हाइलाइट

सबैको साकोसमा सम्भावित संचालक उम्मेदवारहरुलाई २ दिने तालिम

सबैको साकोसमा सम्भावित संचालक उम्मेदवारहरुलाई २ दिने तालिम :: Sahakari Akhabar

काठमाडौं । रुपन्देहीमा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाका सम्भावित संचालकका उम्मेदवार सदस्यहरुलाई २ दिने तालिम प्रदान गरेको छ । निर्वाचन सहितको साधारण सभा हुने बर्ष संस्थाका इच्छुक सदस्यहरुलाई यस्तो तालिम दिने संस्थाको नीतिगत ब्यवस्था अनुसार तालिम आयोजना गरिएको हो ।

भाद्र ७ गते तालिम समापनको अवसरमा प्रमुख अतिथि प्रदेश सहकारी विकास बोर्ड लुम्बिनीका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले सबैको साकोस रुपन्देहीले निर्वाचन भन्दा अगाडि सञ्चालक हुन चाहने सदस्यहरुलाई सहकारी ऐन, नियम संस्थाका कार्यविधीका बारेमा बिस्तृत जानकारी दिएर सुचित र सचेत सदस्यहरुलाई सञ्चालक बनाउने प्रकृया शुरु गरेर राम्रो कामको थालनी गरेकोमा संस्थाको प्रशंसा गरे ।

उपाध्यक्ष पोख्रेलले संस्था सञ्चालनमा बिधीको परिपालना, इमान्दार र कृयाशिल सञ्चालक आवश्यक पर्ने भएकाले यस्ता तालिमहरुले संस्थाको दीगो विकासमा सहयोग गर्ने र सञ्चालक नहुने सदस्यले पनि सञ्चालकको योग्यता, काम र कर्तब्यका बारेमा बुझ्ने अवसर प्राप्त हुने र संस्था सञ्चालनको विधी समेत धेरै सदस्यले जानकारी प्राप्त गर्ने अवसर प्राप्त हुने बताए ।

संस्थाका सल्लाहकार प्रा.डा.रामचन्द्र आचार्यले संस्थालाई अझै बढि ब्यवस्थित बनाउन र सदस्यहरुलाई स्तरीय सेवा प्रदान गर्न यस खालका तालिमहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सल्लाहकार कृष्णप्रसाद अर्यालले यो तालिम सञ्चालक हुन चाहनेहरुलाई छेकवार लगाउन नभएर सञ्चालक हुन चाहनेहरुलाई हाम्रो संस्थामा कस्ता सञ्चालकहरु आवश्यक रहेछ र म त्यो जिम्मेवारी पुरा गर्न सक्छु वा सक्दिन भन्ने पनि जानकारी प्राप्त हुने बताए ।

लेखा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद न्यौपानेले वित्तिय कारोवार आफैमा जोखिम पूर्ण विषय भएको भन्दै, परिवर्तित सामाजिक परिवेशमा सहकारी सञ्चालक र लेखा सुपरिवेक्षण समितिबाट अपेक्षित जिम्मेवारीका बारेमा तालिम फलदायि भएको बताए ।

सहभागि प्रशिक्षार्थिहरुको तर्फवाट रामप्रसाद खरेलले संस्था सञ्चालनका लागि उपयुक्त पात्र पदमा नजानु वा पदमा जानेले आफ्नो कर्तब्य नबुझ्ने गर्दा संस्था विग्रन पुग्ने बताए । सहभागि चन्द्रकला घिमिरेले तालिमले संस्था सञ्चालनका विषयवस्तु र जिम्मेवारीका बारेमा सहभागि सबैलाई स्पष्ट भएको बताइन् ।

साधारण सभामा निर्वाचित हुने सञ्चालकहरुले गर्नु पर्ने कार्य, संस्थाको वित्तिय जिम्मेवारी, परिवर्तित सन्दर्भमा नियामकीय निकायहरुका निर्देशन र त्यसको अनुपालना, आइ पर्ने जोखिमहरु सहकारीका विविध विषयमा तालिम दिइएको थियो ।

तालिमको पहिलो दिन किसान बचत तथा ऋण सहकारी संस्था गैडाकोट नवलपूरका प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनाले संस्थामा “फिट एण्ड प्रोपर टेष्ट”को अवधारणा, प्रचलित सहकारी ऐन नियमहरुमा उल्लेख भएको सञ्चालकहरुको योग्यताका बारेमा प्रशिक्षण दिए ।

त्यसैगरी संस्थाका अध्यक्ष भरतराज भूसालले संस्थाको विकासक्रम, संस्थाले पालना गर्नुपर्ने ऐन कानूनहरु, नियामक निकायहरु र निर्देशन, संस्थाका आन्तरिक कार्यविधीहरुका बारेमा सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।

वित्तिय सहकारी संस्थाहरुमा सञ्चालकहरुले कुन कुन विषयमा जिम्मा लिनु पर्ने, कुन कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । ९२ जनाको सहभागिता रहेको तालिम कार्यक्रम संस्थाका सचिव देवानन्द पाण्डेयले संचालन गरेका थिए ।



Leave a comment