड ६१ लाख ३२ हजार बचत तथा ३ अर्ब ५५ करोड ५६ लाख ६७ हजार ऋण लगानीमा रहेको जनाइएको छ ।

१७ हजार ६५६ कूल सदस्य रहेको संस्थामा ४ हजार १७८ जना ऋणी सदस्य रहेका छन् । संस्थाको १३ वटा सेवाकेन्द्र र ११२ जना कर्मचारी रहेको संस्थामा ४ अर्ब ४६ करोड ९१ लाख ४४ हजार कुल सम्पति रहेको जनाइएको छ ।



Leave a comment